भोलिदेखि राजधानीमा मानव अधिकार फिल्म महोत्सव



मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा भोलिदेखि ४ दिनसम्म राजधानीमा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैठौं संस्करण हुने भएको छ।

प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा हुने महोत्सव बेलायती फिल्मकर्मी स्काई नेयलको निर्देशनमा महिला अधिकारलाई लक्षित गरी नेपालमा निर्माण गरिएको फिल्म जब म खस्छुबाट आरम्भ हुनेछ। विश्वभरिबाट खुला आवेदनबाट संकलन गरी प्राप्तमध्येबाट ७० भन्दा बढी मानव अधिकार विषयक वृत्तचित्र, छोटा फिल्म, एनिमेसनलगायत प्रदर्शन गरिने महोत्सवमा नेपालबाट २० फिल्म छन्।

महोत्सवमा प्रत्येक दिन फिल्म प्रदर्शनपछि विभिन्न विषयमा अन्तरक्रिया गरिने आयोजकले जनाएका छन्। त्यस्तै महिला सशक्तीकरणको विषयमा महोत्सवमा प्रत्यक्षरूपमा आर्ट पेन्टिङसमेत गरिनेछ। महोत्सव राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्मकर्मीका साथै मानव अधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वका लागि फिल्मको माध्यमबाट छलफल र अन्तरक्रिया गर्ने मञ्च उपलब्ध हुने विश्वास गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्