चीनलाई वायुप्रदूषण घटाउन अभूतपूर्व सफलता राजधानीमा ३५ प्रतिशतले घट्यो



बेइजिङ, (एजेन्सी)
चिनियाँ शहरमध्ये केही यस ग्रहको सबैभन्दा खराब वायु प्रदूषित शहरमा पर्छन्, यो गोप्य छैन। चिनियाँ महानगरका धेरैजसो नागरिक घरबाट बाहिरिनुपर्दा मास्क लगाउन बाध्य छन्। चिनियाँहरूको औसत आयुलाई नै यसले नकारात्मक असर पारेको छ। यो संकटले चिनियाँ सरकारलाई सन् २०१४ मा ‘प्रदूषणविरुद्ध युद्ध’ छेड्न उत्प्ररित गर्यो। हालैको आँकडाले चीनले यसमा जित हासिल गर्ने लक्षण देखाएको छ।

विगत ४ वर्षमा चीनका प्रमुख शहरहरूमा प्रदूषणको मात्रा औसत ३२ प्रतिशतले घटेको छ। केही शहरमा यो अझ बढी दरले घटेको देखिएको इनर्जी पोलिसी इन्स्टिच्युटका प्रोफेसर माइकल ग्रिनस्टोनले बताएका छन्। नयाँ कोइला प्लान्ट निर्माणमाथि रोकलगायत चिनियाँ सरकारले थुप्रै आक्रामक नीति लागू गरेपछि यो गिरावट आएको हो। सरकारले कोइला प्लान्ट निषेधलगायत विद्यमान प्लान्टलाई पनि उत्सर्जन घटाउन बाध्य पारिएको, अटोमोबाइल ट्राफिकको संख्यामा कमी ल्याउने र केही स्टिल कारखाना तथा कोइला खानी बन्द गर्ने जस्ता सशक्त कदम चालेका थिए। जुन वायु प्रदूषणका लागि प्रारम्भिक कारक मानिन्छ।

बेइजिङजस्ता केही सहरले वायु प्रदूषण घटाउनमा ठूलो सफलता हासिल गरेको देखिन्छ। बेइजिङमा वायु प्रदूषण ३५ प्रतिशतले घटेको देखिन्छ। त्यसैगरी सिजियाझुआङमा ३९ प्रतिशतले झरेको छ। चीनले यी शहरमा प्रदूषण घटाउने योजनालाई प्रमुख प्राथमिकतामा राखेको छ। बेइजिङमा मात्र सरकारले यसका लागि १ खर्ब २० अर्ब डलर खर्च गरेको छ।
न्युयोर्क टाइम्समा प्रशासित एक विश्लेषणमा यदि चीनले यसलाई कायम राख्न सकेमा चीनमा नागरिकको औसत आयु २ दशमलव ४ वर्षले बढ्न सक्ने उल्लेख गरेको छ। ती शहरमा वायुमण्डलीय कणलाई औसतभन्दा घटाउन सकेमा औसत आयु ५ वर्षले बढ्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्