सुन्दरबजारमा दोहोरीको रन्को



लमजुङ, (नेस)। लमजुङमा जारी आठौं सुन्दरबजार महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, दोहोरी गीत प्रतियोगिता तथा माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगिताले दर्शकलाई आकर्षित गरिरहेको छ।
महोत्सवका क्रममा गायक राजु गुरुङले झण्डै दर्जन गीत गाएर मनोरञ्जन मात्र दिएनन्, स्टेजदेखि दशर्कदीर्घासम्मलाई नचाए। राजुले नेपाल आइडलमा प्रशान्त तामाङले गाएको सालैजोदेखि तिते करेलीले गाएर मञ्चमा रहेको अतिथिदेखि दर्शकलाई नचाए। मञ्चबाट बिदा हुँदै गर्दा दर्शकदीर्घाबाट वान्स मोर, वान्स मोरको ध्वनि गुञ्जायमान भएपछि उनले फेरि आफू २०६१ सालमा गायकको रूपमा स्थापित हुन सफल रहेको गीत फूलको थुंगा, फेवा तालमा डुंगासहितका गीत गाएका थिए।

यसै गरी, लोक गायक प्रकाश दूतराजले जाम माया लमजुङको बजार, खाम्ला माया सुन्तला किनेर, लाम्ला माया मनले चिनेरसहितका गीतबाट दर्शकलाई नचाए। महोत्सवका अवसरमा आयोजना गरिएको माविस्तरीय नृत्य प्रतियोगितामा आएका नृत्य पनि आकर्षणको उत्तिकै केन्द्र बनेका छन्। महोत्सवको अर्को आकर्षण खुला दोहोरी गीत प्रतियोगिता रहेको छ। दोहोरीमा सटिक सवाल जवाफ, टुक्का वा अन्त्यानुप्रास मिले, नमिलेको तथा सुरतालको प्रस्तुति आदिका आधारमा मूल्यांकन गरिएको निर्णायक कृष्ण गुरुङले बताए। प्रतियोगितामा कुल १३ टिमले भाग लिएका छन्। प्रतियोगितामा पहिलो हुने टिमलाई ५० हजार नगद पुरस्कार दिइने भएको छ। यसै गरी, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, सान्त्वनालाई १० हजार प्रदान गरिने प्रतियोगिताको उपसमिति संयोजक रोशन परियारले बताए।

प्रतिक्रिया दिनुहोस्