म्यानचेस्टर सिटी लिग कप च्याम्पियन



लन्डन, (एजेन्सी)
आर्सेनलविरुद्ध एकतर्फीय जित निकालेर म्यानचेस्टर सिटी जारी सिजनको इंग्लिस लिग कप च्याम्पियन बनेको छ।

आर्सेनललाई ३–० गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले इंग्लिस लिग कपको उपाधि जितेको हो। मेनेजरका रूपमा पेप ग्वार्डिओलाले पहिलोपटक इंग्लिस क्लबलाई आफ्नो नेतृत्वमा उपाधि दिलाएका छन्। यसअघि स्पेन र जर्मनीमा सफल प्रशिक्षकका रूपमा काम गरिसकेका ग्वार्डिओलाले प्रिमियर लिगमा पनि सिटीलाई उपाधि यात्रातर्फ लम्काइरहेका छन्।

सन् २०१६ मा जर्मन क्लब वायर्न म्युनिख छाडेर इंग्ल्यान्ड पुगेयता उनी उपाधिविहीन थिए। २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षक रहँदा उनले टिमलाई कुल १४ वटा उपाधि दिलाएका थिए। यता सिटीको जारी सिजनमा यो पहिलो उपाधि हो। सिटी एफए कपबाट भने बाहिरिसकेको छ।

सिटीलाई उपाधि दिलाउन खेलको १८औं मिनेटमा सर्जियो अगुएरोले गोलको खाता खोलेका थिए। गोलरक्षक क्लाउडियो ब्राभोको मिलाइदिएको पासमा अगुएरोले आर्सेनलका गोलरक्षक डेभिड ओस्पिनालाई चिप गर्दै गरेको गोलसँगै पहिलो हाफसम्म सिटीलाई अग्रता दिलाएका थिए। यस्तै लामो समय घाइते रहेका कप्तान भिन्सेन्ट कोम्पानीले खेलको ५८औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे। खेलको ६५औं मिनेटमा डेभिड सिल्भाले तेस्रो गोल गर्दै सिटीको जित सुनिश्चित पारे।

प्रतिक्रिया दिनुहोस्