नयाँ धारको नियात्रा लेखन



बेलायतमा रहेर पनि नेपाली भाषा–साहित्य क्षेत्रमा निरन्तर मन दिई केही न केही गरिरहने, केही न केही लेखिरहने र स्रष्टाहरूसँग संवाद चलाइरहन मन गर्ने साहित्यकार एवं नियात्राकार हुनुहुन्छ कृष्ण बजगाईं। उहाँका युरेसियाको स्पर्श, भाया साक्रा जस्ता चर्चित नियात्रा संग्रह प्रकाशित भइसकेका छन्। यी नियात्रा संग्रह पाठकले किन मन पराए ? यसै सेरोफेरोमा रहेर वरिष्ठ साहित्यकार मोहन दुवालले नियात्राकार बजगाईंसँग गरेको संवादका महत्वपूर्ण अंशहरूः

पहिलो नियात्रा कृति ‘युरेसियाको स्पर्श’ प्रकाशित भएको एक वर्षमै अर्को नियात्रा कृति ‘भाया साक्रा’ प्रकाशनमा ल्याउनुभयो। के नियात्रा तपाईंको सबैभन्दा प्रिय विधा हो ?

वास्तवमा नियात्रा मेरो प्रिय विधा हो। गतवर्ष साझा प्रकाशनबाट आएको ‘युरेसियाको स्पर्श’ नियात्रा सङ्ग्रहलाई पाठकहरूले खूब मन पराउनुभयो। त्यसको सफलताबाट मलाई ठूलो ऊर्जा मिल्यो। लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातक तहको अनिवार्य नेपालीमा ‘युरेसियाको स्पर्श’को एक नियात्रा अध्यापन गराउन थालेपछि थप उत्साह थपियो। अर्कोतर्फ नयाँ–नयाँ ठाउँमा घुम्न हिँडिरहने मेरो स्वभावका कारण गत एक वर्षमा निकै धेरै स्थानमा यात्रा गरेछु। ती यात्राले मलाई लेख्नलाई घचघच्याइरहे। वास्तवमा यिनै कारणले गर्दा एक वर्षमै अर्को नियात्रा कृति प्रकाशनमा आउन सकेको हो।

‘भाया साक्रा’ भनेको के हो ? ‘भाया साक्रा’मा कस्ता नियात्रा सङ्गृहित छन् ? आफ्नो यो कृतिलाई तपाईं कसरी चिनाउन चाहनुहुन्छ ?

‘भाया साक्रा’को शाब्दिक अर्थ पवित्र मार्ग हो। इटलीको रोममा आजभन्दा करिब २७ सय वर्षअघि त्यहाँका मन्दिरहरूमा जान बनाइएको मार्गलाई भाया साक्रा भनिन्छ। त्यस बेला तीर्थयात्रीहरू हिँड्न बनाइएको पवित्र मार्गमा मैले पनि हिँड्ने सौभाग्य पाएँ। ‘भाया साक्रा’ नियात्रा सङ्ग्रह इटाली, बेल्जियम र बेलायतको यात्राले जन्माएको कृति हो। यसमा ती देशका कला, साहित्य, संस्कृति, इतिहास, दर्शन आदिका रोचक र खोजमूलक जानकारीहरू समावेश भएका छन्। यस नियात्रा सङ्ग्रहका अधिकांश विषयमा पहिलोपटक कलम चलाएर नेपाली साहित्यमा ल्याउने अवसर पाएको छु। यो कृतिमा मैले निकै मेहनत गरेको छु। यस कृतिको अध्ययन गर्न थालेपछि पाठकले मसँगसँगै यात्रा गर्दै नवीनतम जानकारी प्राप्त गर्नुहुनेछ।

साहित्यका अरू विधा एउटा कोठामा बसेर लेख्न सकिन्छ। तर नियात्रा लेख्न लेखकले कोठा छाडेर सम्बन्धित ठाउँको यात्रा गर्नै पर्दछ। त्यस्तो यात्रा दूरीका हिसाबले टाढा, भौगोलिक अवस्थाका हिसाबले कठिन तथा चुनौतीपूर्ण र खर्चका हिसाबले महँगो पर्न सक्छ। अनि नियात्रा लेख्न शिल्प, शैली र प्रस्तुतिका हिसाबले दुरुह पनि हुनसक्छ। यसर्थ नियात्रा लेख्न त्यति सजिलो छैन।

तपाईं नियात्रा लेख्नका लागि यात्रा गर्नुहुन्छ कि कुनै ठाउँको यात्राले तपाईंलाई लेख्न लगाउँछ ?

म यात्राप्रिय व्यक्ति हुँ। तर यात्राको परिधि व्यापक र विस्तृत छ। यो अनुभव र ज्ञानको अजस्र स्रोत हो। नयाँ ठाउँ घुम्नु, नयाँ–नयाँ कुरा थाहा पाउन खोज्नु मेरो पहिलेदेखिको बानीले मलाई यात्रा गर्न उत्पे्ररित गरिरहन्छ। यात्रा गरिसकेपछि धेरैजसो अवस्थामा आफूले देखेभोगका रोचक कुराहरूले म तरंगित हुन्छु। ती अनुभूतिहरूलाई जति सक्दो चाँडो लिपिबद्ध गरिहाल्छु। यसरी नियात्रा तयार हुन्छ। तर यसो भन्दैमा हरेक यात्रामा नियात्रा तयार पार्न सक्दिनँ। नियात्रा तयार हुन त्यस स्थान र विषयले मेरो मन र मस्तिष्कलाई स्पर्श गर्नुपर्दछ। अनि मात्र नियात्रा तयार हुन्छ।

नियात्रा लेखनका क्रममा सबैभन्दा लेख्न मन लाग्ने रुचिकर विषय के हो ?

