नेपालको हवाई क्षेत्रमा प्रश्नचिह्न



ज्ञानमणि नेपाल कालोटोपी

बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान सोमबार अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भयो। सो विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्री सवार थिए। ती मध्ये २२ जनालाई घटनास्थलबाट जीवित नै उद्धार गरिएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तर सो विमानमा सवार ४९ जनाको भने घटनास्थलमै दुःखद निधन भएको छ। मानवीय क्षतिको हिसाबले यो निकै नै ठूलो दुर्घटना हो। विमान दुर्घटनाको मुख्य कारण र क्षतिको यकिन विवरण आउन बाँकी नै छ। नेपाली आकाशमा यस्ता घटना बारम्बर हुने गरेका छन्। यसै वर्षको जेठ महिनामा पनि नेपाली आकाशमा दुईवटा विमान दुर्घटना भएका थिए। गत जेठ १३ गते लुक्लामा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा चालक पारशकुमार राईको ज्यान गयो भने १७ गते बाजुरामा सेनाको जहाज खस्दा पाइलट कौशल गुरुङ्सहित २ जनाको निधन भयो। ०७३ सालको साउन महिनामा पनि एउटै महिनामा तीनवटासम्म विमान दुर्घटना भएका थिए।

यसरी पटक–पटक नेपाली आकाशमा विमान दुर्घटना दोहोरिने शृङ्खलाले नेपालको हवाई क्षेत्रप्रति नै प्रश्न उठ्न थालेको छ। के साँच्चै नेपाली आकाश असुरक्षित नै छ त ? भन्ने प्रश्न यति बेला चुनौतीका रुपमा उभिएको छ। गत सोमबार भएको पछिल्लो दुर्घटनासहित नेपालमा ८८ वटा विमान दुर्घटना भएका छन्। यद्यपि मानवीय क्षति भएको हिसाबले हेर्ने हो भने यसलाई ४७ औं दुर्घटना हो भनन सकिन्छ। नेपालमा हवाईयात्राको शुरूवात वि.सं. २००६ देखि अहिलेसम्म ८ सय ४४ जनाले यसकै कारण ज्यान गुमाएका छन्। यो पक्कै पनि दुःख लाग्दो अवस्था हो। नेपालको भौगोलिक अवस्थाका कारण धेरैजसो हवाई दुर्घटनाहरू हुने गरेका भए पनि पछिल्ला दिनहरूमा यसको कारण खराब मौसम, विमान चरासँग ठोक्किनु र प्राविधिक कारणलगायतबाट एकपछि अर्को दुर्घटनाहरू थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ।

नेपालमा पहिलो विमान दुर्घटना वि.सं. २०१२ मा भएको थियो। कालिंगा एयरको यो दुर्घटनामा २ जनाको निधन भएको थियो। त्यस्तै वि.सं. २०१३ जेठ १३ मा अर्को दुर्घटना भयो। इन्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको दुःखद निधन भएको थियो। त्यसपछि साना–ठूला दुर्घटनाहरू थपिँदै गए। सडक दुर्घटनाजस्तो विमान दुर्घटनामा यात्रीहरूलाई घाइते अवस्थामा उद्धार गरिएका उदाहरणहरू ज्यादै कम मात्रामा आउने भए पनि केही मात्रामा घाइते भएका घट्नाहरू पनि नभएका होइनन्। हुन त कुनै पनि दुर्घटना राम्रो होइन। तर पनि विमान दुर्घटना आफैंमा एउटा कहाली लाग्दो अवस्था त हो नै, त्यसमा पनि पछिल्लो पाँच वर्षयता बर्सेनि झन्डै दुईवटाको दरमा भएका विमान दुर्घटनालाई फर्केर हेर्दा नेपालमा हवाई यात्रा साँच्चिकै जोखिमयुक्त रहेकै हो कि भन्ने अनुमान गर्न थालिएको छ। यसतर्फ सरकार संवेदनशील बन्नु जरुरी छ।

नेपालको विमान दुर्घटनाको इतिहास केलाउने हो भने, सबैभन्दा ठूलो र बढी मानवीय क्षति भएको दुर्घटना आजभन्दा २५ वर्षअगाडि वि.सं. २०४९ असोज महिनाको १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ। पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिकसहित विमानमा सवार सबै १ सय ६७ जना यात्रीको दुःखद निधन भएको थियो। संयोग नै हो, पछिल्लो पटक भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि २०६९ असोज १२ गते नै दुर्घटना भयो। यस अर्थमा त्यो दिनलाई विमान दुर्घटनाको इतिहासमै कालोदिनका रुपमा लिन सकिन्छ। वि.सं. २०४८ मा रसुवा जिल्लाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा १ सय १३ जनाको मृत्यु भएको थियो। यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानवीय क्षति हुन पुगेको दुर्घटनाको रुपमा रहेको छ।

