कोठा भाडा वापत सहवास



– एली फ्लिन

‘घर सुन्दर हुन त्यहाँ महिला हुन जरुरी छ।’

ठूलो अक्षरले लेखिएको यो विज्ञापनमा धेरैका आँखा पुग्छन्। त्यसभित्र लेखिएको छ, ‘मसँग राम्रो, आधुनिक र सुन्दर घर छ। त्यसलाई महिलाको स्पर्श जरुरी छ। के तपाईं बस्न चाहनुहुन्छ? तपाईंको आफ्नै कोठा र ठाउँ हुनेछ। यसको बदला तपाईंले चाहेको समय साथी सम्झेर मसँग सहवास गर्न सक्नुहुनेछ।’

अन्तिममा बोल्ड अक्षरमा ध्यानाकर्षण गरिएको छ– गोरी, एसियन, चुरोट नपिउने।

यो विज्ञापन कोठा भाडामा लगाउन गरिएको हो। तर, भाडा वापत पैसा दिनु पर्दैन। घरमालिकसँग यौन सम्बन्ध राख्नुपर्ने हुन्छ।

‘हो, कोठा भाडामा लिए वापत मसँग यौन मागिएको थियो’, २५ वर्षीया एक युवती मसँग भनिरहेकी थिइन्। एक शुक्रबारको साँझ लन्डनमा म उनीसँग कुरा गरिरहेकी थिएँ।

उनी भन्दै गइन्, ‘उसले आफ्नो कोठा भाडामा लगाउन चाहन्थ्यो। तर, भाडा वापत पैसा तिर्नुपर्ने थिएन। उसको सर्त थियो– मसँग नियमित यौन सम्बन्ध राख्नुपर्छ।’

लन्डनमा ‘यौनका लागि कोठा भाडामा’ दिने गिरोह नै छ। जहाँ केही घरमालिक बहालवालासँग सुविधाजनक आवासको बदलामा यौनको माग्ने गर्छन्।

बिबिसी थ्रीको डकुमेन्ट्रीका लागि मलाई यो खोज्न जरुरी थियो, यस्तो गिरोह कसरी चलिरहेको छ? यसै क्रममा म एक भूमिगत अपरेसनमा लागेँ।

जो घरमालिक मसँग यतिबेला कुरा गरिरहेको छ, उसका लागि म २४ वर्षीया नर्सिङकी विद्यार्थी थिएँ। जो भाडामा कोठा खोजिरहेकी छ।

ऊ लन्डनमा जुन घरमा बस्थ्यो, त्यहाँ अरु मानिस पनि बस्थे। तर, उसले भन्यो, ‘अन्य मान्छेबाट कुनै समस्या छैन। म उसकी केटी साथी हुँ भनिदिए पुग्छ।’

जब म हिचकिचाएँ, उसले मलाई फकाउने प्रयास गर्‍यो। उसले भन्यो, ‘अनलाइनमा कोठा अफर गर्नेहरुभन्दा म राम्रो विकल्प हुन सक्छु।’

यो शहरमा ऊ एक्लो मान्छे थिएन, जो ‘यौनका लागि कोठा भाडा’मा लगाउन खोजिरहेको थियो।

मैले एक लोकप्रिय वर्गीकृत विज्ञापन भएको वेबसाइट पनि हेरेँँ। यस्ता दर्जनौं विज्ञापन देखिए, जहाँ ‘वयस्क सम्बन्ध’का बदलामा कोठा दिन सक्ने बताइएको थियो। यस्तो विज्ञापनको जालो पूरै बेलायतमा फैलिसकेको थियो। ब्रिटेनदेखि एडिनबरासम्म, ठूलो शहरदेखि सानो शहरसम्म।

मैले यस्ता विज्ञापनप्रति चासो प्रकट गर्न के थालेकी थिएँ, केही मिनेटमै एक जवाफ आयो। जहाँ स्पष्ट रुपमा यौनको संकेत थियो। एउटा घरमालिकले तुरुन्तै मेरो शरीर र ब्राको साइज सोध्यो।
अर्को व्यक्तिले पनि भन्यो, ‘जबसम्म तिमी हाम्रो यो वयस्क सम्बन्धका लागि राजी हुँदिनौ, तबसम्म हामी ह्वाट्सएपमा कुरा जारी राख्न सक्छौं।’

मैले यस क्रममा कति घरभेटीसँग कुरा मिलाउने समय लिएँ। म चकित परेँ, जोसँग भेटिरहेकी थिएँ, उनीहरु विभिन्न उमेर र फरक–फरक पृष्ठभूमिका थिए।

एक व्यक्ति केवल २४ वर्षको थियो। दोस्रो आफ्नी छोरीको कोठा दिन तयार थियो। उसकी छोरी विश्वविद्यालय पढिरहेकी थिई।

तेस्रोले बतायो, ‘तिमी मेरो त्यो क्याबिनमा बस्न सक्छौ।’ क्याबिन उसको घरको पछाडिको बगैंचामा थियो। बसे वापतको सर्त ‘उही’ थियो। यस्तो प्रस्ताव राख्नेहरुमध्ये धेरैजसो पुरुष एक्लै बस्नेहरु थिए।

मैले यस्तै एक जना केटा भेटेकी थिएँ, उसको उमेर करिब २४ वर्षको थियो। ऊ हरेक दुई दिनमा यौन सम्पर्क वा यस्तै केही गर्न चाहन्थ्यो। तर, यौनमा हुने भावनात्मक कुरासँग उसको कुनै सरोकार थिएन। उसले भन्यो, ‘म यसलाई व्यापारिक सम्झौताको रुपमा मात्र लिइरहेको छु।’

