“साहित्यको समाजसित घनिष्ट सम्बन्ध छ”



मोहनविक्रम सिंह नेपालको कम्युनिष्ट आन्दोलनका एउटा चर्चित अनुहार हुन्। जसले जीवनभरजसो कम्युनिस्ट कहलिइरहन मन गरे। ८२ वर्ष नाघिसकेका यिनी अहिलेको परिप्रेक्ष्यमा सबभन्दा वरिष्ठ ज्येष्ठ नेता हुन्। यिनी साहित्य पनि लेख्छन्। साहित्यमा यिनले समीक्षा, निबन्ध, नाटक, कथा, उपन्यास, कविता, टिप्पणी, भूमिका, अनुवाद सबै विधामा लेख्न भ्याएका छन्। प्रस्तुत छ– यिनै राजनीतिज्ञ मोहनविक्रमले साहित्य सम्बन्धमा पृष्ठसंयोजक मोहन दुवालसँग पोखेका साहित्यिक दृष्टिकोणहरु।

हाल तपाईं के लेख्दै हुनुहुन्छ ?

का. जलजला उपन्यास र भूमिगत आत्मकथा लेख्ने काममा लागेको छु।
प्रत्येक स्रष्टाको साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नै किसिमको दृष्टिकोण हुन्छ। तपाईंको

दृष्टिकोण के हो ?
साहित्यको समाजसित घनिष्ट सम्बन्ध छ र साहित्य समाजकै एक अङ्ग हो। समाज जति उन्नत र सुखी हुन्छ, त्यति नै सबै मानिसको जीवन पनि समृद्ध र सम्पन्न हुन सक्छ। तर समाजमा भएका अन्याय, अत्याचार, शोषण, उत्पीडनका कारणले समाजको उन्नतिमा बाधा पुगेको छ भने आमरुपमा जीवन कष्टप्रद बनेको छ। साहित्यको उद्देश्य समाजको यो अवस्थालाई बदल्नु हुन्छ र बदल्नुपर्दछ। त्यसका लागि समाजको विद्यमान स्वरुपमा नै परिवर्तन गर्नुपर्दछ। साहित्यको मुख्य उद्देश्य त्यही हुनुपर्दछ। कुनै स्रष्टा वा साहित्यको मूल्याङ्कन पनि त्यही आधारमा गरिनुपर्दछ।

तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ?
माथि जे भनियो, त्यसको आधारमा नै कुनै लेखक उत्कृष्ट हो वा होइन ? त्यो कुराको मूल्याङ्कन गरिनुपर्दछ। तर त्यो मात्र पर्याप्त छैन, साहित्यको निर्माणमा कला र सौन्दर्य पक्षले पनि महत्व राख्दछ। त्यसको अभावमा साहित्य वास्तवमा साहित्य हुँदैन।

तपाई आफू कुन–कुन साहित्यकार, चिन्तकहरुबाट प्रभावित हुनुहुन्छ ?
प्रारम्भमा म प्रेमचन्दको साहित्यबाट प्रभावित भएँ। त्यसपछि लियो टालस्टाय र म्याक्सिम गोर्कीको साहित्यबाट बढी प्रभावित भएको छु। जहाँसम्म चिन्तकहरुको प्रश्न छ, माक्र्स, ऐंगेल्स, लेनिनहरुको चिन्तनबाट नै म बढी प्रभावित भएको छु।

तपाईंको लेखकीय जीवनको शुरुवात कसरी भयो र साहित्यिक यात्रा कुन विधाबाट शुरु भयो ?
धर्मराज थापाको सङ्गतले सर्वप्रथम मलाई साहित्यप्रति आकर्षित गर्यो। उहाँले जहिले पनि मलाई जस्तो भए पनि केही न केही लेखिरहनुपर्दछ भन्नुहुन्थ्यो। उहाँले २००४ सालतिर मलाई ४ कक्षामा पढ्दा त्यस प्रकारको शिक्षा दिने गर्नुहुन्थ्यो। त्यसबाट मलाई लेख्नको लागि प्रेरणा प्राप्त भयो। २००९–१० सालतिर मैले धर्मराज थापाको डाँफेचरीमा काम गरेँ। त्यस सिलसिलामा विभिन्न स्थानहरुमा लोकगीतहरुको सङ्कलनका लागि गएँ। त्यसरी लोकगीतहरुको जुन मैले सङ्कलन गरें त्यस सम्बन्धी एउटा लामो पत्र मैले थापाजीलाई पठाएको थिएँ। त्यो पत्र धेरै नै पहिले डाँफेचरीमा प्रकाशित भएको थियो। त्यो अङ्क अहिले उपलब्ध छैन। तर त्यो पत्र ऋतु पत्रिका अङ्क १, २०५३ मा पुनः प्रकाशित भएको थियो। जहाँतक सर्वप्रथम प्रकाशित रचनाको प्रश्न छ, २०११ सालमा प्रकाशित प्युठानको किसान समस्या र किसान संघर्ष नै मेरो पहिलो प्रकाशित रचना हो। त्योभन्दा पहिले गोर्खापत्र र शान्ति निकुञ्ज विद्यालयद्वारा प्रकाशित आँखामा पनि मेरा केही लेखहरु प्रकाशित भएका थिए। अहिले ती कुनै पनि उपलब्ध छैनन्।

