कर्ममै कृति



कमल ढकाल

भनिन्छ परिवर्तन भन्ने शब्दबाहेक संसारमा सब कुरा परिवर्तन हुन्छ। सकारात्मक परिवर्तनमा सबैे सम्मोहित हुन्छन्। पुरानो भत्किएर नयाँ बन्ने चिज हो परिवर्तन। जिन्दगी परिवर्तनशील छ। बच्चा युवा हुन्छ, युवा वृद्ध हुन्छ। यो प्राकृतिक परिवर्तन हो। गरिब धनीमा, असफल सफलमा, रोगी स्वस्थमा परिवर्तन हुन चाहन्छ। यही परिवर्तन हुने आशामा बिहानदेखि बेलुकासम्म मान्छे कुँदिरहेको हुन्छ। संसारभर करौडौं र अर्बाैं मान्छेको दिनचर्या यसकै लागि हो।

भनाइ छ– ‘ऐना अगाडिको मान्छेलाई परिवर्तन गरे संसार परिवर्तन हुन्छ। कसरी परिवर्तन गर्ने भेउ र छेउ नपाउँदा मान्छे परिवर्तनको सिक्रिमा जेलिएर आफैं हराउँछ। अनि वर्षाैंपछि पनि उसको सपना ठिंग जहाँको त्यहीं उभिन्छ।’ चमत्कारको पहिलो विन्दु कल्पना नै रहेछ। कल्पना, सपना र योजनालाई कार्य रूप दिने मान्छे नै सफल भएका छन्। उनीहरूले जे गरयो त्यही सफल हुन्छ।

५ सय रुपियाँ र श्रीमती लिएर छिमेकी जिल्ला काभ्रे भिंखुलीबाट राजधानी छिरेका त्यस्तै एक भाग्मानी हुन् –युवराज लामा। दुर्गम भिंखुलीभन्दा धेरै चाँडो युवराज लामा सुगम भए। ६ दशक पुग्नै लाग्दा युवराजले आफ्नो इतिहास आफैं कोरेका छन्। खेलाडी, कोच, अन्तर्राष्ट्रिय खेलाडी, फिल्मका निर्देशक, निर्माता, अनि फेरि खेलकुद विकास परिषद्का सदस्य सचिव र अहिले उदाउँदो पर्यटन व्यवसायी। चुरे भावर संरक्षण तथा पयर्टन विकास अभियानको अध्यक्ष भएर दुई नम्बर प्रदेशको निजगढमा जीवनको नयाँ काम गर्दै छन्। होटल व्यवसाय र चुरे भावर संरक्षणमा।

काभे्रमा जन्मेका, काठमाडौंको कर्ममा हुर्केका युवराज लामाले दुई नम्बर प्रदेशमा गएर नयाँ सपनामा नयाँ कर्म गर्न लागेको देख्दा उनको जीवनले सिकाएको ज्ञान उनले वास्तवमै प्रयोग गरे जस्तो लाग्छ। उनले आफ्नै जीवनबाट निस्केको दिग्दर्शन फेरि दोहोर्याए– ‘मान्छेले आफ्नो कृति संसारमा दुई प्रकारले छाडेर जान्छ, कि सन्तानमा कि कर्ममा।’ हो उनी कर्ममा आफ्नो कृति छाड्न चाहन्छन्। र त नयाँ नयाँ कर्ममा रमाउन चाहन्छन्। त्यसैले त साठीको उमेरमा पुग्नै लाग्दा फेरि नयाँ कर्ममा कृति राख्न लागिरहेका छन्।

६० हुनै लाग्दा पनि हृष्टपुष्ट शरीरका उनलाई सितेरियो करातेले ३४ वर्षअगाडि तान्यो। बौद्ध, भक्तपुर र काठमाडौंमा प्रशिक्षण दिएर १ हजार खेलाडीका गुरु बने। १ सय त ब्ल्याक बेल्ट नै चेला रहेछन् उनका। एक मान्छेले अर्काे मान्छे भेट्नु एक संयोग हो। एक मान्छे अर्काे मोडमा पुग्न मान्छेले नै काम गरेको हुन्छ। कसैको भनाइ, गराइ, सुनाइ र बोलाइबाट परिवर्तन हुन्छ मान्छे। आफ्नै चेला जावेद शाह युवराजको जिन्दगीमा नयाँ मोड ल्याउने एक संयोग हुन्। त्यो मीठो संयोगले करातेका टु डान युवराजलाई फिल्मका द्वन्द्व निर्देशक बनायो। भाग्यरेखाबाट ३२ वर्षअघि फिल्ममा छिरेका युवराज फिल्म लाइनका एक ऐतिहासिक पात्र बने। १७ वटा फिल्मका निर्देशक, १३ वटा फिल्मका निर्माता, ४२ वटा फिल्ममा कलाकार उनी बंगालीदेखि र साउथ इन्डियन फिल्ममा जोडिए। चलचित्रको संस्थागत विकास गर्न निर्माता संघको संस्थापक उपाध्यक्ष र चलचित्र निर्देशक संघको संस्थापक अध्यक्ष बने।

