लालबाबु भनेपछि….



अघिल्लो कार्यकालमा सामान्य प्रशासन मन्त्री भएर डीभी र पीआरधारी कर्मचारीलाई कानुनी कारबाही गर्न सफल भएका लालबाबु पण्डित अहिले जनसंख्या तथा वातावरण मन्त्री भएका छन्। उनको नाम सुन्नेबित्तिकै कर्मचारीले ठाडाठाडा कान लगाउने गरेका छन्।

मन्त्रालय सम्हालेको दुई साताभित्र नै वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकन सञ्चालन गरेको भन्दै ठूला होटलहरूलाई कारबाही गरेर जनताको मन जित्न सफल भएका छन्। अहिले राम्रो काम गर्नेलाई लालबाबु र नराम्रो काम गर्ने कर्मचारीलाई ‘त्राहीबाबु’का रुपमा लालबाबु देखिएका छन्। देशमा ठूलाठूला काम हुन नसकेका बेला लालबाबुहरूको जन्म हुनु पनि ठूलो कुरा नै भएको भन्दा नागरिकहरूमा आशा र अपेक्षा जागेको छ। लालबाबु मन्त्री बनेको छोटो समयमा नै कर्मचारीहरूमा ठूलो त्रास देखिएको छ।

मन्त्रालयमा आउने, रिपोर्ट बनाउने, विदेशीलाई बुझाउने अनि डलरमा भत्ता र विदेश घुम्न पल्किएका मन्त्रालयका कर्मचारीहरूको अहिले सात्तोपुल्लो गएको छ। लालबाबुले घोषणा गरेका छन्– ‘काम नगर्ने कर्मचारीमाथि अब डण्डा तेस्र्याइन्छ, काम ठग्नेहरूलाई दयामाया भन्ने कुरा हुँदैन, काम गर्ने पुरस्कृत हुन्छन्, काम नगर्नेहरू दण्डित हुन्छन्। कुरा यति हो।’

प्रतिक्रिया दिनुहोस्