सलमानको नेपाल भ्रमण स्थगित



नेपाल समाचारपत्र, काठमाडौँ ।

निक्कै नै तामझामका साथ प्रचार–प्रसार गरिएको सलमान खानको कार्यक्रम स्थगित हुने भएको छ । नेत्रविक्रम चन्द विप्लबको अखिल नेपाल जन सांस्किृतिक महासंघले यस कार्यक्रमको खारेज गर्न माग गर्दै विरोध गरेपछि सलमान खानले नेपाल नआउने निर्णय गरिएको नेपाल र भारतका मिडियाले उल्लेख गरेका छन् ।

नेपालमा माओवादीले विज्ञप्ति निकालेसँगै सलमानले नेपाल गएर कार्यक्रम गर्नु उचित नहुने कुरा हिजो शनिबार भारतमा प्रकाशित भएका हिन्दुस्तान दैनिकसहित धेरै अखबार र अनलाइनहरुले सुझावसहित समाचार प्रकाशित गरेका थिए । सलमान खानको ‘दबँग द टूर‘ नाममा १० मार्चमा काठमाडौंको टुँडिखेलमा कार्यक्रम हुने तय भएको थियो ।

उक्त कार्यक्रममा सलमानसँगै अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर प्रभु देवा, मनिष पल लगायत थुप्रै बलिउड कलाकारहरु उपपस्थित हुने आयोजक ओडीसी इन्टरनेसनलले बताएको थियो ।

नेपालका आयोजक ओडीसीले औपचारिक रुपमा यस कार्यक्रमबारे अहिलेसम्म केही नबोले पनि सलमान खान र उनको टीमले नआउने निर्णय गरिसकेका कारण अब यो कार्यक्रम नहुने निश्चित भएको छ ।

यसबाट सलमान खानका प्mयानहरु भने निराश हुने निश्चित छ । अखिल नेपाल जन साँस्कृतिक महासंघले नेपाली जनतालाई महँगो मूल्य तिराइ नेपाली कलाकारहरुलाई निरुत्साहित गर्ने यस कार्यक्रम सञ्चालन गरिए नराम्रो परिणाम भोग्नु पर्ने आयोजकलाई चेतावनी समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्