निर्देशक दाहालले ल्याए कवितामा शब्द संग्राम



फिल्मी गीत लेख्दै आएका निर्देशक तथा फिल्म लेखक दयाराम दाहालले कविता संग्रह सार्वजनिक गरेका छन्। फिल्म लेखक तथा निर्देशक दाहालले शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच आफूद्वारा रचित कविताहरूको संग्रह शब्द संग्राम सार्वजनिक गरेका हुन्। उनको कवितात्मक शब्द संग्रामको विमोचन प्रमुख अतिथि रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशी, गीतकार तथा फिल्म निर्देशक यादव खरेल, साहित्यकार रोचक घिमिरे र अभिनेता निखिल उप्रेतीले संयुक्तरूपमा गरेका थिए।

‘नेपाली चलचित्र क्षेत्रको एक गह्रौं नाम हो–दयाराम दाहाल। थुप्रै राम्रा चलचित्र बनाउनुभएको छ, अहिले देश, जनता अझ विशेषगरी राजनीति गर्ने मानिसहरूका लागि कविता संग्रह शब्द संग्राम प्रकाशित गर्नुभएको अनुभूति गरेको छु –कार्यक्रममा मन्त्री पोखरेलले भन्नुभयो।

डिकुरा पब्लिकेसनद्वारा प्रकाशित शब्द संग्राममा निर्देशक तथा लेखक दाहालले आफ्नो फिल्म करियरको शुरुआती कालखण्डदेखि वर्तमान अवस्थासम्मका विषयलाई समेटेका छन्। १ सय ६० पृष्ठको संग्रहको मूल्य २ सय ९९ रुपियाँ तोकिएको छ। कविता संग्रह पाठकहरूले पढ्नैपर्ने साहित्यकारद्वय रोचक घिमिरे र डा. कृष्णहरि बरालले चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्