सबैलाई जोड्ने पर्व होली



रङहरुको पर्व अर्थात् होली। आम नेपालीले बुझ्ने शब्द ‘फागु हिन्दीमा ‘होली’ तराईमा ‘होरी’ तथा ‘फगुवा’, नेपालभाषामा ‘होली पुनी’ का रूपमा बुझिन्छ। समग्र शब्दको सार भने एउटै हो, होली पर्व। थरीथरीका रंग र पानी मिसाएर आ–आफ्नै शैली र ढंगमा खेलिने⁄मनाइने यो पर्वले मुलुकका बहुसंख्यक जाति, वर्ग र समुदायलाई समेट्छ। काठमाडौं उपत्यकासहितका पहाडी भेगमा आज बिहीबार फागुपूर्णिमाको दिनमा धुमधामसँग यो पर्व मनाइँदै छ भने भोलि तराईका जिल्लाहरुमा मनाइन्छ।


काठमाडौंसहितका शहरी क्षेत्रमा होलीभन्दा केही साताअघिदेखि नै यो पर्वको रौनक देखिन्छ। शहर बजारका पसल मात्र होइन, फुटपाथमा समेत होलीमा प्रयोग हुने रंग, पिचकारी, तथा टिर्सटको कारोबार फस्टाएको छ। ‘ह्याप्पी होली’, ‘आयो होली’ जस्ता शब्द र रंगीविरंगी अक्षरसहित होली झल्काउने नाइलन र कटनका ‘वाइट टिर्सट’ ले फागुपूर्णिमालाई एक साताअघिदेखि नै स्वागत गर्ने प्रचलन बढ्न थालेको छ।

अल्लारे उमेर समूहका मात्र होइन, टुकुटुकु हिँड्ने बच्चा र बच्चाका वयश्क बाआमा पनि छोराछोरीको वहानामा त्यस्तै टिर्सटमा देखिन्छन्। घरको छत र सडक निस्कन, मोबाइलमा सेल्फी हान्न व्यस्त देखिन्छन्। संस्कृतिविद्हरुले होलीको मौलिक पहिचान मासिन थालेको बताइरहेका बेला सेल्फीबिनाको होली नुनबिनाको सब्जीझैं बन्न थालेको छ। उपत्यका र अन्य शहर बजारका स्कुल, प्लस टु र कलेज होलीभन्दा एक⁄दुई दिनअघि नै होलिमय बन्ने प्रचलन नै शुरु भइसकेको धेरै भयो। त्यस्तै माहोल देखियो बुधबार उपत्यकाका अधिकांश कलेज र प्लस टुमा।

अनुहार मात्रै होइन, कलेज डे«समा पनि राम्रैसँग रंग र अबिरले पोतिएका छात्रछात्रा सडकमा धेरै देखिए, दिल खोलेर ‘होली इभ’ राम्रैसँग मनाए। कलंकीस्थित एडमार्क कलेजको स्नातक तहकी छात्रा सुष्मा लुइँटेल भन्छिन्– ‘कलेजका साथीहरुसँग होली मनाउँदाको रमाइलो छुट्टै हुन्छ, भोलि (बिहीबार) पनि जुनियर र सिनियर साथीहरुसँग वसन्तपुर पुगेर होली खेल्ने प्लान छ।’

असत्यमाथि सत्यको जित भएको खुसीयालीमा होली प्रचलन छ। एक–आपसमा सद्भाव, मेलमिलाप, खुसीयाली बाँढ्ने पर्वका रूपमा लिने गरिन्छ। काठमाडौंको वसन्तपुरमा फाल्गुन शुक्ल अष्टमी तिथिमा बाँसको लिंगो ठड्याई त्यसमा विभिन्न रङका कपडा छाताको आकारमा तीन तहमा सजाई पूजाआजा गरेपछि फागुपूर्णिमा शुरु हुन्छ। पूर्णिमाकै दिन साइत जुराएर उक्त चिर ढालेर विधिवत् पुजा–आजा गरेर जलाउने परम्परा छ। त्यति मात्रै होइन, सोहि चिर बालिन्छ, बालिएको चिरलाई टुँडिखेल पुर्याएर (भूतप्रेत भनिएका) गुरुमापालाई भात खुवाएपछि काठमाडौं र पहाडी भेगको होली एक वर्षका लागि अन्त्य भएको मानिन्छ।

