मुलुकको अबको राजनीतिक दिशा



डा. डीआर उपाध्याय

जनताले स्थिर सरकार र विकास चाहेका छन्। राजनीतिक स्थिरता भयो भने देशको विकास हुन्छ भन्ने सबैको सोचाइ हो र ठूलो आशा पनि छ। राजनीतिक स्थिरता भएका कयौं देशमा आर्थिक विकास भएको छ। वाम गठबन्धनको बहुमतले केपी ओलीको नेतृत्वमा अहिलेसम्मकै शक्तिशाली सरकार बनेको छ। यसले जनताको मतबाट वैधानिकता पाएको छ। यो वाम सरकारले जनताको पक्षमा व्यापक सुधारका काम गरेर देखाउनुपर्छ। यो शक्तिशाली सरकार हो। यसले शक्तिको कसरी उपयोग गरेर अघि बढ्छ, त्यसैमा नेपालको भाग्य र भविष्य निर्धारण हुन्छ।

२०४८ सालमा पनि निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाले यस्तै किसिमको वैधानिकता र शक्ति पाएका थिए। त्यस बेला पनि जनताले ठूलो आश गरेका थिए। तर, जनताको आशाबमोजिम गिरिजाप्रसाद कोइरालाले सरकार चलाउन सकेनन्। सत्तालिप्सा र भ्रष्टाचारले मुलुक कमजोर बन्दै गएको थियो। त्यस बेलाको वैधानिक सरकारले बिनाउपलब्धि समय खेर फालेर बितायो। शासन चलाउन नसकेर मुलुकलाई मध्यावधि निर्वाचनतर्फ धकलेको थियो। वैधानिक र बहुमतको सरकार भए पनि स्पस्ट दृष्टिकोण, मुलुकको भाग्य र भविष्य निर्माण गर्ने मार्गचित्र कोर्न नसकेपछि त्यसको कुनै अर्थ नहँुदो रहेछ। नेपाली कांग्रेसको शासनकालमा जनताले धेरै अपेक्षा गरेका थिए। तर, कांग्रेसले जनताका अपेक्षा पूरा गर्न सकेन। जसले गर्दा कांग्रेस चुनावमा असफल भयो।

दोस्रो जनआन्दोलनपछि पहिलोपटक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा जनताले ठूलै परिवर्तन र आशा गरेका थिए। जनयुद्ध गरेर शान्तिपूर्ण राजनीतिक मूलधारमा आएको पार्टीले देशमा विकास र समृद्धि छिट्टै गर्छ भन्ने आशा सबैले गरेका थिए। तर, उनले पनि सोचेअनुसार काम गर्न सकेनन्। गिरिजाप्रसाद र पुष्पकमलपछि अहिले केपी ओलीले त्यो अवसर र मौका पाएका छन्। यो अवसर र मौकालाई ओली सरकारले कसरी सदुपयोग गर्छ, त्यसमा भर पर्ने कुरा हो। अहिलेको सरकारमा आलीले नेतृत्व गरे पनि छायाँमा पुष्पकमल दाहालले सहयोग र साथ गरिरहेका छन्। त्यस कारण पनि यो सरकार शक्तिशाली छ। यी दुई शीर्ष नेताको मन मिलेसम्म यो सरकार अघि बढ्छ। सरकारको सफलता र असफलता बनाउने काम पुष्पकमल दाहाल र केपी आलीको हातमा छ। यी दुई नेता कसरी अघि बढ्छन्, त्यसमा सबै कुराको निर्धारण हुन्छ। देशमा सुशासन र दिगो विकास गर्नका लागि यी नेता कसरी अघि बढ्छन् ? त्यो आम चासोको विषय बनेको छ।

