माननीयज्यूहरू⁄ भविष्य उज्ज्वल छ ल



कैलालीको टीकापुर घटनाका मुख्य आरोपी भनिएका रेशमलाल चौधरीले अन्ततः सोमबार अदालतसामु आत्मसमर्पण गरे। अदालतको आदेशअनुसार जेल चलान भए। कैलाली घटनापछि फरार रहेका उनी केन्द्रको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं १ बाट भारी मतान्तरले निर्वाचित भएपछि झनै चर्चामा आएका हुन्।

उता कहिले अमेरिका कहिले भट्टेडाँडा त कहिले मलेसिया पुगेका भनिएका ललितपुर–१ बाट निर्वाचित सांसद नवराज सिलवाल ओली प्रधानमन्त्री भएको केही दिनमै एकाएक टुप्लुक्क बालुवाटारमा झुल्किए। अब फेरि कहिले बालुवाटारमा देखिने हुन् टुङ्गो छैन। मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे पनि अझै बेपत्ता छन्। कता छन् थाहा पत्तो छैन। बेपत्ता माननीयहरू सार्वजनिक हुने लहर चल्या बेला अब टुप्लुक्क देखिने पालो उनकै पो हो कि?

तर ‘डन्ट वरी’ बेपत्ता माननीयज्यूूहरू। माननीयहरू, तपाईंहरूको टिपन चिना खुलेआम रूपमा धरहरा बताउन सक्छ, भविष्यको हिरो तपाईंहरू नै हो।

फरार र बेपत्ता हुनु भनेको त राष्ट्रिय राजनीतिमा गतिलो बायोडाटा थपिनु हो। अहिले राष्ट्रिय राजनीतिमा छाएका अधिकांश माननीयहरू पनि त विगतमा बेपत्ता नै थिए नि। हेर्नाेस् त जताजतै उनीहरूकै हाई हाई छ।
विगतमा जो धेरै जेल पर्याथ्यो, बेपत्ता भाथ्यो, सरकारको ‘मोस्ट वान्टेड’ सूचीमा थियो, ऊ नै अहिले हिरो बन्या छ। आखिर सरकारको चलाउने चाबी कोसँग छ त भन्दा उनीहरूसँगै त रछ भन्ने धरहराको प्रस्ट देख्या छ।

प्रतिक्रिया दिनुहोस्