डुटेर्टे आईसीसीबाट अलगिने योजनामा



मनिला, (एजेन्सी)
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले बुधबार आफ्नो राष्ट्रलाई अन्तर्राष्ट्रिय आपराधिक अदालतले (आईसीसी)बाट अलगिने योजना रहेको बताएका छन्। उनले राष्ट्रको लागूऔषध विरुद्धको युद्ध हेरेपछि यो योजना बनाएको जानकारी दिएका छन्।

डुटेर्टेले भनेका छन्– ‘आईसीसीलाई फिलिपिन्सविरुद्ध राजनीतिक हतियारका रूपमा प्रयोग भइरहेको छ। साथै संयुक्त राष्ट्र संघले पनि अनावश्यक र आधारहीन आक्रमणहरू गरिरहेको छ।’

फेब्रअरीमा आईसीसीले फिलिपिन्समा भएको लागूऔषध दुव्र्यसनी र ओसार पसारकर्ताविरुद्धको अभियानको दौरान भएका अपराधहरूको छानविन शुरू गरेको थियो। आईसीसीका प्रमुख न्यायाधीश फातोउ बेन्सोउडाले अदालतले गैरन्यायिक हत्याको प्रतिवेदन अनुसन्धान भइरहेको बताएका छन्।

डुटेर्टेले तत्कालै फिलिपिन्सले आईसीसीको सदस्यता त्याग्ने बताएका छन्। तर आईसीसीले भने यसरी आईसीसी छोड्नका लागि कानुनी प्रक्रिया नै एक वर्ष लाग्ने जनाएको छ।

फिलिपिनी सरकारले जारी गरेको एक विज्ञप्तिमा आईसीसी अनुसन्धान प्रचलित नियम कानुनको उल्लंघन भएको उल्लेख गरिएको छ।

डुटेर्टेले संयुक्त राष्ट्र संघले आफू र आफ्नो राष्ट्रविरुद्ध पूर्वाग्रही ढंगले अप्रत्याशित आक्रोसपूर्ण आक्रमण गरिरहेको गुनासो पनि गरेका छन्। डुटेर्टेको लागूऔषधविरुद्धको सो अभियानमा हजारौं व्यक्तिले ज्यान गुमाइसकेका छन्। अधिकांश फिलिपिनी जनता स्वयंले पनि उनको यो अभियानको विरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्