“एमाले र माओवादी केन्द्र कम्युनिस्ट पार्टी नै होइनन”



मोहन वैद्य
महासचिव, नेकपा (क्रान्तिकारी)

ने पालमा एउटै कम्युनिस्ट पार्टी निर्माणको बहस शुरू भएको धेरै भइसकेको छ। लामो समयपछि नेपालका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सात बुँदे सहमति भएको छ। शान्ति प्रक्रियामा आएपछि माआवादी टुक्रा–टुक्रामा विभाजित हुन पुग्यो। पटक–पटक फुट्ने र जुट्ने प्रक्रिया चलिरहेको छ। एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमतिलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ। नेपालमा कम्युनिस्टहरू जुट्ने र फुट्ने लामो शृंखला चल्दैआएको छ। कतिपय अवस्थामा विचार र सिद्धान्तलाई भन्दा पनि पद र प्रतिष्ठाका कारण पनि कम्युनिस्टहरू विभाजनको संघारमा पुग्ने गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सम्बन्ध विच्छेद गरेर नेकपा (क्रान्तिकारी) पार्टी निर्माण गर्नुभएका मोहन वैद्यले पनि पार्टी फुटको सामना गर्नुपर्यो।

वैद्यसँग असहमति राख्दै नेक्रविक्रम चन्द विप्लवले पार्टी विभाजन गरे। अहिले पुनः वैद्य र विप्लवको बीचमा पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढेको छ। एमाले र माओवादीबीच हुन लागेको पार्टी एकता, नेपालमा एउटै कम्युनिस्ट पार्टीको निर्माण, ओली नेतृत्वको सरकारप्रतिको दृष्टिकोणलगायतको विषयमा केन्द्रित रहेर नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्यसँग नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझी र प्रशान्त वलीले गरेको कुराकानीः

एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकतालाई कसरी हेर्नुभएको छ?

अब एकता प्रक्रियालाई मैले दुई वटा कोणबाट लिएको छु। एउटा लामो समयदेखि सँगसँगै काम गर्दैआएका साथीहरू विचलित भएर एमालेसँग पार्टी एकता गर्न पुग्नु भो। यो दुःखद् विषय हो। दोस्रो कुरा उहाँहरूको बीचमा अहिले मात्र होइन लामो समयदेखि नै सहकार्य चल्दै आएको हो। दुई पार्टीका बीचमा विचार मिलेपछि पार्टी एकता गर्नु त्यसलाई स्वभाविकै अर्थमा लिनुपर्छ।

दुई ठूला कम्युनिस्ट पार्टी मिल्ने तयारीमा छन्। तपाईंहरू पनि एउटै कम्युनिस्ट पार्टी बनाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ। अब एउटै कम्युनिस्ट पार्टी होला त नेपालमा?

एमाले र माओवादीलाई बाहिरबाट हेर्दा कम्युनिस्टजस्तो देखिन्छ। एमाले र माओवादी केन्द्रले नाम त कम्युनिस्ट राखेका छन्। तर उनीहरू कम्युनिस्ट होइनन्। उनीहरूले कम्युनिस्टको विचारधारा र राजनीतिक सबै छोडेर संसदीय व्यवस्थालाई नै स्वीकार गरेको अवस्था हो। हामी एमाले र माओवादी केन्द्रलाई कम्युनिस्ट पार्टी मान्दैनौं। हामीले सच्चा क्रान्तिकारी कम्युनिस्टहरूको भने एउटै केन्द्र बनाउने अभियानमा लागेका छौं। यसको लागि बहस र छलफल पनि चलिरहेको छ।

ओली र प्रचण्डको मिलनलाई कसरी लिनुभएको छ?

यो विचार मिल्नेहरूको मेल हो। उहाँहरूको बीचमा विचार मिल्यो। त्यसपछि एकताको लागि तयार हुनुभयो। तर यो मेललाई क्रान्तिकारी मेल, कम्युनिस्ट पार्टीको एकता, वामपन्थीहरूको एकता भन्ने पक्षमा हामी छैनौं। एमाले र माओवादी केन्द्रको एकता दक्षिणपन्थी गठबन्धन हो। उहाँहरू संसद्वादी शक्ति हो। उहाँहरू पुरानो राज्यसत्ताको संरक्षक हो। प्रचण्डजी र ओलीजीको पनि उस्तै विचार मिलेपछि पार्टी एकता स्वभाविकरूपमा लिनुपर्छ। ओलीजीको पनि झापा विद्र्रोहमा महत्त्वपूर्ण योगदान छ। झापा विद्रोहको ऐतिहासिक महत्त्वलाई पनि ओलीजीले तिलाञ्जली दिनुभो। यतापट्टि प्रचण्डजीले पनि दस वर्षे जनयुद्धको महत्त्वलाई तिलाञ्जली दिनुभो। अहिलेको पार्टी एकता तिलाञ्जली दिनेहरूको संगम मात्र हो।

तपार्इंले नेतृत्व गरेको पार्टी र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबीच एकता हुन लागेको हो?