अहिले नेपालमा भ्रष्टाचार आकाशै छुने गरी मौलाएको छ। महँगी त्यस्तै किसिमले बढेको छ। भ्रष्टाचारकै कारण नेपाली अर्थतन्त्र तहसनहस हँुदै गएको छ। नेपाली जनता भविष्यको चिन्ता गर्दै छन्। स्वदेशी लगानीकर्ता लगानी गर्न उत्साहित छन् तर राज्यले उचित किसिमको लगानी खेर नजाने वातावरण मिलाइदिनुपर्छ। विदेशी लगानीकर्तालाई पनि लगानीका लागि राज्यले आह्वान गर्नुपर्छ। नेपालले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ। देशको विकास र समृद्धिको ढोका खोल्ने काम गर्ने हो भने सबैभन्दा पहिला भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ। भ्रष्टाचारले जरो गाडेको ठाँउमा जतिसुकै राम्रा कुरा गरे पनि विकास सम्भव छैन। विकास र समृद्धिका लागि भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्नुपर्छ। यो कुरामा ओली सरकार कति सचेत छ, त्यसमा भर पर्ने कुरा हो। वाम सरकार सफल हुने वा असफल हुनेमा यी कुराले प्रभाव पार्दछन्।

ओलीले लिएका अडान र व्यक्त विचारले आशा गर्ने ठाउँ भने प्रशस्त छ। तर, ओलीले आफ्ना आसेपासे, नातावाद, कृपावाद र बिचौलियाको चंगुलबाट बाहिर निस्केर काम गर्नुपर्छ। त्यसो भयो भने मात्र ओलीको गन्तव्य पूरा हुन्छ। अहिले देशको अर्थतन्त्र राम्रो छैन। नवनियुक्त अर्थमन्त्रीले सुधार ल्याउँछन् कि भन्ने आश सबैलाई छ। किनभने उनी अर्थशास्त्रका ज्ञाता छन्। त्यसैले उनीबाट विकास र समृद्धिका लागी ठूलो टेवा पुग्नेछ भन्न सकिन्छ। तर, सबै तह र तप्काले देश विकासका लागि अर्जुनदृष्टि लगाएर काम गर्नुपर्ने देखिएको छ। अब चुप लागेर बस्ने समय छैन। किनकि मुलुकको मुहार फेर्ने जिम्मा जनताले ओली सरकारको काँधमाथि राखिदिएका छन्। जनताको भावना र मागलाई ओली सरकारले पूरा गर्दै जानुपर्छ। अनि मात्र ओली सरकारे सफल हुनेछ।

देश–विदेशको परिस्थितिलाई बुझेर सरकार अघि बढनुपर्छ। अहिले नेपालको परराष्ट्र सम्बन्धमा पनि निकै चुनौती आएको देखिन्छ। यतिखेर सबै विदेशी राष्ट्रले ओली सरकारलाई शुभकामना दिइरहेका छन्। यस अवस्थामा विदेशी राष्ट्रसँग कूटनीतिक सम्बन्ध के–कसरी विस्तार गर्दै जाने भन्ने कुरामा ओली सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको छ। अब हाम्रा दुई छिमेकी राष्ट्र भारत र चीनसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरामा सरकार प्रस्ट हुनुपर्छ। अहिले भारत र चीनसितको सम्बन्धलाई सन्तुलितरूपमा राखेर अघि बढ्दा राम्रो हुन्छ। अहिले चीनको तर्फबाट नेपालको लुम्बिनीसम्म रेल ल्याउने कुरा चर्चामा आएको छ। रेल आउने काम सफल भयो भने भारत, नेपाल, चीन सबैलाई फाइदा हुन्छ।

