अन्तर्राष्ट्रिय लायन्स क्लबको शतवार्षिकी उत्सव, सय जना राष्ट्रिय व्यक्तित्वलाई रथारोहणसहित सम्मान गरिँदै



टंकराज अधिकारी, पोखरा
हाम्रो गौरव राष्ट्रिय सान, सय वर्षमा सय जना सम्मान’ नाराका साथ राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने एक सय जना व्यक्तिलाई पोखरामा नागरिक अभिनन्दन तथा रथारोहणसहित विशेष सम्मान गरिने भएको छ।

अन्तर्राष्ट्रिय लायन्स क्लब स्थापनाको सय वर्षका अवसरमा आयोजित विशेष कार्यक्रमबीच फागुन २६ गते एक सय जनालाई सम्मान कार्यक्रम आयोजना गरिएको हो। लेखनाथ नगरपालिकाले सयजनालाई सोहि अवसरमा नागरिक अभिनन्दन गर्ने भएको छ। पोखरामा मनाउन लागिएको शतवार्षिकी कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा रहने आयोजक लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले जानकारी दिनुभयो। ‘अन्तर्राष्ट्रिय लायन्स क्लब स्थापनाको सय वर्ष पूरा गरेको सन्दर्भमा हामीले विशेष कार्यक्रम आयोजना गरेका छौं। जात, धर्म, वर्ण, लिङ्ग तथा राजनीतिभन्दा माथि उठेर विशुद्ध सामाजिक सेवामा छुट्टै पहिचानका बनाएका व्यक्तिलाई सम्मान गर्न लागिएको हो।’– आचार्यले भन्नुभयो। सय जना व्यक्तिलाई नागरिक अभिनन्दन तथा रथारोहणसमेत गराइने उक्त कार्यक्रममा देशभरबाट २५ हजारभन्दा बढीको उपस्थिति रहने आचार्यले भनाइ छ।

व्यक्तिगत लाभभन्दा माथि उठेर राज्य एवम् समाजमा विशेष योगदान पुर्याएका मेचीदेखि महाकालीसम्मका सय जनालाई सम्मान गर्न लागिएको लायन्स क्लबले जनाएको छ। आजभन्दा सय वर्ष अगाडि प्रथम विश्वयुद्धबाट क्षतविक्षत भएको तत्कालीन समाजमा मानवीय सेवा, मानिसबीच दुःखमा समवेदना प्रकट गर्न तथा घाउमा मलमपट्टी लगाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय लायन्स क्लबको स्थापना भएको हो। लायन्स क्लब आजको अवस्थासम्म आजसम्म आइपुग्दा संसारकै सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सामाजिक संस्थाका रुपमा स्थापित भएको आचार्यको भनाइ छ।

हाल संसारका २ सय ११ देशमा शिक्षा, स्वास्थ्य र वातावरण एवम् पर्यावरण संरक्षणमा विशेष योगदान पुर्याउँदै आएको लायन्स नेपालमा बिगत ४७ वर्षदेखि विभिन्न सामाजिक क्रियाकलापहरूमा सक्रिय रुपमा क्रियाशील छ।’ नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला संस्थापक अध्यक्ष रहेको यस संस्थाले अन्धोपन निवारण, स्वास्थ्य जनचेतना, आँखा अस्पताल एवम् शिक्षण संस्थाहरूको विकास र बिस्तारमा उल्लेखनीय योगदान छ।

लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षमा गभर्नर बनेका धनराज आचार्यले विभिन्न सय वटा कार्यक्रम सार्वजनिक गरेका थिए। सय वटा कार्यक्रममध्ये शतवार्षिकीको मुख्य कार्यक्रम सय जना व्यक्तिलाई सम्मान तथा रथारोहण रहेको उहाँले बताउनुभयो। नेपालमा लायन्सलाई फरक धारबाट ब्रान्डिङ गर्ने लक्ष्यसहित आचार्यकै अगुवाईमा ‘पढाऔं अभियान’ कार्यक्रम अगाडि बढिरहेको छ। उक्त अभियानका लागि ५ करोड ५० लाख रुपियाँभन्दा बढीको प्रतिबद्धता आइसकेको आचार्यले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्