चिर जलाउनु वर्ष दिनमा भएको द्वेष, घृणा, वैमनश्यता जस्ता पक्ष र प्रवृत्ति डढेर खरानी हुने जन विश्वास पनि छ। पौराणिक किम्वदन्तीअनुसार दानव हिरण्यकस्यपुले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रह्लादलाई मार्न धेरै किसिमका षड्यन्त्र गरेका थिए। हात्तीले कुल्चाउँदा, भीरबाट लडाउँदासमेत प्रह्लाद मरेनन्।

प्रह्लादलाई मार्ने अर्को षड्यन्त्र स्वरूप हिरण्यकस्यपुले बहिनी होलिकासँगै अग्निकुण्डमा पठाएका थिए। आगोले नजल्ने वरदान पाएकी होलिका अग्निकुण्डमा आगोमा जलेर मरिन् तर प्रह्लादलाई भने आगाको ज्वालाले छोएन। दुष्ट स्वभावकी होलिका त्यसरी आलोले भस्म भएर मरेको, असत्यमाथि सत्यको जित भएको खुसीयालीमा हरेक वर्ष यस्तो पर्व मनाइन्छ। होलिकाकै नामबाट होली पर्व मनाउन शुरु भएको संस्कृतिविद्हरु स्मरण गर्छन्। मुलुकमा राणा शासन सक्रिय रहेको बेला आसपाससम्म राणाहरुले आफ्ना सबै कर्मचारीलाई अबिर रङ बाँडेर होली खेल्न उत्साहित गर्ने प्रचलन भएको जानकारहरु बताउँछन्।

तर, त्यस्तो प्रचलनले प्रजातन्त्र प्राप्तिपछि भने निरन्तरता नपाएको संस्कृतिविद्हरुको भनाइ छ। नयाँ पुस्ताले निकै उत्साहका साथ होली पर्व मनाउने गरे पनि यस्तो किम्वदन्तीबारे भने अनविज्ञ रहेको नेपाल पञ्चा· निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्। ‘होलीको ऐतिहासिक पृष्ठभूमि र साँस्कृतिक पक्षबारे नयाँ पुस्ता जानकार हुनुपर्छ, अभिभावक र पुराना पुस्ताले आफ्ना सन्ततीलाई यस्तो पक्षबारे अवगत गराउनुपर्छ।’ –उनले भने।

फागुपूर्णिमाको भोलिपल्ट तराईमा मनाइने होलीको छुट्टै रौनक र मौलिकता छ। आफ्नै मौलिक पहिचान झल्काउने गीत–संगीतका साथ एक–आपसमा सद्भाव बाँढ्दै पूर्वदेखि पश्चिम तराईसम्म होली पर्व मनाइन्छ। विभिन्न किसिमका परिकार बनाउने, पूजा गर्ने, पूजाको प्रसाद टोल–छिमेकमा बाँढ्ने प्रचलन छ। नेपालसहित भारत र अन्य मुलुकमा पनि आ–आफ्नै शैलीमा यो पर्व मनाइन्छ। तर, काठमाडौंसहितका शहरी क्षेत्रमा भने होली मनाउने प्रचलन परम्परागतभन्दा आधुनिकतातर्फ धकेलिन थालेको छ।

नेपालकै मौलिक पहिचान झल्काउने, होलीबारेका गीत–संगितभन्दा बढी आधुनिक र पश्चिमा मुलुकका गीत–संगीतमा नाचगान र रमाइलो गर्ने प्रचलन बढेको छ। अपरिचित व्यक्ति र होली नमनाउने समुदायका बटुवालाई जबरजस्ती लोला हान्ने, अबिर लगाउने, फोहोर पानीले प्लास्टिकसहित प्रहार गर्ने विकृति पनि व्याप्त छ। तर, प्रहरीको सक्रियताका कारण पछिल्ला वर्षहरुमा यस्ता गतिविधिमा भने केही कमी आएको प्रहरी प्रशासनको दाबी छ। होलीको बहानामा खुलेआम मदिरा र अन्य लागूऔषध सेवन गर्ने तथा त्यस्ता वस्तुको कारोबार गर्नेमाथि निगरानी बढाइएको प्रहरीको भनाइ छ। होली पर्वका दिन ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेमाथि कडा कारबाही अघि बढाइने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्