गृहमन्त्रीबाट एपीएफ कमान्ड तथा स्टाफ कोर्ष समापन



नेपाल समाचारपत्र
काठमाडौं
गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल नेपाल कमान्ड तथा स्टाफ कलेज सानोगौचरण काठमाडौंमा सञ्चालित सि.सं. २ ‘एपीएफ कमान्ड तथा स्टाफ कोर्ष’ को समापन गर्नुभयो।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित उक्त कोर्षको समापन तथा सो कलेजको तेस्रो वार्षिकोत्सव समारोहमा गृहमन्त्रीले कोर्षमा सहभागी अधिकृतमध्ये सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक टोपबहादुर डाँगीलाई ‘बेस्ट कमान्ड एन्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गर्नुभयो।

सो अवसरमा गृहमन्त्री थापाले सूक्ष्म अध्ययन तथा लामो मेहिनतपश्चात् हासिल गरेको ज्ञान र अनुभवले गतिशील विश्वमा देखापरेका विभिन्न आयाम एवं भोलिका दिनमा आउन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्दै देश र जनताको सेवा र सुरक्षामा विशिष्ट योगदान पुर्याउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले समाजमा शान्ति सुरक्षा वहाल गर्न सकेमा मात्र विकास र समुन्नति सम्भव हुने बताउनुहुँदै विकासको मेरुदण्डको रूपमा रहेको सुरक्षाको माध्यमबाट मुलुकमा शान्ति र स्थिरता कायम गरी सुरक्षित र समुन्नत समाज निर्माण गर्ने कार्यमा तालिममा आर्जन गरेको ज्ञान एवं क्षमतालाई कार्यक्षेत्रमा पूर्णरूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा संगठनमा विशिष्ट महत्त्व राख्ने ‘एपीएफ कमान्ड तथा स्टाफ कोर्ष’ गरेका सशस्त्र प्रहरी अधिकृतहरूले पदीय दायित्वलाई आत्मविश्वासका साथ पूरा गर्न सक्ने बताउनुहुँदै कोर्ष सञ्चालनका लागि गृह मन्त्रालय एवं त्रिभुवन विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी बल कमान्ड तथा स्टाफ कलेज व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दीप श्रेष्ठले स्वागत मन्तव्य तथा सो कोर्षको विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो। सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल कमान्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण तथा उक्त कलेजको वेबसाइटको शुभारम्भसमेत गरिएको छ।

गत सालको असोज १२ गतेबाट सञ्चालित सो कोर्षमा ७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकले सफलता हासिल गरेका छन्। उक्त कोर्ष पूरा गर्ने सशस्त्र प्रहरी नायव उपरीक्षकमा धु्रवबहादुर कार्की, उद्धवबहादुर न्यौपाने, मनोज थापा, रूपकुमार क्षत्री, टोपबहादुर डाँगी, धीरेन्द्रराज न्यौपाने र खुमबहादुर केसी रहेका छन्। सशस्त्र प्रहरी नायव उपरीक्षक डाँगीले ‘बेस्ट कमान्ड एन्ड स्टाफ कोर्ष अवार्ड’ सहित बेस्ट रिसर्च अवार्ड र बेस्ट एकेडेमिक अवार्डसमेत प्राप्त गर्न सफल भएका छन्।

तालिममा सहभागी अधिृकतहरूलाई स्टाफ ड्युटी, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानव अधिकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवीय कानुन, नेतृत्व र व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीति निर्माण तथा योजनालगायतका विविध विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूद्वारा प्रशिक्षण दिइएको कुरा त्यस अवसरमा जानकारी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्