२८ शताब्दी अगाडि सिरिया नरसंहारको भविष्यवाणी



ब्रासिलिया, (एजेन्सी)
ब्राजिलको सामाजिक सञ्जालमा इसापूर्व ७औं शताब्दीमा एकजना पैगम्बरको इजरायलसँग जोडिएको एक महत्त्वपूर्ण भविष्यवाणी भाइरल भइरहेको छ। जसमा प्रष्ट रूपमा सिरिया गृहयुद्धको चपेटामा आउने उल्लेख गरिएको थियो।

इसापूर्व ६ सय ८७ आसपास ती यहुदी पैगम्बर इसायाले आफ्नो किताब लेख्न थालेका थिए। २८ शताब्दीपछि सामाजिक सञ्जालमा उनले लेखेको सामग्री चर्चाको विषय बनिरहेको छ। पैगम्बर इसायाले दमास्कस शहर नेस्तोनाबुट हुने भविष्यवाणी प्रष्ट शब्दमा उल्लेख गरेका थिए।

बाइबलको ओल्ड टेस्टामेन्टको इसायमा दिएको १७औं अध्यायको पहिलो छन्दमा पैगम्बरले लेखेका थिए– ‘दमास्कस त्यतिबेला शहर रहनेछैन, ऊ भग्नावशेषको थुप्रोमा परिणत हुनेछ।’

सामाजिक सञ्जालमा सेयर गरिएको पोस्टमा येरमियाको पनि उल्लेख गरिएको छ। जसमा दमास्कस शक्तिहीन हुने र बच्ने प्रयास गर्नेछ, ऊ डराएको हुनेछ, ऊ एक प्रशव पीडामा रहेकी महिलाजस्तै पीडामा हुनेछ।

रियो दि जेनेरियोका पोन्टिफिसिल क्याथोलिक युनिभर्सिटी (पीयुसीं) मा धर्मशास्त्रका प्रोफेसर फ्रेर इजिडोरो माजोरोलो भने– ‘यदि मैले अहिले सिरियामा जुन युद्धको स्थिति छ, त्यसका पछाडि पैगम्बर इसायाको भविष्यवाणी कारण रहेको बताए। यो नरसंहारको पछाडि पनि त्यही नै कारक हो भन्ने हुन्छ। यसको अर्थ यो स्थितिलाई बदल्न केही पनि गर्न सकिँदोरहेनछ। किनभने यो ईश्वरकै इच्छा हो।’

तर साओपालोको एन्जेलिकन डायोसिसका होली ट्रिनिटी क्याथोलिक चर्चका पादरी आर्थर नासिमेन्टोले त्यसमा असहमति जनाउँदै प्रतिक्रिया दिएका छन्– ‘हामी आफ्नो जिम्मेवारीलाई ईश्वरको काँधमा हाल्न सक्दैनौं। सिरियामा भइरहेको घमासान युद्ध अन्य गर्ने कुनै मार्ग पहिल्याउनु हामी अन्तर्राष्ट्रिय समुदायको काम हो।’

उनले धार्मिक ग्रन्थमा लेखिएका कुराहरूको अर्थ निकाल्नमा सावधानी अपनाउनुपर्ने बताए। इतिहासलाई आधार बनाएर बाइबल लेखिएको उनी बताउँछन्। बाइबलमा लेखिएका शब्दलाई त्यसको अर्थबाट फरक पारेर हेर्नु अत्यन्त खतरनाक हुन सक्ने उनले बताए।

‘त्यस्तो भएमा ती पवित्र ग्रन्थको आधारमा जातीय र भेद्भावदेखि एलजीबीटीप्रति भेदभावलाई सही सावित गर्नुपर्ने हुन्छ।,’ –नासिमेन्टोले बताए।

लोकप्रिय धारणाविपरीत पैगम्बर त्यो हुँदैन जसले भविष्यवाणीहरू गर्छन् र वा भविष्य देख्न सक्छन्। पैगम्बर त्यो हो जसले वर्तमान स्थितिलाई चुनौती दिन्छन्।

त्यतिबेला इसायाले कयौं कुराको निन्दा गरेका थिए। जस्तो राजनीतिक भ्रष्टाचार, सामाजिक आर्थिक असमानता, कामदारको शोषण यसमा आउँछन्। इतिहासकारहरूका अनुसार इसापूर्व ७३२ मा घटेको घटनाका आधारमा इसायले दमास्कसको विध्वंश हुने उल्लेख गरेका थिए।

हजारौं वर्ष पहिला त्यतिबेला इजरायल देश (इफ्राइम) र अरम देश (दमास्कस) असिरिया विरुद्धको युद्धमा एकजुट भएका थिए। अध्याय १७ मा जे भनिएको हो त्यो २१ औं शताब्दीमा सिरियाको विध्वंशका बारेमा होइन। पैगम्बर इसायाले उक्त गठबन्धनको हारको बारेमा भनेका थिए र दमास्कसको विध्वंश हुनेमा चिन्ता व्यक्त गरेका थिए। घटनामा दश वर्षपछि असिरियका सेनाले प्राचीन शहर इसापूर्व ८औं– ९औं शताब्दीमा इजरायलको राजधानी रहेको समारियामाथि कब्जा गरेको थियो।

अर्को एक पादरी एगोन कोपेरेकले इसायाको भविष्यवाणीलाई आजको सिरियामा भइरहेको घटनासँग जोडेर हेर्नु धर्मको फाइदा उठाउनुजस्तो हुने बताए। यो ब्याख्या इसाईहरूभित्र अन्यौलता उत्पन्न गराउन चाहने कट्टरपन्थीहरूले मात्र गर्ने उनले प्रतिक्रिया दिए।

हाल ब्राजिलमा चर्चाको विषय बनेको इसायाको भविष्यवाणीको अंग्रेजी संस्करणलाई लिएर सन् २०१३ मा युरोपमा चर्चामा आएको थियो।

यसअघि बाइबलको न्यु टेस्टामेन्टमा यिशुले भनेको एक कथनलाई लिएर नाजी नरसंहारसँग जोडेको थियो। दोस्रो विश्वयुद्धका क्रममा ६० लाख यहुदीहरू मारिएकाले त्यो कथन सही भएको बताइएको थियो।

तर गोस्पेलमा जसरी भनिएको छ त्यो यहुदी नरसंहारको भविष्यवाणीका लागि जिम्मेवार भएको बताउनु सही नहुने ब्राजिलका पादरी रोमी मार्सिया बेंके बताउँछन्। त्यसरी जोड्नुलाई सामुहिक हत्याको निन्दा नगर्नुजस्तै हुने उनले बताए। यिशुले जेरुसलमको आलोचना जुन मन्दिरको सम्बन्धमा गरेका थिए, जुन धार्मिक केन्द्र मात्र नभएर राजनीतिक र आर्थिक केन्द्र पनि भएको उनले थपे।

सिरियामा सन् २०११ देखि चलिरहेको युद्धमा अहिलेसम्म ४ लाख ७० हजार व्यक्तिको मृत्यु भइसकेको छ। ५० लाखभन्दा धेरै नागरिक घर छोड्न बाध्य भएका छन्।

पादरी आर्थर नासिमेन्टोले भने– ‘बाइबललाई एक धर्म ग्रन्थका रूपमा पढेर त्यसको काल्पनिक अर्थ निकाल्नुहुँदैन। हामीले सिरियाली नागरिक विरुद्ध क्रुरता र हिंसा गर्नेहरूको आलोचना गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्