मनोनित तीन सदस्यले लिए शपथ



काठमाडौं, (नेस)
राष्ट्रियसभामा मनोनित गरिएका तीन सदस्य डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौड्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले शुक्रबार शपथ गराए पनि उनीहरूले राष्ट्रपति निर्वाचनमा मतदान भने गर्न पाउने छैनन्।प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ८ गते राष्ट्रियसभामा तीन सदस्य मनोनित गर्नुभएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेको कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रपतिले मनोनित नगरेको भन्दै सर्वोच्चमा रिट परेपछि सर्वोच्चको अन्तरिम आदेशअनुसार डा. खतिवडा, विडारी र पौड्यालको शपथ रोकिएको थियो। हालै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनुनपर्ने भनी आदेश जारी गरेपछि उनीहरूको शपथ लिन बाटो खुलेको थियो।

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले २२ गते नै अन्तिम नामावली प्रकाशित गरिसकेकाले उनीहरूले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन्। शुक्रबार शपथ लिएका तीन सदस्यले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउने गरी बाधा अड्काउ फुकाउसम्बन्धी केही निर्णय गर्न सकिने बारेमा पनि छलफल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्