कुन विधाको लेखनमा तपाईं सन्तुष्ट हुनुहुन्छ ?
खास गरेर उपन्यास र निबन्धको क्षेत्रमा नै मलाई बढी सन्तुष्टि प्राप्त हुन्छ।

साहित्यकारको रुपमा तपाईंको सही मूल्याङ्कन भएको छ कि छैन ?
त्रिभुवन युनिभर्सिटीका स्नातकोत्तरका शोधपत्रहरुमा कतिपय छात्रहरुले मेरो साहित्यबारे केही प्रकाश हालेका छन्। समग्ररुपमा विचार गर्दा मेरो साहित्यिक पक्षको कुनै मूल्याङ्कन भएजस्तो मलाई लाग्दैन।

साहित्य र राजनीतिमा तपाईं कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
यी दुवै पक्षको एक–अर्कासित घनिष्ट सम्बन्ध छ र दुवैले एक–अर्कालाई मद्दत पुर्याउँछन्।
तपाईंको राजनीतिक जीवन यात्राबारे बताइदिनुहोस् न।

२००७ सालको राणाविरोधी सशस्त्र सङ्घर्षका साथै मैले आफ्नो राजनीतिक जीवन शुरु गरें। २००८ सालमा मैले नेकाबाट राजीनामा दिएँ र २०१० सालमा कम्युनिस्ट पार्टीमा प्रवेश गरें। त्यसपछि करिब साढे ६ दशकको मेरो राजनीतिक जीवन पूरै नै पार्टी जीवन हो।

एक सफल लेखक हुन के–के गुणहरु आवश्यक होला ?
त्यसका लागि सर्वप्रथम त अध्ययनको नै आवश्यकता पर्दछ। अध्ययनको अर्थ हुन्छ समाज र विश्वलाई विस्तृत रुपमा बुझ्नु। त्यसका साथै हामीले समाजका सबै भावनात्मक र व्यावहारिक पक्षलाई पनि आत्मसात् गर्दै जानुपर्दछ। कुनै व्यक्तिको आफ्नो चिन्तन, भावनात्मक पक्ष, दृष्टिकोणले पनि साहित्यको स्तर, स्वरुप र दिशा निर्धारित गर्न महत्वपूर्ण भूमिका खेल्छ।

लेखक स्वतन्त्र हुनुपर्छ, यस भनाइप्रति तपाईंको अभिमत के छ ?
लेखक स्वतन्त्र हुनुपर्दछ भन्ने कुरालाई हामीले निरपेक्षरुपमा बुझ्नुहुँदैन। समाज, समाजमा चल्ने सबै गतिविधि, अन्तरद्वन्द्व, विचार, व्यवस्था आदिबाट हामी कहिल्यै पनि अलग वा स्वतन्त्र हुन सक्दैनौं। प्रत्येक लेखकको विषयमा हेर्ने हो भने ऊ समाजको कुनै न कुनै पक्षद्वारा प्रभावित भएको हुन्छ। तर त्यस प्रकारको प्रभावलाई जस्ताको तस्तै अन्धानुकरण नगरेर त्यसलाई सृजनात्मकरुपले व्यक्त गर्नुपर्दछ। तर त्यो अवस्थामा पनि ऊ कैयौं सीमाहरुद्वारा नियन्त्रित भएको हुन्छ। लेखकको स्वतन्त्रतालाई हामीले त्यस सापेक्ष अर्थमा बुझ्नुपर्दछ।

