अलकत्रा आयात गर्दै आयल निगम



नेपाल समाचारपत्र
काठमाडौं
रतबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको नेपाल आयल निगमले अलकत्रा (बिटुमिन) आयात गर्नको लागि प्रक्रिया थालेको छ।निगमले हाल पेट्रोलियम पदार्थ आयात गरिरहेको भारतीय सरकारी कम्पनी इन्डियन आयल कर्पाेरेसन (आइओसी) बाट गुणस्तरीय बिटुमिन आयात गर्न लागेको हो।

बिटुमिन व्यापारका लागि बजारको मोटालिटी र आर्थिक सम्भाव्यता अध्ययन गर्न निगमले ३ सदस्यीय कार्यदल गठन गरेको निगमका निमित्त कार्यकारी प्रमुख सुशील भट्टराईले जानकारी दिनुभयो। कार्यदलमा निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहको संयोजकत्वमा अर्थ शाखा प्रमुख रवीनचन्द्र अधिकारी र आपूर्ति वितरण विभाग प्रमुख वीरेन्द्र गोइत सदस्य रहेका छन्। कार्यदलले बजारको सम्भाव्यता अध्ययन गरी अहिले कुन प्रक्रियाबाट कति परिमाणमा बजार आवश्यकता छ र आगामी दिनमा व्यापारलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराको अध्ययन गरेर १ महिनामा प्रतिवेदन बुझाउने छ।

हाल निजी क्षेत्रबाट आयातित अलकत्राबाट सडकलगायत पूर्वाधार निर्माणको काम भइरहेको छ। निजी क्षेत्रले न्यून गुणस्तरको अलकत्रा आयात गर्ने र त्यसको प्रयोगबाट सडकको गुणस्तर पनि कम हुने भएकाले निगमले आफैं खरिद गर्ने तयारी गरेको हो। सरकारी स्वामित्वको संस्थानबाट आयात गर्दा गुणस्तर कायम गर्न सजिलो हुने देखिन्छ। सडकमा र विमानस्थलको रनवेमा अलकत्राको प्रयोग हुने गरेको छ।
अलकत्रा खरिदका लागि निगमले आईओसीसँग प्रस्ताव गरिसकेको छ।

सरकारी आयोजना निर्माणका लागि आवश्यक पर्ने अलकत्रा निगममार्फत् नै खरिद गर्नुपर्ने गरी मापदण्ड बनाएर अघि बढ्दा आफ्नो बजार बिस्तारका लागि सजिलो हुने निगमको भनाइ छ। नेपालको सडक स्तरोन्नती र विमानस्थलको निर्माण दु्रत गतिमा भइरहेकाले गुणस्तरीय अलकत्राको व्यापारमा सरकारी आयोजनाले सघाउनुपर्ने भट्टराईले बताउनुभयो। निगमले काठमाडौं तराई दु्रतमार्ग (एक्सप्रेस वे) निर्माणका लागि चाहिने अलकत्रा आयातका लागि छलफल भइरहेको जनाएको छ। ठूला आयोजनाबाट निगमसँग अलकत्रा आयातको लागि माग भएमा आफू ल्याउन तयार रहेको भट्टराईको भनाइ छ। हाल निर्माणको चरणमा रहेका आयोजनाका लागि सडक विभागबाटै अलकत्रा ल्याउन प्रस्ताव आए गुणस्तरयुक्त बिटुमिन ल्याउन सकिने उहाँले बताउनुभयो। निर्माण भइरहेका र निर्माण हुने आयोजनाबाट आवश्यक पर्ने बिटुमिनको अनुमानको परिमाण निगमसँग माग भएमा आयातका लागि सहज हुने भट्टराईको विश्वास छ।

प्रशोधनपछि निकालिएको पेट्रोलियम पदार्थको बाँकी भाग नै अलकत्रा हो। हाल नेपालमा आयत हुने अलकत्रा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने गरेको छ। करिब २५ वर्ष पहिले निगमले ‘बिटुमिन डायल कम्पनी’को स्थापना गरी कलकत्राको व्यापार गर्ने तयारी गरे पनि तत्कालीन सरकारले सो उद्योग बिक्री गरेको थियो। निगमले २५ वर्षपछि पुनः बिटुमिन आयातको लागि प्रक्रिया थालेको हो।

प्रतिक्रिया दिनुहोस्