अमेरिकी विदेशमन्त्री टिल्लर्सन बर्खास्त, सीआईए निर्देशक पोम्पियो नयाँ विदेशमन्त्री



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्री रेक्स टिल्लर्सनलाई बर्खास्त गरी उनको स्थानमा केन्द्रीय अनुसन्धान निकाय (सीआईए)का निर्देशक माइक पोम्पियोलाई नियुक्त गरेका छन्। ट्विटरमार्फत टिल्लर्सनलाई उनको सेवाका लागि धन्यवाद दिँदै ट्रम्पले नयाँ विदेशमन्त्रीले गजबको काम गर्ने उल्लेख गरेका छन्।

एक्सोन मोबलका पूर्वकार्यकारिणी प्रमुख टिल्लर्सनलाई एक वर्षअघि मात्र विदेश मन्त्री बनाइएको थियो। यसैगरी राष्ट्रपति ट्रम्पले गिना हास्पेललाई सीआईएको पहिलो महिला निर्देशकको रूपमा नियुक्त गरेका छन्।

अमेरिकी विदेश विभागले टिल्लर्सनले राष्ट्रपतिसँग कुरा नगरेको र उनलाई आफूलाई बर्खास्त गर्नुको कारण थाहा नभएको जनाएको छ। सहायक विदेशमन्त्री स्टेभ गोल्डस्टेनले भनेका छन्– ‘राष्ट्रिय सुरक्षामा गम्भीर प्रगतिको कारण विदेशमन्त्रीको पदमा बसिरहने तीव्र चहाना थियो।’

राष्ट्रपति भवन ह्वाइट हाउसबाहिर मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्– ‘टिल्लर्सनसँग मेरो निजी विचार नमिलेर मतभेद भएको हो। हामी निकै मिल्ने भए पनि केही कुरामा हाम्रो आपसी असहमति थियो। इरानसँगको मामिला मलाई निको लागेको थिएन। तर उनले त्यो ठीकै लागेको ठाने। त्यसैले हाम्रो सोचाइ समान भएन। इरानमाथि म कडा कदम उठाउन चाहन्थें, तर उनको सोच अलि भिन्नै हुनपुग्यो।’ गत अक्टोबरमा टिल्लर्सनले आफूले कहिल्यै पनि पद त्याग्न नचाहेको र ट्रम्पलाई सुस्तमनस्थितिको व्यक्ति नभनेको बताएका छन्।

टिल्लर्सनमाथि पटक पटक ह्वाइट हाउसको विदेश नीति तोडेको आरोप लाग्ने गरेको थियो। साथै पुराना विवादहरू टाल्दै आएका उनले आफू कमसेकम यस वर्षको उत्तरार्धसम्म पदमा रहिरहने सोचेका थिए। गत साता मात्र ट्विटरमार्फत ट्रम्पले आफ्नो केही कर्मचारी हेरफेर गर्न चाहेको संकेत दिएका थिए।

त्यतिबेला नै उनले माइक पोम्पियोलाई टिल्लर्सनको विकल्पका रूपमा छनोट गरिसकेको अहिले स्पष्ट भएको छ। गत साता अफ्रिकाको औपचारिक भ्रमणमा रहेको बेला ट्रम्पले एक्कासि आफूले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग वार्ता गर्ने घोषणा गरेको सुनेर टिल्लर्सन आश्चर्यमा परेका थिए।
अमेरिकी प्रमुख कूटनीतिक टोलीले शनिबार अलि अस्वस्थ महसुस गरेका टिल्लर्सनलाई विदेश विभागले भ्रमण एकदिन छोटइएर स्वदेश फर्कन अनुरोध गरेको जनाएको छ। मंगलबार बिहान हुनुअघि वासिङ्टन पुग्दा उनी बर्खास्त भइसकेका थिए। दक्षिणी इंग्ल्यान्डमा एकजना पूर्व रुसी गुप्तचर र उनकी पुत्रीमाथि भएको नर्भ एजेन्ट आक्रमणमा रुसकै हात भएको भन्ने बेलायत सरकारको आरोपको उनले समर्थन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्