तपाई वरिष्ठ राजनीतिज्ञ पनि हुनुहुन्छ। राष्ट्रमा साहित्यको गहनता र आवश्यकताको व्याख्या गर्दा तपाईं आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ ?
मैले माथि नै भनिसकें कि साहित्य र राजनीतिको घनिष्ट सम्बन्ध हुन्छ। ती दुवैले एक–अर्कालाई मद्दत पुर्याएका हुन्छन्। त्यही कुरा मेरो जीवनका राजनीतिक र साहित्यिक पक्षहरुबारे पनि सत्य हो। मेरो राजनीतिक जीवन, चिन्तन वा सङ्घर्षहरुले साहित्यलाई दिशानिर्देशन गर्दछन् भने साहित्यले राजनीतिक पक्षलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएको हुन्छ। मैले यी दुवै पक्षलाई कहिल्यै पनि एक–अर्काबाट अलग राखेर सोच्ने गर्दिनँ।

नेपाल प्रज्ञा प्रतिष्ठान लेखक–कलाकारहरुको स्वतन्त्र प्रतिष्ठान हुनुपर्नेमा तपाईंको टिप्पणी के छ ?
नेपाल प्रज्ञा प्रतिष्ठान सरकारको नियन्त्रणबाट जति स्वतन्त्र हुन्छ, त्यति नै त्यसले साहित्यको विकासमा बढी योगदान दिन सक्नेछ र त्यो देशका सबै साहित्यकारहरुको साझा संस्था बन्न सक्नेछ।

लेखकीय जीवनबाट निराश त हुनुभएको छैन ?
म राजनीतिक र साहित्यिक जीवनमा समेत कहिल्यै पनि निराश हुने गरेको छैन। मैले सधैँ आफूभित्र अगाडि बढ्नका लागि असीम ऊर्जा र शक्ति अनुभव गरिरहेको हुन्छु। विभिन्न प्रकारका कठिनाइ पैदा हुन्छन्। तर तिनीहरुका विरुद्ध संघर्ष गर्दा मैले आफूमा झन् बढी उत्साह प्राप्त गर्ने गर्दछु।

अजाकलको दिनचर्या कस्तो छ ?
विद्यार्थीकालदेखि नै मेरो सबेरै उठ्ने र लेखपढ गर्ने बानी पर्यो। यो मेरो जीवनको संस्कार नै बनिसकेको छ। म बिहान ३–४ बजे नै उठेर १०–११ बजेसम्म लेख्ने काममा लाग्छु। दिउँसोको समय पार्टीसित सम्बन्धित वा अन्य विभिन्न कामहरुमा लाग्छु। दिनमा डेढ–दुई घन्टा योग, ध्यान वा सामान्य कसरतमा बिताउने गर्दछु। साँझपछि भने म कुनै गम्भीर प्रकारको अध्ययन गर्ने वा लेख्ने काममा लाग्दिनँ। त्यो समय आराम वा मनोरञ्जनमा बिताउने कोशिश गर्छु। तर यात्रा वा अन्य काममा भने आवश्यकताअनुसार मेरो दिनचर्यामा परिवर्तन पनि हुने गर्दछ।

तपाईंका व्यक्तिगत र साहित्यिक जीवनका तीता–मीठा अविस्मरणीय क्षणहरु छन् कि ?
साहित्यिक जीवनको अप्रिय र अहिलेसम्म मैले भुल्न नसकेको घटना हो– २०१८ सालदेखि चार वर्षसम्म मैले लेखेको उपन्यास हराउनु। जेलमा बस्दा मैले करिब दिनको १०–१२ घन्टाको समय त्यो उपन्यास लेख्ने काममा लगाउँथे। त्यो उपन्यास पूरा पनि भएको थियो। कपिलवस्तु जेलबाट भैरहवा जेलमा चलान हुँदा पुलिसले उपन्यासको त्यो कपी जफत गर्लान् भन्ने आशंकाले मैले त्यसको पाण्डुलिपि कपिलवस्तुको एकजना साथीलाई राख्न दिएँ। म जेलबाट छुटेर आउँदासम्म उहाँको मृत्यु भइसकेको थियो। कति कोशिश गर्दा पनि मेरो त्यो उपन्यासको पाण्डुलिपि प्राप्त हुन सकेन। साहित्यिक जीवनको त्यो नै मेरो सबैभन्दा पीडादायक घटना हो।

