खुला दोहोरीमा स्याङ्जा पहिलो



लमजुङ, (नेस)। लमजुङमा आठौं सुन्दरबजार महोत्सवका अवसरमा सञ्चालन गरिएको खुला दोहोरी प्रतियोगितामा स्याङ्जा पहिलो भएको छ।

दुई महिला र दुई पुरुषका बीचमा गरिएको प्रतिस्पर्धामा प्रकाश पराजुली स्याङ्जाको महिला समूहले गाएको गीतले उनीहरूलाई पहिलो स्थान दिलाएको हो।

पहिलो हुने प्रकाश पराजुली समूहमा डिला विक र पार्वती आले तथा प्रकाश एरा, राजु केसीले गाएका थिए भने दोस्रो हुने संगीना संगीत समूह धादिङमा सुरेन्द्र मगर, राम परियार, संगीता थापा र आशा केसी थिए। कुल १३ टिमले भाग लिएको प्रतियोगितामा गंगा जमुना समूह धादिङ तेस्रो र एभरग्रिन दोहोरी साँझ बेंसीशहरको टिम सान्त्वना भए। प्रतियोगितामा पहिलो हुने टिमलाई ५०, दोस्रोलाई ३०, तेस्रो हुने टिमलाई १५ र सात्वना हुने समूलाई ५ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो।

महोत्सवका अवसरमा लोकगायक कृष्ण गुरुङलाई सम्मान गरिएको छ। दुराडाँडाका स्थायी वासिन्दा गुरुङले बाँसुरीवादन तथा लोकगीत र दोहोरी गायनका क्षेत्रमा ख्याती प्राप्त गरी लमजुङको शिर उँचो बनाउनुका साथै सुन्दरबजारमा सञ्चालन गरिएका प्रत्येक महोत्सवमा आएर निर्णायकको भूमिकासहितको अमूल्य सहयोग गरेको भन्दै उनलाई सम्मान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्