एकता हुनै लागेको त नभनौं। हामीले प्रयास शुरू गरेका छौं। हाम्रो उद्देश्य वैचारिक राजनीतिकरूपमा कुराकानी गर्दै समान धारणा बनाएर एकतामा जानुपर्छ भन्ने मत छ। तर के हो भने उहाँहरूले कसरी सोचिरहनुभएको छ? वार्ता बहस गर्ने क्रममा विषयवस्तु कसरी प्रस्तुत हुन्छ। ठइक्कै एकता हुन्छ भन्ने विषयमा पनि चाही नसोचौं। तर क्रान्तिकारीहरूलाई एकताबद्ध गर्ने प्रक्रिया भने अगाडि बढ्छ।

फरक विचार राख्दै तपाईंसँग असहमति राख्दै विप्लव बाहिरिनु भएको थियो। अहिले एकताको आधार के हो?

मिल्ने कुराहरू भनेको मुलभूतरूपमा सैद्धान्तिक र राजनीतिक आधार हो। सैद्धान्तिकरूपमा माक्र्सवाद लेलिनवाद र माओवाद उहाँहरूले भन्दै आउनुभएको छ। यहाँ कुरा मिल्छ। माक्सर्वाद, लेलिनवाद र माओवाद प्रचण्डजीले पनि भन्नुहुन्छ, त्यो अलग कुरा हो। दोस्रो कुरा उहाँले नयाँ जनवाद र समाजवाद भन्नुहुन्छ। हामीले पनि नयाँ जनवादी क्रान्तिकै दिशामा जाने हो। फेरि सँगसँगै भएको पार्टी अलग भएपछि र मिल्नको लागि समय लाग्ने कुरा त स्वाभाविक नै हो। एकता के हुन्छ भन्ने कुरा विषय प्रवेश भएपछि मात्र थाहा हुन्छ।

विप्लवले अगाडि सार्नुभएको नयाँ जनवादी क्रान्तिको सम्भावना कत्तिको देख्नुहुन्छ ?

तत्कालै क्रान्ति हुन त गाह्रो छ। यसको निम्ति परिश्रम र फेरि तयारी गर्नुपर्छ। विगतका गल्ती कमी कमजोरी विश्वासघात सबै कुराको समीक्षा हुनु जरुरी छ। हामीले पनि आत्मसमीक्षा गर्नुपर्छ। निश्चित परिश्रम गरेपछि हामी नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी बाटोमा जान्छौं। यसको लागि समय र तयारीको आवश्यकता पर्छ। हामी किन सक्छौं भने राष्ट्रको समस्या राष्ट्रियता, जनजीविका र जनतन्त्रका समस्या हुन्। यो समस्याको समाधान अहिलेको संसद्वादी राजनीतिक दलहरूबाट हुन सक्दैन। अहिले वाम गठबन्धनको सरकार बनी पनि सक्यो। यसबाट अहिलेको समस्याको समाधान हुँदैन। यी समस्याको समाधान गर्नको लागि पनि हामी जनवादी क्रान्तिको बाटोमा अगाडि बढ्नैपर्छ।

विप्लव र तपाईंको बीचमा भोलि पार्टी एकता हुँदा सशस्त्र विद्रोहमा जाने सम्भावना हुन्छ कि हुँदैन?

अहिलेको अवस्थामा जनयुद्ध गर्ने सम्भावना त म देख्दै देख्दिनँ। विप्लवले अहिले जनयुद्ध नै गर्न थालेको भन्ने परेको छ। यो होइन भनेर बुझ्दा राम्रो हुन्छ।

माओवादी पार्टीभित्र विचार र सिद्धान्त मिल्ने तर पार्टी नमिल्ने शृंखला देखियो नि किन?
सामान्यरूपमा भन्दा यो कुरा ठीकै पनि हो। फुट्नेहरू दुई किसिमका छन्। एकाथरी विचार फरक भएकाले फुट्छन्। अर्काथरी पदको लागि पनि हुन सक्छ। प्रचण्डजी र बाबुरामजी नै हुँदा नै हामी विचार नमिलेर अलग भएका हौं। हामीले संसदीय व्यवस्था नमानौ भनेर स्पष्ट भनेका छौं। विचार नमिलेपछि अलग हुनु राम्रै कुरा हो। जहाँसम्म विचार मिल्ने पनि किन फुट्ने भन्ने गम्भीर कुरा हो। यो कुरा प्रचण्डजी र बाबुराजीको देखिएको कुरा हो। दुवै नेता संविधान जारी गर्न भूमिका खेल्नुभो।