त्यो उपन्यासमा खास गरेर राणा शासनभन्दा पहिलेको ओखरकोटको सामाजिक जीवनको चित्रण गरिएको थियो। त्यसबाहेक मैले २०१२ सालमा पाल्पा जेलमा लेखेका २ वटा उपन्यासहरु बुढा बा, झिलिमिली र करिब सयवटा जति कथाहरु पाल्पाका एकजना व्यापारीलाई राख्न दिएको थिएँ। तर ती पनि सबै हराए। त्यो बेलाका दुईवटा कथाहरु मात्र मसित बचेका छन्। यसै गरी बनारसमा छँदा मैले एउटा उपन्यास लेखेको थिएँ– तारा। त्यो पनि हरायो। जेलमा बस्दा मैले अर्को एउटा उपन्यास लेखेको थिएँ फागुन २४ गते। त्यो पनि हरायो।

त्यो उपन्यास २०१० सालमा प्युठानमा चलेको किसान आन्दोलनसित सम्बन्धित थियो। त्यो उपन्यास त हरायो, तर त्यही विषयवस्तुसित सम्बन्धित एउटा नाटक फागुन २४ गते अहिले दुई नाटक, दुई एकांकी नाममा प्रकाशित भएको छ। त्यो नाटकका आधारमा रक्तिमका साथीहरुले एउटा चलचित्रको निर्माण पनि गर्नुभएको छ। तर यी सबै कुराले मलाई केही पीडा दिए पनि कपिलवस्तुको जेलमा बस्दा लेखिएको उपन्यास हराउनु मेरो लागि सबैभन्दा बढी पीडाको कुरा हो।

भविष्यमा तपाईंको के योजना छ ?
भविष्यका मेरा योजना धेरै छन्। तत्काल त मैले का. जलजला उपन्यासलाई पूरा गर्ने कोशिश गरिरहेको छु, जसलाई मैले करिब १५ वर्ष अघिदेखि लेख्ने काम गरिरहेको छु। त्यसका करिब ११५ परिच्छेदहरु पूरा भइसकेका छन् र करिब १० परिच्छेदहरु लेख्न बाँकी छन्। मेरो आत्मकथा भूमिगतका खाली ५ वटाजति परिच्छेद मात्र मैले लेखेको छु। धेरै लेख्न बाँकी नै छन्। अहिले मैले अंग्रेजीमा ‘ओखरकोट ः माई ड्रिम ल्यान्ड’ लेख्ने काम गरिरहेको छु। त्यो एउटा काल्पनिक उपन्यास हो, जसमा मैले सयवर्ष पछिको ओखरकोटको चित्रण गर्ने प्रयत्न गरेको छु। राजनीतिक क्षेत्रमा मेरा लेख्ने कैयौं योजनाहरु छन्। तर पार्टीका कामहरुको व्यस्तताले गर्दा मैले ती सबै कामलाई नियमितरुपले अगाडि बढाउन सकिरहेको छैन।

तपाईंको कुनै खास अम्मल छ कि ?
रक्सी र धूमपानको जन्मेदेखि नै मैले कहिल्यै अम्मल गरिनँ। मेरा पिताजीको कडा अनुशासनले गर्दा सानो छँदा मलाई त्यस्तो अम्मल लागेन। पछि स्वास्थ्यबारे बढी सतर्क हुन थालें। त्यसले गर्दा म सबै अम्मलहरुबाट बच्न सकें।

तपाईंको चाख कस्तो किसिमको छ ? खासगरी खानपिन र साथीसङ्गती सम्बन्धमा।
मेरो खानपिन सामान्य प्रकारको नै हुन्छ। करिब २० वर्षदेखि मधुमेहको रोग लागेको छ। त्यसले गर्दा मैले खानपिनमा झन् ध्यान दिनुपरेको छ। सामान्य भेटघाट, बैठक आदिमा बाहेक अन्य बेलामा साथीभाइसँग मेरो बढी सङ्गत हुने गर्दैन। खास गरेर मेरो लेखपढमा बाधा नपुगोस् भनेर साथीभाइसित मैले अत्यन्त सङ्क्षिप्त र कम भेटघाट गर्ने गर्दछु।

ज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञज्ञ

प्रतिक्रिया दिनुहोस्