आर्थिक समृद्धिका लागि प्रदेशहरूबीचमा प्रतिस्पर्धा ः चौधरी



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूबीचमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ। आर्थिक एवम् सामाजिक विकासका लागि मुलुकमा संघीय संरचना कार्यान्वयन गरिएको बताउँदै उहाँले प्रदेश सरकारहरूले यही सोचका साथ काम शुरू गर्न आग्रह गर्नुभयो।

‘भारतमा जब एक अर्का राज्यबीच लगानी आकर्षित गर्ने प्रतिस्पर्धा चल्यो ती राज्यको मात्रै होइन, समग्र भारतकै आर्थिक वृद्धिदर उच्च हुन पुग्यो।’ चौधरीले भन्नुभयो–‘ हाम्रा मुख्यमन्त्रीहरूले पनि आफ्नो प्रदेशलाई लगानीकर्ताहरूका लागि सबैभन्दा आकर्षक गन्तव्य बनाउने प्रतिस्पर्धा गर्नेछन् र यसबाट देशकै अर्थतन्त्रमा नयाँ उत्साह आउने विश्वास मैले लिएको छु।’

सोमबार रौतहटको चन्द्रपुर महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भन्नुभयो–‘हाम्रा राजनीतिक एजेण्डाहरू व्यवस्थापन भएका छन्। अब प्रदेश सरकारहरूले प्रान्तीय संरचना वा कानुनी पक्षहरूका बारेमा अलमल नगरी विकासका एजेन्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ। प्रदेश नम्बर २ आर्थिक एवम् सामाजिक विकासका दृष्टिले अहिले पछाडि रहेको तथ्य प्रस्तुत गर्दै उहाँले यस प्रदेशलाई देशकै सबैभन्दा विकसित प्रदेशमा रूपान्तरण गर्न सकिने पर्याप्त आधार रहेकोमा उहाँले जोड दिनुभयो।

‘नेपालको आर्थिक राजधानीका रूपमा मानिने वीरगन्ज यही छ। काठमाडौं–तराई फास्ट ट्रयाक, वीरगन्ज–सिमरा औद्योगिक करिडोर र निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारहरू यहि रहेका छन्। ’ अध्यक्ष चौधरीले भन्नुभयो–‘व्यापार÷वाणिज्य, औद्योगिक क्षेत्र, कृषि र पर्यटनमार्फत् यस नेपालको सबैभन्दा सम्पन्न प्रदेश बनाउन सकिन्छ। तर, हिजोका दिनमा जस्तै व्यवस्थापकीय कमजोरीहरू भने अब दोहोर्याउनु हुदैन।’

‘रामजानकी मन्दिरदेखि अयोध्यासम्म ६ लेनको सडक विस्तार गरी जनकपुरलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने प्रचुर सम्भावना छ।’ उहाँले भन्नुभयो–‘तर विकासमाथि राजनीति गर्ने विगतका गल्तीहरूबाट भने पाठ सिक्न जरूरी छ।’

प्रदेश नम्बर २ लाई व्यावसायिक कृषि उत्पादन गरी निर्यात गर्ने प्रमुख क्षेत्र बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो। ‘प्रदेश नम्बर २ को कृषि उपज प्रत्येक नेपालीको भान्सामा पुर्याउने नीतिका साथ काम गर्नु आवश्यक छ।’ अध्यक्ष चौधरीले भन्नुभयो–‘यहाँको उर्वर भूमिबाट कृषि क्रान्तिको नयाँ अध्याय शुरू गर्न सकिन्छ।’

‘अन्य प्रदेशमा नभएका विकास पूर्वाधार यहाँ रहेका छन्। ब्रोडगेज रेल्वे, वीरगन्जको अत्याधुनिक आईसीपी, ड्राईपोर्ट जस्ता पूर्वाधार अन्य प्रदेशमा छैनन्।’ उहाँले भन्नुभयो–‘यस प्रदेशले आफ्नो सामथ्र्य समयमै चिन्न सकेमा आर्थिक विकासमा अग्रणी बन्न सक्छ।’

‘यो प्रदेशमा अहिले पनि करिब ३० प्रतिशत गरिबी छ। साक्षरताको अवस्था कमजोर छ। र, बेरोजगारी उच्च छ।’ चौधरीले भन्नुभयो–‘पक्कै पनि अहिलेको अवस्था चिन्ताजनक छ। तर, पाँच वर्षमा यी सबै परिसूचकहरू उत्साहजनक हुनेछन् भनेर प्रदेश सरकारले आफ्नो काममार्फत् जनतालाई भरोसा दिलाउन सक्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्