देशको राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि बलियो प्रतिपक्ष पनि चाहिन्छ। त्यस कुरामा कांग्रेस कति अघि बढ्छ भन्ने कुरा महत्त्वपूर्ण हो। सरकारका राम्रा काममा साथ र गलत काममा खबरदारी गर्न सक्छ कि सक्दैन, त्यो हेर्न बाँकी छ। यतिखेर कांग्रेस आफ्नै कारणले कमजोर सावित भएको छ। आन्तरिक गुट–उपगुटले कांग्रेस कमजोर छ। कांगेसले यति बेला सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्ने आवश्यकता छ। किनभने सत्ता पक्षले मनोमानी ढंगले काम गरिरह्यो भने खबरदारी गरिरहन प्रतिपक्षको खाँचो जुनसुकै राष्ट्रको संसदीय अभ्यासमा हुने गर्छ। सशक्त प्रतिपक्ष भएन भने सरकार निरङ्कुश हुन सक्छ। यो जुनसुकै राष्ट्रको संसदीय अभ्यास हो। यतिखेर सरकारलाई ठीक ठाउँमा राख्न पनि प्रतिपक्षको जरुरी छ। तर, कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न सक्दैन कि भन्ने जनगुनासो छ। किनभने कांग्रेस नैतिकरूपमा अत्यन्तै कमजोर छ।

यतिखेर हाम्रो देशका सामु थुप्रै चुनौती छ। ती चुनौतीलाई चिर्दै सरकार अघि बढनुपर्ने आवश्यकता देखिएको छ। यसका लागि सरकारले सबै दलहरूसँग सहयोग, साथ र सहकार्यको नीति लिएर अघि बढनुपर्छ। किनभने निषेधको राजनीति अवलम्बन गरियो भने सरकार चलाउन आफैंलाई घाटा हुनेछ। दिगो र स्थिर सरकार चलाउनका लागि सबैको सहयोग आवश्यकता छ। संकीर्णतावादी सोचले कसैलाई फाइदा हँुदैन। फराकिलो सोच विचार लिएर सरकार अघि बढ्नुपर्छ। वाम गठबन्धनलाई जनताले त्यसै बहुमत दिएका छैनन्। उनिहरूप्रति ठूलो आशा र भरोसा छ। जनताको आशा र भरोसालाई वाम गठबन्धन सरकारले तिलाञ्जली दियो भने अर्को विकल्प रोज्न बाध्य हुनेछन्। चुनावमा बोलेअनुसारका कामहरू क्रमशः पूरा गर्दै यो वाम गठबन्धन सरकार गयो भने लामो समयसम्म सरकार टिकाउनेछ। यति मात्र होइन, अर्को चुनावमा पनि बहुमत ल्याउनेछ। अहिलेको बहुमत भनेको जनताको सुझबुझको मत हो।

त्यसैले ओली सरकारले सुधारका काम धेरै गर्न बाँकी छन्। यो सरकारका लागि यो अग्निपरीक्षा पनि हो। यो परीक्षामा ओली सरकार खरो उत्रनुपर्छ। पुष्पकमल दाहाल र केपी ओली मिल्नु भनेको विकास र समृद्धिको मूल फुटाउनु हो। सबैले यही आश गरेका छन्। बडो इमानदारीका साथ अहिलेसम्म यी दुई नेता अघि बढिरहेका छन्। त्यसैले धेरै आश गर्ने ठाउँ छ।

वाम गठबन्धनलाई नहल्लिने गरी कसिलो बनाइएन भने विगतका सरकारको जस्तो ठडिने र ढल्ने अवस्था नआउला भन्न सकिँदैन। यसमा भने ध्यान पुर्याउनै पर्छ। अहिलेको परिस्थितिमा भने केपी ओली नेतृत्वको यो सरकार दिगो हुने देखिएको छ। त्यसैले यो सरकारलाई मुलुकमा विकास र समृद्धिका रेखा कोरी कार्यान्वयन गर्न कुनै कुराले रोक्ने अवस्था छैन। यतिखेर देशप्रतिको माया र मुलुक बनाउने सपना राजनेतामा हुने हो भने विकास र समृद्धिले छिटो फड्को मार्नेछ। अहिले तीनै तहमा वाम गठबन्धनको वर्चश्व पनि छ। त्यसैले दृढ संकल्प र इच्छाशक्ति बोकेर देश विकासको बाटोमा लम्कनुपर्छ। यो समय र परिस्थितिको माग हो। यो मागलाई पूरा गर्न अग्रज नेताहरू केपी ओली र पुष्पकमल दाहाल दुवै लाग्नै पर्छ।

प्रतिक्रिया दिनुहोस्