बार्सिलोनाद्वारा मालागा पराजित



लन्डन, (एजेन्सी)
लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगामा मालागालाई २–० ले पराजित गरेको छ। बार्सिलोनाले खेलको १५औं मिनेटमा लुइस स्वारेजको गोलमार्फत खेलमा अग्रता लिएको थियो। त्यस्तै खेलको २८ औं मिनेटमा फिलिप कौटिन्होले बार्सिलोनाको अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरेका थिए। खेलको ३०औं मिनेटमा भने मालागाका सामु गार्सियाले जोर्डि अल्बालाई डरलाग्दो ट्याकल गरेपछि रातो कार्ड पाउँदै मैदान छाडेका थिए। रातो कार्ड पाएपछि घरेलु मैदानमा मालागाले त्यसपछि १० खेलाडीमा रहेर खेलेको थियो। तैपनि बार्सिलोनाले गोल भने थप्न सकेन।

आफ्नो तेस्रो सन्तान जन्मेका कारण लियोनल मेसी उक्त खेलमा अनुपस्थित रहेका थिए। जितपछि २८ खेलबाट ७२ अंक जोडेको बार्सिलोना पहिलो स्थानमा यथावत नै रहेको छ। शनिबारै भएको अर्को खेलमा रियल मेड्रिडले आइबरलाई २–१ ले हराउँदै ३ अंक जोडेका छन्। रियलको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए। खेलको ३४औं मिनेटमा रोनाल्डोको गोलमार्फत पहिलो हाफसम्म रियल १–० ले अघि रहेको थियो।

तर ५०औं मिनेटमा रमिसले गोल गर्दै घरेलु टोली मालागालाई खेलमा फर्काएका थिए। यता रोनाल्डोले खेलको ८४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि रियलको जित सुनिश्चित बन्यो। अन्य खेलमा सेभियालाई २–० ले पराजित गर्दै चौथो स्थानको भ्यालेन्सियाले तेस्रो स्थानको रियल मेड्रिडसँग अंक दुरी एकमा झारेको छ। समान २८ खेलबाट रियलको ५७ तथा भ्यालेन्सियाको ५६ अंक छ। यस्तै लेभान्तेले पनि गेटाफेलाई १–० ले पराजित गर्दै ३ अंक बटुल्यो।

प्रतिक्रिया दिनुहोस्