विगत ९ वर्षयता नेपाली आकाशमा भएका विमान दुर्घटनाहरूलाई सर्सती हेर्ने हो भने २०६५ असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना भयो। यसमा १८ जना यात्रीको मृत्यु भएको थियो। त्यसै गरी २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुरस्थित तोरीबारीमा अग्नि एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीहरूको निधन भयो। २०६७ कै मंसिर २९ गते ओखलढुंगामा तारा एयरको विमान दुर्घटना भयो। यसमा २२ जना यात्रीले ज्यान गुमाउनुपर्यो। यस्तै विमान दुर्घटनाको शृङ्खला २०६८ असोज ८ गते पनि दोहोरियो। बुद्ध एयरको सेवा शुरूको १४ वर्षको इतिहासमा यो उसको पहिलो विमान दुर्घटना थियो। ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो।
त्यस्तै ०६८ सालकै कार्तिक १ गते नेपालगन्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो। २०६९ जेठ १ गते अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो। १५ जनाले यसमा ज्यान गुमाए। ०६९ असोज १२ गते सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यकाभित्रै मनोहरा खोला किनारमा भएको र यसमा १९ जनाको निधन भएको उपत्यकावासी र सम्पूर्ण नेपालीहरूको लागि अविष्मरणीय घटना हुन पुगेको छ। यसपछि पनि पटक–पटक विमान दुर्घटनाको शृङ्खला दोहोरिइरहे। यस्तै २०७० फागुन ४ मा भएको नेपाल वायुसेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा अर्को ठूलै चुनौती थपिदियो। अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए। २०७२ फागुन १२ गते पनि विमान दुर्घटना भयो। तारा एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडेको थियो। म्याग्दीमा दुर्घटना भएको यस विमानमा २३ जना यात्रीहरूको निधन भएको थियो। यी केही मुख्य दुर्घटनाहरू भए, सानातिना दुर्घटनाहरू त कति भए कति, लेखाजोखा छैन।

यो कहाली लाग्दो शृङ्खलाका पछाडि कहिले विमानमा प्राविधिक समस्या त कहिले चरासँग विमान ठोकिनु अनि खराब मौसम नै मुख्य कारण रहेको खुल्न आएको छ। यसरी विश्वमा सबैभन्दा छिटो र सुरक्षित मानिएको हवाई यात्रा नेपालमा भने दिनदिनै असुरक्षित बन्दै जानु पक्कै पनि राम्रो कुरा होइन। यसले एकातिर हाम्रो आर्थिक र मानवीय क्षतिलाई बढाइरहेको छ भने अर्कातिर विश्वमा नेपालको असुरक्षित हवाई यात्राको गलत सन्देश प्रवाह भइरहेको छ। यसरी बढ्दै गइरहेको हवाई दुर्घटनालाई न्यूनीकरण गर्न सरकार र नागरिक उड्ययन प्राधिकरणले कुनै पहल गरेकै देखिँदैन। यसमा उनीहरूको व्यवस्थापनकै कमजोरी मुख्य दोषी पाइएको छ। दुर्घटना भइसकेपछि घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गर्ने र घटना सेलाउँदै गएपछि समितिले दिएको प्रतिवेदनलाई दराजमा थन्क्याएर राख्ने सरकारी कार्यले पनि विमान दुर्घटना बढाएको छ। अघिल्लो दुर्घटना भएको प्रतिवेदनपछि त्यसतर्फ सतर्कता अपनाउने र आगामी दिनहरूमा दुर्घटना रोक्न सक्ने रणनीति तय गर्ने हो भने पनि धेरै हदसम्म यस्ता विनाशकारी दुर्घटनाहरू रोक्न सकिने विज्ञहरू बताउँछन्।

हुन त अन्तराष्ट्रिय निकायबाट नेपालको एकमात्र ठूलो र बाह्य देशसँगको सम्पर्क बढाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उपत्यकावरिपरि भएका जंगल र त्यहाँ रहेका विभिन्न ३० प्रजातिका चराहरूका कारण असुरक्षित भएको निष्कर्ष निकालिसकिएको छ। त्यसमा पनि राजधानीमा दिनहुँ थुप्रिने गरेको फोहोरका कारण चील, बाज, गिद्ध, हुचिललगायतका चराहरू बढ्दै गएको र यिनीहरूकै कारण दुर्घटना हुने गरेको पनि प्रस्ट छ। नेपालको भौगोलिक अवस्था र मौसम खराबीजस्ता कारण पनि हवाई यात्राका मुख्य चुनौतीहरू हुन्। पुराना र धेरै वर्ष प्रयोगमा आइसकेका विमानहरूलाई समय–समयमा मर्मत नगरिँदा पनि दुर्घटना बढ्दै गएको तथ्यलाई नकार्न सकिँदैन। दक्ष प्राविधिक र चालकहरूको अभावले पनि यस्तो त्रास बढाएको छ।

यी र यस्तै विषयहरूलाई ध्यानमा राखेर सम्बन्धित निकायले काम गर्दै जाने हो भने आगामी दिनहरूमा पक्कै पनि यस्ता कहाली लाग्दा हवाई दुर्घटनाहरूलाई रोक्न सकिनेछ। यसो गर्न सकियो भने विमान दुर्घटनाकै कारण अर्बौं रुपियाँ बराबरको धनजनको नोक्सानी कम गर्न सकिनेमा दुईमत छैन। यसरी चुनौतीपूर्णरुपमा दुर्घटनाहरू बढ्दै जान थालेपछि अब नागरिक उड्ययन प्राधिकरणले यसको नियन्त्रणका लागि कस्तो भूमिका खेल्ला वा अझै कानमा तेल हालेरै बस्ला ? त्यो भने प्रतीक्षाकै विषय बनेको छ। यसरी पटक–पटक नेपाली आकाशमा विमान दुर्घटनाका शृङ्खला दोहोरिइरहने हो भने अन्तर्राष्ट्रिय क्षेत्रले नेपालको हवाई यात्राप्रति नै प्रश्न नउठाऊला भन्न सकिँदैन। त्यसैले बारम्बार भइरहने विमान दुर्घटना न्यूनीकरण गर्ने सवालमा केपी ओली नेतृत्वको सरकार संवेदनशील बन्नै पर्छ। नेपालमा हवाई यात्रा सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन सक्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्