२३ रुसी कूटनीतिज्ञ निष्कासित



लन्डन, (एजेन्सी)
बेलायतले स्यालिस्वरीमा एकजना पूर्व रुसी गुप्तचरमाथि कसरी रसियामा निर्मित नर्भ एजेन्ट प्रयोग भयो भन्ने बारेमा मस्कोले केही पनि बोल्न अस्वीकार गरेकाले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने प्रधानमन्त्री टेरिजा मेले बुधबार जनाएकी छिन्।

टेरिजा मेले एक साताभित्र देश छोड्न अनुरोध गरिएका ती कूटनीतिज्ञहरू अघोषित गुप्तचर अधिकारी रहेको पनि खुलासा गरेकी छिन्। रसियाले पूर्व गुप्तचर सर्गेइ स्क्रिपाल र उनकी पुत्री युलियाको हत्या प्रयासमा आफ्नो कुनै पनि संलग्नता नरहेको अडान लिएको छ।

रसियाले अघिल्लो मध्यरातसम्ममा यस सम्बन्धमा चित्त बुझ्दो जवाफ दिन रसियालाई मेले गरेको अनुरोध मान्न अस्वीकार गरेको थियो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बर्खास्त गरिएका अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनले हिजो रसियाको समस्याग्रस्त व्यवहार र कार्यका लागि चेतावनी दिएका छन्।

टिल्लर्सनले ट्रम्पलाई धन्यवाद दिन वा उनका नीतिहरूको प्रशंसा गर्न सकेका छैनन्। गतवर्ष पदभार ग्रहण गरेयता एक्सोन मोविलका पूर्वकार्यकारी टिल्लर्सनको ह्वाइट हाउससँग थुप्रैपटक खटपट हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्