नर्भ एजेन्ट आक्रमण मामिलामा रुसविरुद्ध प्रधानमन्त्री मेको चेतावनी



लन्डन, (एजेन्सी)
‘पूर्व रुसी जासुस सर्गेइ स्क्रिपल र उनकी छोरी युलियालाई विष दिनका लागि रुस निर्मित नर्भ एजेन्टको प्रयोग किन गरियो। रुसले यस विषयमा जवाफ दिनु पर्छ’, बेलायतकी प्रधानमन्त्री टेरिजा मेले सर्गेइमाथि घातक विषादी आक्रमण मामिलामा रुसप्रति कडा प्रतिक्रिया दिएकी छिन्।

प्रधानमन्त्री मेले मंगलबारसम्म कुनै विश्वसनीय प्रतिक्रिया प्राप्त नभएमा बेलायतले यसलाई ‘रुसद्वारा भएको शक्तिको गैरकानुनी प्रयोग’का रूपमा लिने बताइन्।

उनले सांसदहरूलाई आक्रमणमा प्रयोग भएको नर्भ एजेन्ट सैन्यस्तरको भएको र रुसद्वारा निर्मित भएको जानकारी दिएका थिए। सेलिस्बरीमा भएको आक्रमणमा रुस जिम्मेवार हुन सक्ने धेरै सम्भावना रहेको निष्कर्षमा सरकार पुगेको प्रधानमन्त्रीले बताइन्। बेलायती विदेश मन्त्रालयले रुसी राजदूतसँग यस विषयमा सफाइ मागेको छ।

प्रधानमन्त्री मेले आक्रमणमा प्रयोग भएको नर्भ एजेन्ट नोभिचोकको नामले चिनिने पनि जानकारी दिइन्। मेले भनिन्– ‘कि त यो रुसी राष्ट्रद्वारा हाम्रो देशमा सीधा आक्रमण हो, वा रुसी सरकारले नर्भ एजेन्टमा नियन्त्रण गुमाइसकेको हुनुपर्छ वा उसले नै अरूको हातमा पर्न दिन अनुमति दिएको हुनुपर्छ।’
उनले विदेश मन्त्री बोरिस जोनसनले रुसका राजदूतलाई नोविचोक कार्यक्रमको पूर्ण जानकारी रासायनिक शस्त्र निषेध संगठनलाई दिनका लागि भनेको बताएकी छिन्। बेलायत सबै प्रकारका उपायका लगि तयार रहनुपर्ने पनि बताइन्।

६६ वर्षीय अवकाशप्राप्त सैन्य खुफिया अधिकारी स्क्रिपल र उनकी ३३ वर्षीया छोरी सेलिस्बरी सिटीस्थित एउटा बेन्चमा बेहोस अवस्थामा फेला परेका थिए। अहिले पनि उनीहरूको स्थिति गम्भीर नै रहेको बताएको छ।
के हो नोविचोक ?

रुसी भाषमा नोविचोकको अर्थ ‘नव आगन्तुक’ भन्ने हुन्छ। यो सन् १९७० देखि १९८० को बीचमा सोभियत संघले गोप्य रूपमा विकसित गरेका नर्भ एजेन्ट समूहमा पर्नेमध्येको एक हो।

यसमा प्रयोग हुने रासायन ए–२३० हो जुन भीएक्स नर्भ एजेन्टभन्दा ५ गुणा विषाक्त हुने गर्छ। यसले कुनै पनि व्यक्तिलाई केही मिनेटमै मार्न सक्छ।

यो रसायनलाई धेरै प्रकारबाट बनाउने गरिन्छ र त्यसमध्ये एकलाई रुसी सेनाले रासायनिक हतियारका रूपमा अनुमति दिएको छ। यसमा केही नर्भ एजेन्ट तरल पदार्थका रूपमा हुने गर्छ। केहीले यो ठोस अवस्थामा पनि हुने गरेको बताएका छन्।

बेलायती प्रधानमन्त्रीको उक्त आरोपपछि रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले मेको बयान बेलायती संसद्मा एक सर्कसको कार्यक्रम जस्तो मात्र भएको बताए। उनले यसलाई उक्साउने खालको राजनीतिक अभियान भएको बताए।

त्यसैगरी रुसी विदेश मन्त्रालयले मेको बयानलाई एक प्रकारको परीकथा भएको बताए। तर युरोपेली संघ र अमेरिकाले बेलायतको पक्ष लिएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आक्रमणको निन्दा गरेका छन्। युरोपेली संघका उपप्रमुख फ्रान्स टिमरमेन्सले यस मामिलामा बेलायतसँग पूर्णरूपमा ऐक्यबद्धता देखाएको छ।

प्रतिक्रिया दिनुहोस्