रमपम झापा गोल्डकपको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा



उत्तम नेपाल, भद्रपुर । रमपम झापा गोल्डकपको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । गोल्डकपको तेस्रो संस्करणका विषयमा मंगलवार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो ।

मूल आयोजक समितिका अध्यक्ष महेन्द्र कुमार गिरीले तयारीको बारेमा जानकारी गराएका थिए । अध्यक्ष गिरीले झापालाई ‘फुटवलको हव’बनाउन लागिएको भन्दै कार्यक्रममा सहयोग पु¥याइदिन सबै स्थानीय निकायसहित उद्योगी व्यवसायी, खेलप्रेमी तथा नागरिक समाजका अगुवा समक्ष आग्रह गरेका छन् । उनले झापालाई फुटवल शहरको रुपमा विकास गर्दै फुटवल पर्यटकको माध्यमले झापाली माटोको सुगन्ध फैंलाउन समाजका विभिन्न वर्ग, तह र तप्काका जनशक्तिसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप अगामी फागुन १९ गतेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगितामा एक विदेशी टोलीसहित १० टिमले प्रस्तिपर्धा गर्ने भएका छन् । फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

प्रतियोगितामा भारतको सिक्किम युनाइटेड, रमपम झापा ११ फुटबल क्लब झापा, काठमाडौका थ्री स्टार क्लब ,मनाङ मस्यांदी क्लब,त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,सशस्त्र प्रहरी बल, सहारा क्लब पोखरा,रुपन्देही ११ फुटबल क्लब रुपन्देही र सुदूर पश्चिम ११ फुटबल क्लब कैलाली टोलीसहित १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष गिरीले जानकारी दिए ।

एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति समेत गठन गरिएको छ । प्रतियोगिताबाट एक करोड ५० लाख रुपैयाँ जम्मा गर्दै पचास लाख रुपैयाँ बचत गर्ने लक्ष्य लिएको अध्यक्ष गिरीले जानकारी दिए ।

प्रतियोगिता आयोजनाबाट बचेको रकम झापा ११ फुटबल क्लबको विकास र डोमालाल रंगशालाको प्यारापिट निर्माणमा खर्च गर्ने लक्ष्य लिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १२ लाख ५१ हजार रुपैयाँ, ट्रफी र उपबिजेताले नगद ६ लाख रुपैयाँ, ट्रफी प्राप्त गर्ने मूल आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए ।

त्यस्तै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई नगद २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गर्ने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने छ भने झापा ११का उत्कृष्ट खेलाडीले समेत एक थान मोटरसाइकल प्राप्त गर्ने र गेट टिकटमा उपहार कुपनको व्यवस्था गरि प्रत्येक दिन चिठठा मार्फत एक थान टेलिभिजन सेट प्रदान गरिने अध्यक्ष गिरीले बताए ।

झापा र झापामा फुटवल खेलको विकास र खेलाडीको भविष्य सुरक्षित गर्न क्लवका सबै खेलाडीलाई अनुबन्ध गर्न लागिएको गिरीले बताए । यस अघि झापा ११का दुई खेलाडी योगेश गुरुङ र देवेन्द्र तामाङलाई क्लवले दुई वर्षका लागि अनुबन्ध गरिसकेको र अन्य ५ जनाको पनि सम्झौता भइसकेकोले खेल उद्घाटनको दिन सार्वजानिक गर्ने उनले बताए । कार्यक्रमलाई प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राइले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्