खास गरीकन विदेशी भूमिका इतिहास, कला, साहित्य र संस्कृतिजस्ता विषय मेरो नियात्रा लेखनका प्रिय विषयहरू हुन्। नेपाली साहित्यका पाठकलाई ती विषयमा नियात्रामार्फत नयाँ कुरा दिऊँ भनेर म विशेष अनुसन्धान गरेर लेख्ने गर्दछु। मेरा नियात्रा पढिसकेपछि पाठकले साहित्यको रसास्वादनसँगै नवीन जानकारी पाउनुहुन्छ। शायद सोही कारणले होला, पाठक तथा केही समीक्षकहरू मेरो नियात्रालाई बौद्धिक नियात्रा भन्ने गर्नुहुन्छ। मेरा नियात्रामा चिल्ला, सफा र चौडा सडक, अग्ला भवन, राम्रा वा अनुशासित मानिसका सपाट वर्णनमा शब्द खर्चेको हुँदैन, न त ढकमक्क फुलेको फूल र बगैंचाको वर्णन, न नदी र समुद्रको तारिफ नै गरेको हुन्छु। शब्दको मायाजालमा पाठकलाई अलमल्याउनुभन्दा पनि ज्ञानको सागरमा पाठकले डुबुल्की लगाऊन् भन्ने हिसाबले लेख्ने प्रयास गर्दछु।

तपाईंलाई नियात्रा लेखनमा के कुराले बढी प्रेरित गर्दछ ?

सम्बन्धित ठाउँको भ्रमण गरेपछि त्यहाँ देखेका, भोगेका कुराहरूले जब मलाई स्पर्श गर्दछन् अनि म नियात्रा लेख्दछु। धेरैजसो अवस्था यता यति राम्रो, आफ्नो मुलुकमा किन त्यस्तो दुर्दशा भनेर रन्थनिन्छु। यिनै कुराले मलाई नियात्रा लेख्न प्रेरित गर्दछन्। नियात्रा लेखनका सजिला र अप्ठ्यारा पक्षहरूका बारेमा प्रकाश पारिदिनुहोस् न त।

साहित्यका कुनै पनि विधामा कलम चलाउनु त्यति सजिलो छैन। नियात्रा लेखन आफैंमा चुनौतीपूर्ण विधा हो। साहित्यका अरू विधा एउटा कोठामा बसेर लेख्न सकिन्छ। तर नियात्रा लेख्न लेखकले कोठा छाडेर सम्बन्धित ठाउँको यात्रा गर्नै पर्दछ। त्यस्तो यात्रा दूरीका हिसाबले टाढा, भौगोलिक अवस्थाका हिसाबले कठिन तथा चुनौतीपूर्ण र खर्चका हिसाबले महँगो पर्न सक्छ। अनि नियात्रा लेख्न शिल्प, शैली र प्रस्तुतिका हिसाबले दुरुह पनि हुनसक्छ। यसर्थ नियात्रा लेख्न त्यति सजिलो छैन।

तपाईंको विचारमा नियात्रा के हो ? यसलाई अलग्गै विधा मान्ने कि नमान्ने भन्ने बारेमा फरक–फरक मत पनि सुनिन्छन् नि ?

लेखकले आफूले यात्राका क्रममा देखेभोगेका विभिन्न दृश्य, प्रसङ्ग, घटना, अनुभव आदिलाई निजात्मकले भरेर सुरुचिपूर्ण शैलीमा वर्णन गरिएको र साहित्यिकताले भरिएको गद्यकृति नै नियात्रा हो। यात्राका कोरा विवरण र टिपोट त यात्रा वृत्तान्त मात्र हुन्। नियात्रा पठनीय विधा हो। मेरो विचारमा नियात्रालाई निबन्धको विधाभित्र खुम्च्याएर राख्नुहुँदैन। नियात्रालाई अलग्गै विधाको रूपमा मान्यता दिनुपर्दछ।

नेपाली नियात्राको वर्तमान अवस्थालाई कसरी हेरिरहनुभएको छ ?

केही समययता नियात्रा लेखनमा देखिएको सक्रियता हेर्दा नियात्रा लोकप्रिय विधा भएको छ। यात्रा गर्ने लेखकको संख्या र नियात्रालाई रुचाउने पाठकको संख्या हेर्दा नेपाली नियात्रा लेखनको अवस्था सुखद छ। तर पारिवारिक भ्रमण, सरकारी तालिम र गोष्ठीमा जानेका कोरा टिपोटहरूलाई नियात्रा सङ्ग्रहका रूपमा प्रकाशनमा ल्याइने गरिएको विडम्बना पनि छ। यस कुरामा सम्बन्धित सबैले गम्भीररूपमा सोच्नुपर्ने बेला आएको छ।

 

प्रतिक्रिया दिनुहोस्