धूलो र कोट



कतिपय मान्छेका मनझैं सुख्खा भइसकेको काठमाडौंलगायतका ठाउँमा आइतबार परेको पानीले अलि–अलि चिसोपन दियो। मान्छेको रङ उडेझैं।

काठमाडौंमा उडेको धूलोलाई त्यो पानीले विस्थापन गर्न खोजेकै हो। यसैबेला धरहराको दूरबीन देशकै ठूलो महानगर याने महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यतिर सोझियो। संयोग पनि कस्तो? मेयर साप धूलो हेर्न जानु, पानी पनि त्यही दिन पर्नु ⁄ विचारा उहाँले काठमाडौंको धूलै देख्न पाउनुभएनछ।

कतै इन्द्रसँग फुसफुस यन्त्रबाट फुन गरेर त पानी पार्न लगाउनुभएको होइन मेयर सापले भन्ने लख धरहराले नकाटेको होइन। तथापि एकछिन परेको पानी हात्तीलाई जिराजस्तो। काठमाडौंसँग गहिरो माया–सम्बन्ध लाएको धूलो कहाँ यति सजिलै जान्थ्यो र फेरि चम्किएर उड्न थालिहाल्यो। बल्ल पो मेयर सापले धूलो देख्न पाउनुभयो। बल्ल उहाँलाई काठमाडौंवासीले दिनदिनै खान पाएको धूलोको ख्याल भयो।

धूलोले काठमाडौं र काठमाडौंवासीसँग मात्र होइन उहाँको कोटसँग समेत माया–सम्बन्ध गाँसेछ। अनि मेयर्नी सापले मुर्मुरिएर चौपट हुँदै भनेको सुलसुले धरहरालाई प्राप्त भयो– ‘मेरो मान्छेसँग टाँसिने धूलो, पख् अब मेरा बूढाले तँलाई काठमाडौंबाट खेदेरै छाड्नुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्