कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान शुरू



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि दलको नेता चयनका लागि मतदान शुरू भएकाे छ ।

कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गरेका थिए ।

त्यस्तै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमले समर्थन गरेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

सभापति देउवाले पार्टीको संस्थापन पक्षबाट र नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उम्मेदवारी दिएको बताइएको छ । निर्वाचनमा विजयी हुने दुवै पक्षका आ–आफ्नै तर्क छन् । सभापति देउवा पक्षले आफ्ना बहुमत सांसद भएकाले सहजै विजयी हासिल गर्ने दाबी गरेको छ भने नेता सिंहले निर्वाचनपछि पार्टीमा नयाँ नेतृत्वको खाँचो देखिएकाले बहुमत सांसदले आफूलाई मतदान गर्ने तर्क गरेका छन् ।

आजै बिहान १० देखि दिउँसो १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा मतदान हँुदैछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने बताइएको छ । कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

कांग्रेस संसदीय दलको परिमार्जित विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने छ ।

प्रतिक्रिया दिनुहोस्