टी–२० विश्वकप छनोट तालिका: अन्तिम छनोटमा १३ टिम सहभागी



दुबई । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले  सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोट तालिका सार्वजनिक गरेको छ।

आइसिसीले सोमबार सार्वजनिक गरेको छनोट तालिकामा ६१ देश सहभागी हुनेछन्। पहिलो चरणको छनोट १२ क्षेत्रमा हुनेछ। जसमा अफ्रिकाबाट ३, उत्तर तथा दक्षिण अमेरिकाबाट २,  एसियाबाट २, पूर्वी एसियाबाट २ र युरोपबाट ३ क्षेत्र छन्।

पहिलो चरणको १२ क्षेत्रको छनोटबाट २५ टिम दोस्रो चरणको छनोटका लागि छानिनेछन्। दोस्रो चरणको छनोट पाँच क्षेत्रमा संचालन हुनेछ। दोस्रो चरणको  चरणबाट ७ टिम अन्तिम चरणको छनोटमा सहभागी हुनेछन्।

अन्तिम चरणको छनोटमा १३ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणको छनोटबाट छानिएका ७ र यसअघि टी–२० विश्वकप खेलेका ६  टिम गरी १३ टिमले अन्तिम चरणको छनोट खेल्ने आइसिसीले जनाएको छ। अन्तिम चरणको छनोटबाट ६ टिमले अस्ट्रेलियाको टिकट काटनेछन्।

हाल टी–२० मान्यता रहेका १६ टिम मध्ये सन् २०१८ को डिसेम्बरमा शीर्ष १० वरीयता हुने टिम टी–२० विश्वकपमा स्वत छनोट हुनेछन्। शीर्ष १० भित्र नपर्ने ६ टिम अन्तिम चरणको छनोटमा धकेलिनेछन्।

वरियताका आधारमा छनोट हुने १० टिम र अन्तिम चरणको छनोटबाट छानिने ६ गरी १६ टिमबीच सन् २०२० को टी–२० विश्वकपमा प्रतिस्पर्धा हुनेछ।

टी–२० विश्वकपको छनोट २६ फेब्रुअरीदेखि अर्जेन्टिनामा सुरु भएको छ। पहिलो चरणको छनोटमा अर्जेन्टिना, बर्मुडा र केम्यान आइल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्