देशको माया हरेकलाई हुन्छ। अन्य देशको सिकेर आफ्नो देशमा राम्रो गर्न पाए हुन्थ्यो भन्ने विश्वका हरेक नागरिकको मनमा हुन्छ। हिन्दी फिल्मले डंका पिटेर नकाउट हान्न लागेको फिल्म उद्योगमा नेपाली चलचित्रलाई स्थान दिनुपर्छ भनेर नेपाली चलचित्रका लागि सोच बनाए। त्यसले उनलाई विदेशी चलचित्रको विरोधिका रूपमा चिनायो। अहिले पनि आफूलाई केही मान्छेले भारतीय विदेशी चलचित्रको विरोधीका रूपमा चिनाएको बताउँदै थिए।

आफूलाई लामो इच्छा शक्ति भएको मान्छेका रूपमा बुझ्छन् युवराज। लामो यात्रामा निक्लेको मान्छे फर्केर घर आएजस्तै ब्याक टु मंगलमान भएर खेलकुदमै फर्के। सदस्य सचिवको कुर्सी भनेको किलाको कुर्सीजस्तो भए पनि त्यसमा बसे। बेलगाम बनेको खेलकुदलाई लगाममा ल्याउन नसकेर धेरै सदस्य सचिव आफैं बिग्रेका थिए। युवराज भने आफू पोजिटिभ एप्रोचको भएकाले आफ्ना लागि त्यो कुर्सी मखमलको थियो भन्छन्। लामो समयदेखि अवरुद्ध बनेको छैठौं राष्ट्रिय खेलकुद धनगढी र महेन्द्रनगरमा सम्पन्न गराएको, ७६ संघको चुनाव गराएको, खेलकुदको गतिविधि तीव्र्र गराएको, खेलाडीको पक्षमा राम्रा निर्णय गराएको दीर्घकालको लागि खेल नीति बनाएकाजस्ता मेरिट लिस्ट सुनाउँछन्।

हाँसी–हाँसी बोल्ने युवराज निकै टकेटिभ लाग्थे। सकरात्मक सोचाइ नै आफ्नो ऊर्जा भएको उनको भनाइ थियो। बच्चामा भगवान्का कथाहरूबाट प्रभावित भएका उनी सत्य नारायणको पूजा गरेर जन्मेका कारण बाबुआमाले असत्य गर्नु हुन्न, बोल्नु हुन्न भनेकाले सत्य निर्धक्कसँग बोल्ने आफ्नो बानी परेको युवराज बताउँछन्।

मान्छेले आफ्नो कृति संसारमा दुई प्रकारले छाडेर जान्छ। कि सन्तानमा कि कर्ममा। युवराज आफ्ना सन्तानमा भन्दा पनि कर्मको कारण कृति छाड्न चाहेको बताउँदै थिए। एक दिन मर्नुपर्छ भन्ने ज्ञान सबैमा छ। तैपनि आर्यघाटबाट फर्कंदा मान्छे दश रुपियाँका लागि झगडा गर्छ। युवराज भने आफूमा बौद्ध र हिन्दु धर्मको ज्ञान भएकाले प्रशस्त आध्यात्मिक चेतना भएको बताउँथे। बच्चादेखि तँ त सत्य नारायणको पूजाले जन्मेको भन्ने भनाइले उनको मनोविज्ञानमा अधर्म गर्न नहुने घन्ट बज्ने बताउँथे।

फिल्म र खेल दुवै इन्टरटेन्टमेन्ट मानिन्छ। दुवैमा उत्तिकै सफल भएका उनको जीवन नै मनोरन्जन पूर्ण रहेछ। कुराकानीका क्रममा निर्धक्क देखिएका उनी आफ्ना दुवै छोरा र दुवै बुहारीका साथ परिवारमा रमाएका रहेछन्।

६५ वर्षमा वृद्धभत्ता खुवाउने सरकारी निर्णय भर्खरै भएको समाजमा उनी लगभग ६० को उमेरमा नयाँ काममा हात हाल्दैछन् होटल तारा ईन खोलेर। सपना ठूलो देख्न उनलाई उनको जीवनले सिकाएको छ। त्यसैले भन्दैथे– ‘हामीले भारतको पर्यटक ल्याएर मात्र दुई नम्बर प्रदेश पाल्न सक्छौं, चुरे भावर संरक्षण गर्दै पर्यटनमा लाग्ने हो भने।’

सम्भावनाको एक्स्पोर गर्न लाग्ने उनको स्वभावले उनलाई अगाडि बढाइरहेको छ। काभे्रमा जन्मेका, काठमाडौंको कर्ममा हुर्केका युवराज लामाले दुई नम्बर प्रदेशमा गएर नयाँ सपनामा नयाँ कर्म गर्न लागेको देख्दा उनको जीवनले सिकाएको ज्ञान उनले वास्तवमै प्रयोग गरेजस्तो लाग्छ। उनको जीवनबाट निस्केको दिग्दर्शन फेरि दोहोर्याए– ‘मान्छेले आफ्नो कृति संसारमा दुई प्रकारले छाडेर जान्छ, कि सन्तानमा कि कर्ममा।’ हो उनी कर्ममा आफ्नो कृति छाड्न चाहन्छन्। र त नयाँ नयाँ कर्ममा रमाउन चाहन्छन्। उनले गरेका कर्म खेलकुद, फिल्म र अबको पर्यटनमा उनी आफ्नो कृति रहने हिसाबले काम गर्दैछन्।

 

प्रतिक्रिया दिनुहोस्