मैले यी मान्छेहरुका अगाडि आफूलाई एक लाचार केटीका रुपमा पेश गरिरहेकी थिएँ, जोसँग बस्नका लागि कुनै ठाउँ थिएन। यस क्रममा घरबेटीहरु निर्लज्ज तरिकाले ‘यौन सम्पर्क गर्न दिए बस्ने ठाउँ दिन्छु’ भनिरहेका थिए। ओहो ! उनीहरु कति सहज रुपमा एक भाडावाललाई आफूसँग सुत्न प्रस्ताव राखिरहेका थिए।

डरलाग्दो यथार्थ त यस्तो थियो, तीमध्ये धेरैमा आफूले केही गलत गरिरहेको छु भन्ने कुराको महसुससम्म पनि थिएन। उनीहरु ‘यौनका बदला कोठा भाडामा’ लगाउने विज्ञापन अवैध हुनसक्छ भन्ने कुराको पनि ख्याल गरिरहेका थिएनन्।

जब मैले बिबिसी थ्रीको यस खोजीबारे उनीहरुलाई इमेल लेखेर पठाएँ, केवल दुई जनाले जवाफ फर्काए।

एकले राजीखुसीले यौनका लागि सहमत गराउन खोजेको बताउँदै कुनै गल्ती नगरेको दाबी गरेका थिए। दोस्रोले चाहिँ केवल घरमा सँगै बसौं भनेको बतायो।

तर यथार्थ यही हो, जो केटीहरु यी विज्ञापनको जालमा परिरहेका छन्, उनीहरुको हालत खराब छ। उनीहरुसँग कहाँ रहने–बस्ने भन्ने ठेगान छैन।

मैले त्यस्तै एक केटी भेटेकी थिएँ, जो कोठाको भाडा यौन सम्बन्ध राखेर चुकाइरहेकी थिई। ऊ केवल २० वर्षकी थिई। ऊ त्यो घरमा जानु अगाडिसम्म उसलाई आफूले गरेको सौदावाजी ठीक थियो कि थिएन भन्ने कुराको महसुस नै भएको थिएन।

उसले त्यो व्यक्तिलाई सुरुमा भनी, ‘म यौन सम्बन्ध राख्न सक्दिनँ।’ तर, घरबेटीले मान्नेवाला थिएन। त्यहाँबाट निस्केपछि बेघर हुनुपर्ने डरले ऊ लामो समयसम्म त्यही घरमालिकसँग बसी।
त्यो घरमालिकसँग मैले सोध्दा उसले भनेको थियो, ‘जबसम्म त्यो केटी मसँग बसी, बेखुसी थिइन।’

मेरो यस्तै एक अधबैंसे पुरुषसँग पनि भेट भएको थियो, जो भाडाको बदला यौन चाहिरहेको थियो। ऊ एउटा फल्याटमा एक्लै बस्थ्यो। जब म त्यहाँ पुगेँ, ऊ रिसाउँदै बाहिर निस्कियो। तर, ऊ कुराकानीका लागि भने राजी भयो।

उसको भनाइ थियो, ‘म केवल साथी खोजिरहेको छु। यो यौनका लागि मात्रै होइन।’ आफूले गलत गरिरहेको महसुस नगरेको उसले बतायो।

यस्ता व्यक्तिसँग बसिरहेकी महिलाहरु बेघर हुने डरले यौन सम्बन्ध राख्न बाध्य छन्। यस्ता महिला त्यसका लागि राजी भए खुसी भने पक्कै छैनन्।

मैले यो कुरा ती अधबैंसेलाई सम्झाउने कोसिस गरेँ। उसले भन्यो, ‘मलाई यो सहमतिको एउटा राज हुन सक्छ भनेर थाहा छ।’

मैले यो डकुमेन्ट्री बनाउने क्रममा भेटेका घरमालिकहरुमध्ये कसैले पनि आफूले गलत गरिरहेको महसुस गरेका थिएनन्। बरु उनीहरुको प्रश्न हुन्थ्यो, ‘त्यसमा गलत चाहिँ के छ?’

गरिबीका विरुद्ध काम गर्ने र भाडावालहरुको संगठन ‘एकर्न’की एलेन मोरान यसलाई यसरी अर्थ्याउँछिन्, ‘हाम्रो समाजमा कति मान्छे यस्तो ठान्छन्, मन परेको कुरा पाउन कमजोरमाथि शक्तिको प्रयोग गर्नु जायज हो। कसैले यसमा प्रश्न उठाउन सक्दैन।’

एलेन अगाडि भन्छिन्, ‘ती व्यक्तिहरुलाई थाहा छ, नियमनकारी निकायले यसलाई बेवास्ता गरिदिन्छ।’

एलेनको संगठनले भाडाका बदलामा यौन चुकाउनुपर्ने कुरालाई गैरकानुनी बनाउन अभियान चलाउँदै आएको छ।

उनको माग छ, ‘दास प्रथामाथि प्रतिबन्ध लगाउने कानुनको दायरामा यसलाई ल्याउनुपर्छ।’

सरकारले पनि भाडाका बदलामा यौन एक प्रकारको अपराध रहेको सार्वजनिक रुपमा घोषणा गर्नुपर्ने उनी बताउँछिन्।

विविसी हिन्दी

प्रतिक्रिया दिनुहोस्