संविधान जारी भएपछि मात्र बाबुराजी पार्टीबाट अलगिनुभो। यसको पुष्टि बाबुरामजीले अझै गर्न सक्नुभएको छैन। मलाई लाग्ने प्रचण्ड र बाबुरामजी मिल्नुपर्दथ्यो। विचारको हिसाबमा उहाँहरू मिल्नुपर्दथ्यो। विप्लवजीहरू फुटेर जानुभएको हो। उहाँहरू नजानुपर्ने हो। कतिपय अवस्थाको फुट भनेको विचारभन्दा पनि अरू–अरू कारणले हुने गर्छन्। हामीले नेपालमा जनयुद्ध सफल पारेर नयाँ जनवादी राज्य सत्ता ल्याउने र समाजवादमा जाने भनेको कुरा हो। तर प्रचण्डजी र नेतृत्वमा बस्नुभएका साथीहरूले त्यो विचार छोड्नुभो। हामीले सकिएन।

इमानदारितापूर्वक हामीले भन्ने हो भने दृढतापूर्वक संघर्ष गरेर अगाडि बढ्न सक्ने हाम्रो अवस्था भएन। सपना त बाँडेकै हो। ती सपना जिउँदै छन्। नेपाली जनताका समस्या त हल भएका छैनन्। हामीले ती सपना पूरा गर्ने बाटो छोडेका छैनौं। तर प्रचण्ड र बाबुरामजीले भने ती सपना देख्न छोड्नुभो।

माओवादीमा विभाजनका लामै शृंखला देखियो। माओवादी आन्दोलन कहाँ आएर चुक्यो?

माओवादी आन्दोलन लक्ष्य हासिल गर्ने अन्तिम अन्तिम बेलामा आइपुगेर चुक्यो। विजयको निकटै त नभनौं। तर झण्डै–झण्डै केन्द्रीय राज्यसत्ता लिने अवस्थामा जादाखेरी साथीहरूमा विचलन पैदा भयो। उहाँहरू धरमराउनु भो। उहाँहरूले नयाँ जनवाद भन्ने कुरा छोड्नुभो र लोकतान्त्रिक व्यवस्था अर्थात् संसदीय व्यवस्थालाई स्वीकार गर्नुभो। त्यो स्वीकार गरेलगत्तै वार्ता प्रक्रिया अगाडि बढिहाल्यो। त्यहाँ आएर क्रान्तिप्रति विश्वासघात र धोका भयो।

तर प्रचण्डले त तपार्इंहरूलाई पनि पार्टी एकतामा आउन आग्रह गर्नुभएको छ नि ?

विचारबाट विचलित भएकाहरूले भन्ने नै यही हो। जनयुद्ध शुरू हुँदा ‘रोमानिस्टजम’ हो भनेर भन्थे। चार दिनमा नै सकिन्छ भन्थे। आफूले नसक्ने भएपछि दोषारोपण त गर्नुपर्यो नि। एमाले र माओवादीबीच एकता भएर बन्ने पार्टी एकतामा जाने कुनै सम्भावना छैन।

विभाजित भएपछि कम्युनिस्टहरू किन तल्लोस्तरको गालीगलौचमा उत्रिन्छन्?

त्यो सबैमा हुन्छ। कम्युनिस्टहरूमा अली बढी ख्याल हुन्छ। धेरै टुट्फुट र विभाजित भएको हुनाले गालीगलौच हुने गर्छ। बढी गालीगलौच गर्ने प्रवृत्ति गलत हो। यस्तो संस्कार हटाउनुपर्छ। गाली गर्दा पनि राजनीतिक भाषामा शिष्टतापूर्वक असहमति राख्नु नै राम्रो मानिन्छ।

अब तपार्इंको पार्टीले लिने नीति के हो?

