नेपाल वार्म अप खेलमा विजयी



नेपाल समाचारपत्र
काठमाडौं
आगामी मार्च ४ देखि शुरू हुने आईसीसी विश्वकप क्रिकेट क्वालिफायरमा सहभागिता जनाउन अगाडि खेलेको वार्म अप खेलमा नेपालले जित हात पारेको छ।

मंगलबार जिम्बावेको क्वेक्वेस्थित मैदानमा सम्पन्न खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हरायो। यो जितले आगामी विश्वकप क्वालिफायरमा खेल्न नेपाली खेलाडी तयार भएको स्पष्ट पारेको छ। साथै यूएईविरुद्ध विश्व क्रिकेट लिग डिभिजन २ मा फाइनलमा पराजयको पनि नेपालले बदला पूरा गरेको छ।

बलिङ र ब्याटिङ दुवैमा सन्तुलन मिल्नु नै नेपालको जित भएको हो।
नेपालले यूएईले छोडेको १ सय ७२ रनको लक्ष्य ४ बल बाँकी राखी ५ विकेटको क्षतिमा भेटाएको थियो। दुवै पक्षलाई निर्धारित २९⁄२९ ओभरमा खेल खेलाइएको थियो। नेपालको जितमा शरद् भेषवाकर र दीपेन्द्र सिंह ऐरीले ४१⁄४१ रनको योगदान दिए। नटआउट रहेका शरद्ले ५४ बलमा केवल एक छक्का प्रहार गर्न भ्याए। जबकि दीपेन्द्रले पहिलो पटक विदेशी भूमिमा राम्रो ब्याटिङ गरे। यसअघि डिभिजन २ मा चल्नै नसकेका दीपेन्द्रले विस्फोटक ब्याटिङमा ४ चौका र १ छक्का सामेल थिए।

यसअघि ३९ रनका लागि तीन महत्त्वपूर्ण विकेट गुमाएपछि कप्तान पारस खड्का र दीपेन्द्रले ३० रनको साझेदारी गरे। पारसले ३९ बलमा २८ रन जोडेर आउट हुँदा नेपाल जितबाट १ सय ३ रनको आवश्यक थियो। तर दीपेन्द्रलाई शरद्ले राम्रो साथ दिँदा पाँचौं विकेटका लागि यी दुई ब्याटसम्यानले ५७ रनको साझेदारी गर्दै जिततर्फ नेपाललाई अघि सारे। दीपेन्द्र आउट भएपछि शरद्लाई आरिफ शेखले साथ दिए। आरिफले डिभिजन २ को लयलाई निरन्तर राख्दै १५ बलमा २ चौका र १ छक्कासहित २३ रनको योगदान दिए। आरिफ र शरद्ले छैटौं विकेटका लागि अटुट ४६ रनको साझेदारी गरे।

बलिङमा ललितसिंह भण्डारी र करण केसी चम्केका थिए। ललितले आफ्नो ६ ओभरमा ४० रन दिएर चार विकेट लिएका थिए। उनले नेपालका लागि बलिङ भार सम्हाल्ने सक्ने संकेत गरेका छन्। त्यस्तै करणले ५ दशमलव ५ ओभरमा ३८ रन दिएर तीन विकेट झारेका थिए। त्यस्तै ललितनारायण राजवंशीले पनि २ विकेट लिएर नेपाली छनोटकर्ता सही भएको प्रमाणित गरे। एक विकेट पारसले लिएका थिए। यसपटक भने सन्दीप लामिछानेले ५ ओभर बलिङ गरे पनि विकेट हात पार्न सकेनन्।
नेपालको उही पुरानो रोग
नेपालको प्रारम्भिक ब्याटसम्यानले राम्रो शुरुआत अझै पनि दिन सकिरहेका छैनन्। पहिलेदेखि नै प्रारम्भिक जोडीमा विभिन्न ब्याटसम्यानलाई मौका दिँदै प्रयोग गर्दै आएको छ। तर पनि नेपालको शुरुआती ५० रन पनि कट्न सकिरहेको छैन। उही पुरानै रोगझै प्रारम्भिक ब्याटिङमा चलिरहेको छ। हिजो पनि यूएईविरुद्ध ज्ञानेन्द्र मल्ल र दिलीप नाथले शुरुआत गरे। तर उनीहरू ५ ओभर पनि टिक्न सकेनन्। दिलीप दोस्रो ओभरको दोस्रो बलमा अमिर हयातको एलबीडब्ल्यूको सिकार बने। उनले एक चौका प्रहार गर्दै ४ रनमा पवेलियनको बाटो लिए। यतिबेला नेपाल १६ रनमा थियो। ज्ञानेन्द्र ५ रन जोड्दा दिलीपकै बाटो पछ्याए। उनले १२ रन जोडे भने अनिलकुमार साह ११ रनमै आउट भएका थिए।

प्रतिक्रिया दिनुहोस्