कांग्रेस संसदीय दलको उम्मेदवार बन्न ४१ हजार धरौटी



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्न ४१ हजार रुपैयाँ धरौटी तोकिएको छ ।

संसदीय दलको निर्वाचनमा उम्मेदवार बन्न ४१ हजार रुपैयाँ धरौटी तोकिएको हो । निर्वाचन समितिले निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

कार्यतालिका अनुसार फागुन २० गते दिउँसो साढे ४ बजे मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन नामावलीमा नाम छुट भएको वा नामावलीमाथि दाबीविरोध वा नाम सच्याउन ५ बजेसम्मको समय तोकिएको छ भने साढे ५ बजे अन्तिम नामावली प्रकाशित हुनेछ ।

यस्तै, साँझ ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीका लागि दरखास्त दिन सकिनेछ । लगत्तै पौने ८ बजे उम्मेदवारहरूको प्रथमपटक नाम सार्वजनिक हुने छ भने ८ बजेसम्म उम्मेदवारको नाममाथि दाबी विरोध गर्ने समय तोकिएको छ ।

सोही दिन सवा ८ बजे जाँचबुझपछि उम्मेदवारको नाम दोस्रोपटक सार्वजनिक हुनेछ भने २१ गते बिहान सवा ८ बजेसम्म उम्मेदवारको नाम फिर्ताको समय तोकिएको छ । यसैगरी, उम्मेदवारको अन्तिम नाम २१ गते साढे ८ बजे प्रकाशित हुनेछ भने सोही दिन १० बजेबाट १ बजेसम्म मतदान हुनेछ ।

दलको नेता चयनका लागि कांग्रेसले नेता चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङदेम्बे र नविन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित ६३ सांसदले दलको नेताका लागि मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्