जेनिफरको जवाफ



ओस्कार एकेडेमी अवार्ड चुमिसकेकी हलिउड नायिका जेनिफर लरेन्सले आफूले सामाजिक सञ्जालमा सेयर गरेको फोटोको विषयमा भएको विवादप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

उनले सेयर गरेको फोटोमा उनी कालो लुगामा हट र बोल्ड देखिएकी छन्। मानिसहरूले निकै जाडौ मौसममा पनि उनले यस खालको फोटो खिचाएको भनेर मजाक बनाएका थिए। यस फोटोलाई कामुकता, हाँस्यास्पद र नारीवादको विषयलाई जोडेर मानिसहरूले ट्रोल गरिरहेका छन्।

तर जेनिफरले आफ्नो फेसबुक खाताबाट ती ट्रोलरहरूलाई कडा जवाफ दिएकी छन्। उनले आफ्नो फेसबुकमा लेखेकी छन्– ‘न यो लुगा हाँस्यास्पद छ, न कामुक, न त नारीवादी नै छ। मैले लाएको लुगा निकै शानदार थियो। तपाईंहरूलाई लागेको थियो होला कि म त्यो लुगालाई कोटले छोपेर लगाउँ वा घाँटीमा स्कार्फले बाँधेर लुगा छोपौं। म केवल पाँच मिनेटका लागि बाहिर निस्केकी थिएँ र फोटो खिच्नको लागि बरफमा उभिएकी थिएँ। किनभने मलाई फेसनसँग माया छ र मलाई यस्तै गर्न मन लाग्यो।’
उनले अगाडि लेखेकी छन्– ‘मैले के लगाउँछु र के गर्छु भन्ने कुराको टिप्पणी गरेर केही मानिसले विवाद खडा गरिरहेका छन्। तर यो राम्रो मुद्दाभन्दा पनि मूर्खतापूर्ण हो। तपाईंहरू मलाई जे लगाइरहेको देख्नुहुन्छ त्यो मेरो चाहना हो। यदि म चिसोमा निस्किएर फोटो लिन चाहन्छु भने त्यो मेरो मनपर्ने विषय नै हो।’

उक्त फोटोमा उनी चार जना पुरुषको बीचमा छन्। अन्य व्यक्तिहरूले कोट तथा ज्याकेट लगाएका छन्। भयानक चिसोको बाबजुद उनले यो फोटो सेयर गरेपछि उनलाई सामाजिक सञ्जालमा मजाकको विषय बनाइएको हो।

प्रतिक्रिया दिनुहोस्