शेर र सिंह



कांग्रेस संसदीय दलका नेताका लागि ‘शेर’ र ‘सिंह’को भिडन्त हुने भएछ। शेर र सिंहसँग निकै लुकामारी गर्ने ‘मुसा–बिराला’ले भिड्न आँट गरेनन्।
शेर अर्थात् पार्टी सभापति शेरबहादुर देउवा, सिंहचाहिँ पूर्वमहामन्त्री प्रकाशमान सिंह। देउवाको प्रस्तावक विजयकुमार गच्छदार र समर्थकमा मानबहादुर विक।

यसैगरी सिंहको प्रस्तावकमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जयकुमार गौतम। शेर र सिंहको रोचक भिडन्त आज सोमबार हुँदै छ। धेरैले शेर नै फेरि दलको नेता बन्ने अनुमान गरिरहेका बेला सिंह पार्टीमा परिवर्तनको आवश्यकता रहेको भन्दै गर्जन थालेका छन्। उनको गर्जन कति सशक्त रहेछ भन्ने कुरा चुनावी परिणामले पुष्टि गर्ने नै छ।

पार्टीको उचाइ देउवाले खस्काएको, निर्वाचनमा पार्टीले लज्जास्पद हार बेहोर्न बाध्य भएको भन्ने आरोप लगाउनेहरूको यो भिडन्त सच्चा परीक्षा हो। युवा आवाज र पार्टीको कार्यशैली बदल्नुपर्छ भन्ने नेताहरूको ओज भिडन्तले छिनोफानो गर्नेछ।

भिडन्तबाट उनै शेर फेरि नेता चुनिए भने, शेरको चुरिफुरी कस्तो हुने हो, धरहरालाई धेरै खुलदुली लाग्या छ। झनै चुरिफुरी त उनकै म्याडमको बढ्ने होला। ‘देख्यौ मेरो शेर चानेचुने शेर होइन, साँच्चैको शेर हो’ –उनले भन्न बेर छैन। हेरौं त्यतिबेला सिंहहरू गर्जन्छन् कि ‘म्याउँ’ भन्दै म्याडम भान्छातिर पस्छन्? धरहराले आफ्नो दूरबिन सोझ्याइरहेको हुनेछ।

प्रतिक्रिया दिनुहोस्