प्योङचेङ ओलम्पिकको केही रोचक कुरा



मेरिटले बनाइन् कीर्तिमान
भर्खरै सम्पन्न हिउँदे ओलम्पिकमा नर्वेकी क्रस कन्ट्री स्कियर मेरिट ब्योर्गेन हिउँदे ओलम्पिकमा सर्वाधिक ओलम्पिक पदक विजेता बनेकी छन्। ब्योर्गेनले प्योङचेङमा ५ पदक जितेकी हुन्। यो सँगै उनले हिउँदे ओलम्पिकको इतिहासमा सर्वाधिक पदक जित्ने खेलाडी बनेर नयाँ कीर्तिमान बनाइन्। समग्रमा हिउँदे ओलम्पिकमा उनको यो १५औं पदक हो।

१५ पदक जितेर सबैभन्दा बढी पदक जित्ने होडमा १३ पदक जितेका नर्वेकै बाएथ्लिट ओले इनार ब्योर्नडेलेनलाई उनले पछि पारेकी हुन्। यति मात्र होइन ५ पदक जित्ने ३७ वर्षीय मेरिटले एकै हिउँदे ओलम्पिक सबैभन्दा बढी ५ पदक जित्ने अमेरिकाका एरिक हेडनसँगको पदक संख्यासँगसमेत बराबरी गरेकी छन्। स्पिड स्केटर हेडनले सन् १९८० मा ५ स्वर्ण जितेका थिए। ब्योर्गेनभन्दा बढी पदक भने पूर्वसोभियत संघका जिम्नास्ट लैरिसा लेतनिना नाममा रहेको थियो। लेतनिनाले १८ पदक आफ्नो नाममा लेखाएका थिए। तर, सोभियत संघको विघटनपश्चात् उक्त कीर्तिमानलाई समेत खारेज गरियो। ब्योर्गेनले १९ वर्षे ओलम्पिक करियरमा ८ स्वर्ण, ४ रजत र ३ कांस्य पदक जितेकी छन्।

अनौठो कीर्तिमानधारी लेडेका


चेक रिपब्लिककी एस्टर लेडेकाले ७ दिनमा २ स्वर्ण पदक जितिन्। यसका साथै उनी एउटा ओलम्पिकमा दुई खेलमा स्वर्ण जित्ने पहिलो महिला बनिन्। २२ वर्षीय लेडेकाले प्योङचेङ ओलम्पिकमा पहिले अल्पाइन स्किङ सुपर–जी मा स्वर्ण जितकी थिइन्। त्यसपछि उनले स्नोबोर्ड पेरेलल जाएन्ट स्लेलमको स्वर्ण पनि जित्न सफल भइन्। उनी दुई इभेन्ट्समा स्वर्ण जित्ने समग्रमा तेस्रो खेलाडी बनेकी छन्। नर्वेका थोरलेफ हाङ र जोहान ग्रोएटमस्टब्रटेनले पनि हिउँदे ओलम्पिक्सको दुई भिन्न खेलमा स्वर्ण जितिसकेका छन्। यति मात्र होइन, यसअघि उनले २०औं वल्र्ड कप क्रिस्टल ग्लोब टाइटलको अलटाइम कीर्तिमान बनाउएकी थिइन्। यस्तै सन् २०१० मा लौरियस स्पोर्ट्स ओमेन अफ द इयरमा समेत चुनिएकी थिइन्। उनी यूएस ओलम्पिक कमिटी स्पोर्ट्स ओमेन अफ द इयर पनि भएकी थिइन्।

१५ वर्षीय एलिनाले जितिन् स्वर्ण


भर्खरै सम्पन्न हिउँदे ओलम्पिक्समा १५ वर्षीय फिगर स्केटर एलिना जेगितोभाले महिला सिंगल फिगर स्केटिङको स्वर्ण जितिन्। योसँगै जेगितोभा सबैभन्दा कम उमेरमा स्वर्ण जित्ने महिला एथ्लिट बनिन्। जेगितोभा रसियाकी हुन्, तर प्रतिबन्धका कारण रसियाली एथ्लिट्सहरूले ओलम्पिक झण्डामुनि प्रतिस्पर्धा गरेका थिए। त्यसैले उक्त पदक रसियाको खातामा भने जोडिएन।

प्रतिक्रिया दिनुहोस्