ठगीको अनुसन्धान गर्दै जादा हुण्डी कारोवारी पक्राउ



काठमाडौं । फेसबुक मार्फत उपहार परेको छ भन्दै ठगी गर्नेहरु खोज्ने क्रममा हुण्डी कारोबारी समातिएका छन् ।

४० हजार पाउण्डको उपहार परेको भन्दै पवि क्षेत्री र लक्ष्मीदेवी चपाईलाई  ५१ लाख ठगेको घटनाको अनुसन्धान गर्ने क्रममा हुण्डी कारोबारी समातिएकाे प्रहरीले जनाएकाे छ ।

अनुसन्धनका क्रममा नारायण अग्रवाल हुण्डी कारोबारी भएको खुलेको प्रहरीले जनाएको छ । उनको पसलबाट स्रोत नखुलको रकम १५ लाख ६२ हजार ९२० र म्यानेजर कृष्णगोपाल अग्रपालको मोबाइलमा हुण्डी कारोबार हुने गरेकाे एसएमएस भेटिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार हुण्डीको मुख्य कारोबारी नारायण अग्रवाल र नेपाल लोजेस्टिक प्राली खिचापोखरीका सञ्चालक राकेश गुप्ता भएको खुलेको छ । तर, दुबै फरार छन् ।

कुरियरमा काम गर्ने जयराम र कस्मेटिक होलसेलका म्यानेजर कृष्णगोपाल हुण्डी कारोबारको मतियार भएको प्रहरीले बताएको छ ।

घटना विवरण :

  • पवि क्षेत्री र लक्ष्मी देवी चपाईलाई फेसबुक मार्फत परिचित व्यक्तिले वेलायतबाट ४० हजार पाउण्ड उपहार परेको र उक्त उपहार दिल्ली हुदै नेपाल पुग्ने भनी जानकारी गराएको र केही दिनपश्चात तपाईहरुको उपहार दिल्लीमा आईपुगेको भनी अर्को व्यक्तिले पटक पटक दिल्लीबाट फोन गरेकोले पिडितहरुले उक्त उपहारको लागि रकम माग गरेकोले उक्त उपहारको लोभमा परी पटक पटक गरी ५१ लाख रुपैया पठाएको घटनाको जानकारी प्राप्त भएको ।
  • पिडितहरुलाई दिल्लीबाट फोनमा वताए अनुसार का.जि.नागार्जुन न.पा. वडा नं. ४ सितापाईला वस्ने वर्ष ४१ को जयराम कार्कीलाई पिडितले ४ पटक गरी ४६ लाख रुपैया दिल्ली पठाउनका लागि दिएको ।
  • जयराम कार्कीले उक्त रकम दिल्लीको व्यक्तिलाई पठाउन भनी सुनसरी धरान स्थायी घर भई हाल काठमाण्डौ खिचापोखरीमा जय दुर्गा ट्रेड ईन्टरनेशनल नामक कस्मेटिक होलसेल पसल संचालन गरी वस्ने नारायण अग्रवाललाई दिएको ।
  • निज नारायण अग्रवालले दिल्लीमा पंकज अग्रवाललाई रकम पठाएको ।
  • नारायण अग्रवालको नाममा रहेको उक्त कस्मेटिक पसलमा खानतलासी गर्दा १५,६२,९२०।– (पन्ध्र लाख बैसठ्ठी हजार नौ सय विस) श्रोत नखुलेको रकम र उक्त कस्मेटिक पसलमा मेनेजरको रुपमा काम गर्ने कृष्ण गोपाल अग्रवालको मोवाइल वरामद भएको । उक्त मोवाईलमा हुण्डीको कारोवार खुल्ने message रहेको ।

हुण्डी कारोवारमा संलग्न व्यक्तिहरु :

मुख्य कारोवारीहरु :

  • नारायण अग्रवाल हाल अमेरिकामा रहेको भन्ने वुझिएको (फरार)
  • नेपाल लोजेष्टिक प्रा.लि. खिचापोखरीका संचालक राकेश गुप्ता (फरार)

     हुण्डिको कारोवारमा मतियारहरु :

  • कुरियरको काम गर्ने जयराम कार्की ।
  • कृष्ण गोपाल अग्रवाल – काठमाण्डौ खिचापोखरीमा जय दुर्गा ट्रेड ईन्टरनेशनल नामक कस्मेटिक होलसेल पसलका म्यानेजर

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू :

  • जयराम कार्की – कुरियरको काम गर्ने । पिडितबाट ४६ लाख लिई नारायण अग्रवाललाई दिएको ।
  • कृष्ण गोपाल अग्रवाल – काठमाण्डौ खिचापोखरीमा जय दुर्गा ट्रेड ईन्टरनेशनल नामक कस्मेटिक होलसेल पसलका म्यानेजर ।
  • मुष्कान तामाङ – सिन्धुपाल्चोक इन्द्रावती-५ घर भई नेपाल लोजेष्टिक प्रा.लि. खिचापोखरीमा कार्यरत । राकेश गुप्ताले भने वमोजिम १० लाख कृष्ण गोपाल अग्रवाललाई दिन आउदा पक्राउ परेको ।

प्रतिक्रिया दिनुहोस्