पाँच वर्षे क्यालेन्डर बनाएर विकासका काम गर्छौंः प्रम



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच वर्ष समयको सदुपयोग गरी देश सफलताको बाटोमा लैजाने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको सातौं अन्तर्राष्ट्रिय ट्रेड फेयर २०१८ को उद्घाटन गर्नु हुँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले अब आर्थिक समृद्धिको युग शुरू भएकाले पाँच वर्ष नेपालको लागि असाधारण हुने दाबी पनि गर्नुभयो।‘आउँदो आधा दशक नेपालमा विकास, सफलता, परिवर्तन र उपलब्धिको समय हुनेछ।’ उहाँले भन्नुभयो–‘भष्टचारलाई शून्य बनाएर दीर्घकालीन सोच र विकासको पक्षमा सरकार रहेको छ। अब कोही भोकै पर्दैन कोही भोकै मदैन, कोही भोको पर्यो र मर्यो भने यसको जिम्मेवारी सरकारले लिन्छ।’

‘मेलाले रोजगारी सिर्जना, मुलुकको निर्यात वृद्धि, नयाँ वस्तु उत्पादन विस्तार, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा समेत मद्दत आशा लिएको छु।’ प्रधानमन्त्री ओलीले भन्नुभयो। देश विकासको लागि सरकारले नयाँ नारा अगाडि सारेको र अबको पाँच वर्षमा सरकारले क्यालेन्डर बनाएरै काम गर्ने प्रधानमन्त्री ओलीलेबताउनुभयो।

सरकार उत्पादन वृद्धि र रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सम्पूर्ण ध्यान केन्द्रित गर्नको लागि तयार रहेको बताउँदै उहाँले विज्ञान र प्रविधिको सम्मिश्रणसँगै मुलुकभर उपलब्ध हरेक स्रोत र साधनको अधिकतम् उपयोग गर्दै आर्थिक समृद्धि प्राप्तिको मार्गमा सबै नेपाली अग्रसर हुन आग्रह गर्नुभयो। चोभारमा अन्तर्राष्ट्रियस्तरको व्यापार–मेला प्रदर्शनीस्थल निर्माणमा सरकार सकारात्मक रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले अर्थतन्त्रको विकासको लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने बताउनुभयो।

विश्वबजारमा नेपालका निर्यातमुलक उद्योगको प्रवद्र्धनमा व्यापार मेला फलदायी हुने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० मा दुबईमा हुने व्यापार मेलामा राष्ट्रको पहिचान र गरिमा हुने गरी मेलाको तयारीमा लग्नुपर्ने बताउनुभयो।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको हालको अवस्था भनेको सय रुपियाँको वस्तु आयात गरेर ७ रुपियाँको वस्तु निर्यात गरिरहेका छौं,जसमा ९३ रूपैयाँ व्यापारघाटा रहेको बताउनुभयो। अर्थमन्त्रीका अनुसार यसलाई रेमिट्यान्सले पूरा गर्न सकेको छ, न त वैदेशिक सहायताले यत्रा पर्यटक ल्याउँदा पनि त्यो घाटा पूर्ति भएको छैन जसले गर्दा देशको चालूू खाता घाटामा छ।

घाटालाई सन्तुलनमा ल्याउनको लागि उत्पादनमुलक उद्योगमा लगानी बढाउने र निर्यातमा वृद्धि गर्नुबाहेक अर्काे उपाय नभएको अर्थमन्त्री खतिवडाको भनाइ छ। मुलुकको आर्थिक वृद्धि गर्नको लागि र दिगो विकास गर्न निर्यातमा नै जोड दिनुपर्ने सरकारले प्राथमिकता रहेको बताउनुभयो।

सरकार निजी क्षेत्रसँग कहिले पनि प्रतिस्पर्धी हुन नसक्ने तर परिपूरक हुने भएकाले निजी क्षेत्रलाई आर्थिक उन्न्तीको लागि सरकार तयार रहेको बताउँदै मन्त्री खतिवडाले निजी क्षेत्रले गर्न नसक्ने काममा मात्रै सरकारले हात हाल्ने र निजी क्षेत्रले गर्न सक्ने काममा भने सरकारले सहज बातावरण बनाउने बताउनुभयो।

सरकारलाई विदेशी लगानी आवश्यक छ, लगानी ल्याउनको लागि लगानीमैत्री वातावरण बनाउनको लागि लगानी बोर्ड ऐन, कम्पनी ऐन, उद्योगका कानुन विदेशी विनिमय ऐनलगायत कानुन संशोधन गर्न र लगानीको सहज बनाउन लागि सरकार तयार रहेको मन्त्री खतिवडाले बताउनु भयो।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भ्रष्टारचारमुक्त समाज निर्माणमा वर्तमान सरकार रहेकाले भ्रष्ट बन्ने र बनाउनको लागि नलाग्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो।

चिनियाँ उद्योग मन्त्रालय वाणिज्य विभागकी उपकार्यकारी निर्देशक चीन होङले सन् २०१६ को तुलनामा चीनसँगको नेपालको व्यापार ११ प्रतिशतले बढेर ९९ करोड अमेरिकी डलर पुगेको चीनले नेपालमा आयोजना भएका ७ मध्ये ५ वटा मेलामा भाग लिएकाले नेपाल चीनको सम्बन्धमा यस्ता मेलाले थप सम्बन्धको विकास हुने बताउनुभयो।
महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको अभियानको थालनी महासंघले शुरूआत गरिसकेको भन्दै अन्तर्राष्ट्रिय व्यापार मेला समग्रमा नेपालको प्रवद्र्धनमा महत्वपूर्ण मञ्च रहेको स्पष्ट पार्नुभयो।उहाँले सुविधा सम्पन्न प्रदर्शनी हल निर्माणको जिम्मेवारी लिन हामी तयार छौं, सरकारले आवश्यक निर्णयसहित हामीलाई अगाडि बढ्ने मौका दिएमा राजधानीसहित सात वटै प्रदेशमा त्यस्ता सु्विधा सम्पन्न प्रदर्शनी हल निर्माणका लागि महासंघ तयार रहेको बताउनुभयो। जनताको चाहना अनुसारको आर्थिक विकासमा आफ्नो सरकार केन्द्रित हुने र निजी क्षेत्रका उद्यमी व्यवसायीलाई समेत समावेश गरी परामर्श समूह गठन गर्ने प्रतिबद्धताबाट हामी अत्यन्त उत्साहित भएका छौं। हामी छिटो परामर्श समूह गठन हुने आशामा छौं अध्क्षय राणले भन्नुभयो।
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अब राजीतिक गतिरोध समाप्त भएकाले आगामि १० वर्ष आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभयो। चीन, भारत, बंगलादेश, पाकिस्तानको सहभागिता रहेको मेलामा ३ सयभन्दा बढी स्टल रहेको छन्। मेला फागुन २८ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्