सबैभन्दा पहिला त नेपालमा हामीले नयाँ जनवादी क्रान्ति गर्ने भनेका थियौं। हाम्रो पार्टी जनवादी क्रान्ति सम्पन्न गर्ने काममा जुटेको छ। दोस्रो हामी अहिले संगठनात्मकरूपमा अली कमजोर अवस्थामा छौं। संगठनलाई बलियो बनाउनुपर्ने आवश्यकता छ। तेस्रो जनतालाई गोलबन्द गर्ने। चौथो सच्चा कम्युनिस्ट पार्टीहरूलाई गोलबन्द गर्ने त्यो दिशामा हामी दृढतापूर्वक लाग्छौं। पाँचौं अहिलेको राष्ट्रियता जनजीविकाको र जनतन्त्रको सवाललाई लिएर सम्भव हुने पार्टीहरूसँग कार्यगत एकता गरेर अगाडि बढ्छौं।

तपाईंको पार्टीले निर्वाचन बहिष्कार गर्ने र भाग लिने काम गर्नाले भ्रम सृजना भयो नि ?

कम्युनिस्टहरूले संसदीय चुनावलाई उपयोग गर्छन्। यो कार्यनीतिक विषय हो। आवश्यक पर्दा त्यसको उपयोग पनि गर्छौं। अर्को परिस्थितिमा त्यसको बहिष्कार पनि गर्छाैं। इतिहासको कुरा गर्ने हो पञ्चायतमा बहुदलको पनि उपयोग गरेको हो। जनयुद्ध शुरू गर्नुअघि २०४८ मा उपयोग गरेको हो। त्यसलगत्तै भएको मध्यावधी चुनाव बहिष्कार गरेको हो। हामीले उपयोग र बहिष्कार गर्ने हो। यसलाई सामान्य अर्थमा लिनुपर्छ।

धेरैले एमाले र माओवादीको एकताले राजनीतिक स्थायित्व हुने अर्थमा पनि लिएका छन्। अब त देशमा समृद्धिको गति शुरू होला नि ?

यो सरकारबाट समृद्धिको आशा र अपेक्षा गर्न सकिँदैन। किनभने सबैभन्दा पहिला त उहाँहरूले जनताका समस्या समाधान गर्न सक्नुहुन्न। उहाँहरूले बढी–बढी कुरा गर्नुभएको छ। ओलीजी प्रधानमन्त्री हुनुभो। उहाँले हड्ताल र बन्द गर्ने दिन गए भन्नुभो। समस्याको समाधान नगर्ने, बन्द हड्ताल पनि गर्न नदिने? सच्चा लोकतान्त्रिक पार्टीले जनताको आन्दोलन गर्ने अधिकारलाई सुनिश्चित राखेको हुन्छ। गर्ने⁄नगर्ने अर्को कुरा हो।

आन्दोलन गर्ने अधिकार सुरक्षित राखिएको हुन्छ। भोलि आन्दोलन र बन्द गर्न पाइँदैन भन्नुहुन्छ। न समस्याको समाधान गर्नुहुन्छ। संविधानमा शिक्षा, स्वास्थ्य, खाद्य प्रभूत्व, रोजगारी, आवासलगायतका विषयलाई मौलिक अधिकारअन्तर्गत राखिएको छ। मौलिक हक त्यो त हुनुपर्छ भन्ने हो नि। के अहिले जनताले ती मौलिक हकको उपभोग गर्न पाएका छन् त ? शिक्षा र स्वास्थ्यलाई पूरै व्यापारीकण गरिएको छ। विद्यार्थीले पढ्न नसक्ने अवस्था सृजना भएको छ। आवासको समस्या गम्भीर भएर गएको छ। के त्यसको समाधान गर्न सक्नुहुन्छ? मुक्त कमैयाको घोषणा गरेको वर्षौं बितिसक्यो तर अहिलेसम्म पूरा भएको छैन।

सुकुम्वासीको समस्या त्यत्तिकै छ। भूकम्पपछिको काम गराइको गति के छ? यो सबै चिज हेर्दा देशलाई समृद्ध बनाउन सक्नुहुन्न। राष्ट्रियताको कुरा गर्ने हो भने देशको सीमा मिचिएकोै छ। यसका बारेमा वाम गठबन्धन चुइक्क पनि बोल्न सकेको छैन। खोइ त त्योबारेमा चासो? देशमा धेरै जलविद्युत्को स्रोत छ, खोइ यसको उपयोग गर्ने नीति बनाएको ? ठूलो जनसंख्या विदेशमा गएको छ। उनीहरूलाई स्वदेश फर्काउनुपर्यो नि त। यी काम गरेको खण्डमा धन्यवाद छ। यस ढंगले अहिलेको समस्या समाधान हुन सक्दैन। एमाले र माअ‍ोवादीमा अझै पनि प्रशस्तै कलहका बिजहरू छन्।

ओली त राष्ट्रियताको बारेमा अडान लिने नेताका रूपमा चिनिनुहुन्छ नि ?

