औलो रोगको उच्च जोखिम क्षेत्रमा झुल बितरण



गणेश घिमिरे, इलाम ।
इलाममा पछिल्लो बर्षहरुमा औलो रोगका बिरामीहरु घट्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले निरन्तर रुपमा जिल्लाका गाउँ–गाउँमा गर्दै आएको अध्ययनले देखाएको छ ।

आर्थिक बर्ष ०६३÷०६४ मा जिल्लामा ७२ जनामा औलो रोगका बिरामी भेटीएकोमा चालु आव ०७४÷०७५ को हालसम्ममा एकजना मात्र औलो रोगका बिरामी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत आव ०७३÷०७४ मा भने दुईजनामा यो रोग देखा परेको थियो । सन् २००५ देखि किटनाशकयुक्त झुल वितरणसँगै प्रभावकारी रुपमा उपचार सेवा प्रदान गरिन थालिएपछि संख्या घटेको जनस्वास्थ्य कार्यालयको दाबि छ । इलाममा मात्र नभएर यो रोगका बिरामीहरु नेपालमै घट्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्दै आएको अध्ययनले पनि देखाएको छ ।

औलो सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकाले औलो रोगीको संख्या घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका भेक्टर कन्ट्रोल अधिकृत बिमल बरालले बताए । ‘जिल्ला जनस्वास्थ्य कार्यालयबाट सचेतनामूलक कार्यक्रमसँगै लामखुट्टेबाट बच्नको लागि विभिन्नखाले झुलहरू वितरण गरिरहेका छौं’ बरालले भने ‘सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने सरकारको लक्ष्य बमोजिम इलाम जिल्लालाई पनि औलोमुक्त जिल्ला बनाउन विभिन्न किसिमका कार्यक्रमलाई तीव्ररूपमा अगाडि बढाइरहेका छौं ।’

सन् २०२० सम्ममा रोगीको संख्या शुन्यमा पुरयाउने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ । साथै स्थानीय औलोको उच्च जोखिम भएका साविकका गाविसहरुमा सचेतनामूलक कार्यक्रमलाई तिब्रता दिनुका साथै किटनाशक बिषादीयुक्त झुल बितरणको कार्यक्रम पनि गरीरहेको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताए । जिल्लामा झापासंग सिमा जोडिएका साविकका चुलाचुली, महमाई, दानाबारी, बाँझो गाविसमा औलो नियन्त्रण कार्यक्रम अन्तर्गत झुल बितरण र बर्षमा दुईपटक बिषादी औलो स्प्रे गर्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी बिद्यालयहरुमा औलो निबारण सम्बन्धि सचेतना शिक्षा कार्यक्रमहरु पनि गरीरहेको बताइएको छ ।

कार्यालयले साविकको चुलाचुली गाविस वडा नम्बर ८ उच्च जोखिम क्षेत्रमा राखेर किटनाशक बिषादीयुक्त झुल बितरण गरीरहेको छ । ग्लोबल फण्डको सहयोगमा सो वडामा एकहजार पाँचसय झुल बितरण भइरहेको छ । सो वडामा बसोबास गर्ने गर्भवती पहिलो पटक स्वास्थ्य संस्थामा पहिलो पटक गर्भ जाँच गराउन आउँदा एक÷एक थानको दरले जम्मा ५० थान बितरण गरीदैछ भने बाँकी एकघर परिवारमा दुईजना बराबर एक÷एकथानको दरले बितरण भइरहेको छ ।

यस रोगबाट गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् । इलाम अस्पतालका डाक्टर प्रभु शाहका अनुसार विश्वभर पाइने औलो परजीवीमध्ये दुई परजीवीहरू छन् । नेपालमा पाइने प्लाज्मोडियम फाल्सिपेरम र प्लाज्मोडियम भाइभेक्स जातका परजीवीमात्र पाइने गर्दछन् । यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलोरोग बढी कडा र खतरनाक हुन्छ ।

धेरैजसो वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूले पनि औलो रोग लिएर आउने र सार्ने प्रवृत्तिले यो रोग बढ्ने खतरा बढ्दो छ । सन् २००३ र २००५मा निकै जोखिम बन्दै गएको औलोरोग पछिल्लो समयमा विभिन्न चेननामूलक कार्यक्रम सञ्चालनपछि घट्दै गएको भएपनि पूर्णरूपमा न्यूनीकरण भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्