कुस्माका दर्शक नचाए बद्रीले



दुर्गाप्रसाद शर्मा, पर्वत

हिउँदको यो मौसममा जताततै मेला महोत्सव भइरहेका छन्। मेला महोत्सवका नाममा अश्लील शब्दमा दोहोरी तथा छाडा र नग्न भएर नृत्य गर्ने क्रम पनि बढेको छ। अझ रातको समयमा उत्तेजक नृत्य र सुन्नै नसकिने शब्द भरिएका गीत गाएर दर्शक उफार्ने चलन पनि छ। तर दर्शकलाई नचाउन नग्न हुनै पर्दैन भनेर बद्री पंगेनीले देखाइदिए।

पर्वतको कुस्मा बजारमा पुन युवा क्लबले आयोजना गरेको मगर दिवसको मेलामा बद्री पंगेनी रातको ९ बजेसम्म नै धुलो उडाउने गरी नचाउन सफल भए। सधैं राजनैतिक र जनपक्षिय गीतमार्फत् दर्शकलाई रुवाउने बद्रीले यसपालि भने झण्डै दुई घण्टा लगातार माया प्रीतीकै गीत गाएर दर्शक रिझाए।

मञ्चमा चढ्दै ‘माया प्रीतीका मात्रै गीत गाउँछु भनेर कार्यक्रम शुरू गरेका बद्रीले पछिल्लोपटक बजारमा ल्याएको कान्छी ए कान्छी बोलको गीतमा वान्स मोर वान्स मोरको नारा घन्किरहेपछि सो गीत दोहोर्याएरै गाए। स्थानीय निर्वाचनका बेला सै पनि एमाले, मै पनि एमाले गीत गाएर बद्रीसँगै चर्चामा आएकी प्रिया भण्डारीसँगै यो कान्छी ए कान्छी गीत पनि बद्रीले गाए। उनले ढल्के पीपल पलायो जरैबाट, खान्न म त पिँडालु कोक्यायो, तिम्रो रातो पछ्यौरीलगायत एक दर्जन गीत गाएर दर्शकलाई लोभ्याए।

मगर समुदाय नाचगानमा खुलेरै प्रस्तुत हुने समुदाय हो। उनले आफू पनि मगरकै भान्जो भएकाले अझै सामिप्यता देखाउन खोजे। लगातार माया पिरतीका गीत गाएका बेला मन थिएन जोगी बन्नलाई बोलको गीत गाउन शुरू गरेका उनले एक टुक्कामै अन्त गरेर फेरि कान्छी ए कान्छी नै गाए। बद्रीका गीतमा मञ्चमा रहेका प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, सशस्त्र प्रहरी उपरीक्षक बाबुराम अर्याल, जिल्ला समन्वय अधिकारी विष्णुप्रसाद भुसाललगायतका अतिथि पनि नाचिरहे।

पछिल्लो समयमा मेला महोत्सवमा छाडा गीत प्रस्तुत हुने र कपडा खोलेर उत्तेजक नृत्य देखाउँदा विकृति बढेकाले यस्ता कुरालाई निरुत्साहित गर्नुपर्ने बद्रीले बताए। नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका पंगेनीले यस्ता कलाकारलाई कोहलपुरमा जस्तै स्थानीयस्तरमै बहिष्कार गर्न सके छाडा संस्कृति हराउने मौलिक संस्कृति बच्न सक्ने बताए। प्रतिष्ठानले गतवर्षदेखि नै यसबारेमा मेला आयोजकदेखि स्थानीय प्रशासनसम्म गुहारेको र अब दर्शक गुहार्ने बताए।

मगर दिवसको अवसरमा पुन क्लब पर्वतले वर्षेनी यस्तो मेला आयोजना गर्दै आएको छ। मगर संस्कृति झल्कने सोरठी, यानिमायासँगै ख्यातिप्राप्त कलाकारका प्रस्तुतिहरू प्रस्तुत गरिँदै आएको मेलामा कलाकार तथा सञ्चारकर्मी कृष्ण अखेली, दोहोरी गीत गायिका कृष्णा गुरुङलगायतले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिइरहेका छन्। मेलामा पालिकास्तरीय भलिबल प्रतियोगितासमेत भइरहेको क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी गराए। मेला मंगलबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्