वास्तविक एमालेले महाकाली सन्धि गर्ने काम गर्यो। पहिला ओलीजीलाई दक्षिणतिरकै मान्छे हो भनेर मानिसहरूले भन्ने गर्थे। एमालेभित्रैबाट पनि त्यो आरोप लागेको सुनिएको थियो। ओलीका क्रियाकलाप पनि त्यस्तै थिए। हामीले पनि ओली दक्षिणतिरकै मान्छे हो भनेर भनेकै हो। पछि नाकाबन्दीको बेलामा ओलीजीले कति कता राम्रो काम गरेको हो र राम्रो कामलाई राम्रो नै भन्नुपर्छ। नाकाबन्दीको विरोध गर्नुभो। उत्तरतिर व्यापार परवाहन सम्झौता गर्नुभो। नेपालको व्यापार पारवहनको अर्को ढोका खोल्नुभो। यो काम सकारात्मक हो। अब उहाँ यही अडान र यसैमा टिकिराख्नुहुन्छ भनेर विश्वास गर्न सकिन्न। हाम्रो शुभकामना त टिक्न सक्नुपर्छ भन्ने हो। राष्ट्रियताको अडानमा हिजोकै जस्तै गरी टिक्नुहुन्छजस्तो छाँटकाँट देखिँदैन। टेलिफोन वार्ता र सुष्मा स्वराजको गतिविधि त राम्रो होइन। वहालवाला प्रधानमन्त्रीलाई अपमान गरेर सोध्दै नसोधी भेट्नु राजनीतिक र कुटनीतिक दृष्टिकोणले मिल्दैनथ्यो। जे होस् राष्ट्रियताको सन्दर्भमा आफ्नो अडान कायमै राखेर जानु होला भनेर भर पर्न सकिँदैन।

वाम गठबन्धनले दस वर्षभित्र मुलुकलाई समृद्ध बनाउने योजना अगाडि सारेका छन् नि ?

राजनीतिक दलहरूले चुनावमा जुन आर्थिकरूपमा ओइरो लगाउने काम भयो। चुनावमा करोडौं रुपियाँ खर्च भएको छ। त्यो पैसा कहाँबाट उठाउँछन् यिनीहरूले ? छाँटकाँट त छैन। प्रदेश सरकार बनेको छ। प्रदेशको लागि थुप्रो पैसा लाग्छ। कहाँबाट ल्याउने त्यो पैसा? रेमिटयान्स घट्न लाग्यो। समस्या छ। प्राकृतिक स्रोत र मानवीय स्रोतसाधन राम्रो तरिकाले सदुपयोग गर्ने, सबैले दुःख गर्ने हो भने आठ⁄दस वर्षमा देशको मुहार फेर्न सकिन्छ। तर उहाँहरू यो बाटोबाट अगाडि जानु हुन्न।

देशलाई समृद्ध बनाउने अभियानमा त तपाईंहरूको पनि साथ हुन्छ कि हुँदैन ?

अपेक्षा गरेको जस्तो विकास हुने हुने छाटँकाँट छैन। यो त राजनीतिले पनि थाहा हुन्छ। नवउदारवादी अर्थतन्त्र, यताबाट हेर्दा भारतीय शासकहरूको उत्पीडन। नवउदारवादी अर्थतन्त्र अंगालेका ब्रिटेन र अमेरिकाले छोडिसकेका छन्। अहिले हाम्रा नेताहरू त्यही नवउदारवादमा छन्। नवउदारवादबाट कसरी प्रगति हुन सक्छ ? दुई ठूला छिमेकीको बीचमा रहेको नेपाल। जनसंख्या र भूगोलको दृष्टिकोणले दुवै विकसित छन्। यो देशको निम्ति दुवै छिमेकीले अलिकता छुट दिनुपर्छ। डब्लुटीओको सदस्य भएर व्यापारमा प्रतिस्पर्धा गर्न सक्छ नेपालले? अरू मुलुकसँग सक्दैन। नेपालको अदुवा निकासिमा कत्ति ठूलो समस्या छ? नेपालको विशेषता हेर्ने हो भने जनसंख्या पनि प्रचूर छ। ठूलो दक्ष जनशक्ति पनि उत्पादन भएको छ। प्राकृतिक स्रोतसाधनले धनी छौं। राम्रो ढंगले सदुपयोग गर्न सकिन्छ। घोषणामा मात्र सीमित छ। जनतालाई उहाँहरूले भन्नुभएको छ। गर्न सक्ने देखिँदैन।

प्रतिक्रिया दिनुहोस्