ह्वाइट हाउसबाहिर आत्महत्या



वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसबाहिर एकजना मानिसले आफैंलाई गोली हानेर आत्महत्या गरेको सिक्रेट सर्भिसले आइतबार जनाएको छ। सो सर्भिसले पेनसिल्भानिया एभेन्युस्थित ह्वाइट हाउसको पर्खालमा आएर स्थानीय समयअनुसार मध्यान्ह ती व्यक्तिले ह्यान्ड गन निकालेर आफूमाथि थुप्रैपटक गोली प्रहार गरेको जनाइएको छ।
तर उनले प्रहार गरेको गोलीले कोही घाइते नभएको पनि बताइएको छ। घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा नभई फ्लोरिडाको मार –आ–लागो इस्टेटमा रहेको बुझिएको छ।

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै दि वासिंगटन पोस्टले परिचय नखुलाइएका ती व्यक्तिले गोली चलाउँदा त्यहाँ थुप्रै व्यक्ति थिए। ट्विटरमा राखिएको एउटा भिडियोमा मानिसहरू घटनास्थलबाट भागिरहेको देखिन्छ। वासिंगटन डीसी प्रहरीले घटनास्थलमा ‘नेचुरल डेथ स्क्वाड’ तैनाथ गरिएको जनाएको छ।

हाल अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पसंग राष्ट्रपति ट्रम्प फ्लोरिडामा रहेका छन्। तिनीहरू शनिबार साँझ रात्रिभोजमा सरिक हुन वासिंगटन फर्कने कार्यक्रम रहेको छ। केही वर्षयता ह्वाइट हाउसमा सुरक्षालाई प्रभावित पार्ने थुप्रै घटना घटिसकेका छन्।

यसअघि पछिल्लो घटना २३ फेब्रुअरीमा भएको थियो। एउटा कार व्हाइट हाउसको सुरक्षा घेरा नाघेर आउँदा १ जना ३५ वर्षीया महिलालाई हिरासतमा लिइएको थियो। यसैगरी गत वर्षको मार्चमा ह्वाइट हाउसको पर्खाल नाघेर भित्र छिरेका १ जना व्यक्ति त्यहाँ १६ मिनेटसम्म पेपर स्प्रे लिएर बसेका थिए।

प्रतिक्रिया दिनुहोस्