कुस्मामा बद्रीले नचाए दर्शकलाई , मनोरञ्जन दिन नाङ्गीनु पर्दैन



दुर्गाप्रसाद शर्मा, पर्वत ।

हिउँदको समयमा जताततै मेला महोत्सब भैरहेका छन । मेला महोत्सबहरुमा अस्लील शब्दमा दोहोरी र छाडा र नाङ्गै भएर नृत्य गर्ने क्रम बढेको छ । तर अझ रातको समयमा उत्तेजक नृत्य र सुन्नै नसकिने शब्द भरिएका गीत गाएर दर्शक उफार्ने चलन पनि छ । तर दर्शकलाई नचाउन नाङ्गो हुनै पर्दैन भनेर बद्री पंगेनीले देखाईदिए ।

पर्वतको कुस्माबजारमा पुन युवा क्लबले आयोजना गरेको मगर दिवसको मेलामा बद्री पंगेनी रातको ९ बजे सम्म नै धुलो उडाने गरि नचाउन सफल भए । सधै राजनैतिक र जनपक्षिय गीत मार्फत दर्शकहरुलाई रुवाउने बद्रीले शनिबार बेलुका भने झण्डै दुई घण्टा लगातार माया पिरतीकै गीत गाए ।

मञ्चमा चढेपछि माया प्रितीका मात्रै गीत गाउँछु भनेर शुरु गरेका बद्रीले पछिल्लो पटक बजारमा ल्याएकोे ‘कान्छी ए कान्छी’ बोलको गीतमा वान्स मोर नै पाएर दोहो¥याएरै गाए । स्थानिय निर्वाचनका बेला ‘सै पनि एमाले, मै पनि एमाले’ गीत गाएर बद्री संगै चर्चामा आएकी प्रिया भण्डारी संगै यो कान्छी ए कान्छी गीत पनि बद्रीले गाएका छन । उनले ‘ढल्के पिपल पलायो जरैबाट’ , ‘खान्न म त पिँडालु कोक्यायो’ ‘तिम्रो रातो पछ्यौरी’ लगायत एक दर्जन गीत गाए ।

मगर समुदाय नाँचगानमा खुलेरै प्रस्तुत हुने समुदाय हो । उनले आफुँ पनि मगरकै भान्जो भएकाले अझै सामिप्यता देखाउन खोजे । लगातार माया पिरतीका गीत गाएका बेला ‘मन थिएन जोगी बन्नलाई ’ बोलको गीत गाउन शुरु गरे तर एक टुक्कामै अन्त गरेर फेरी ‘कान्छी ए कान्छी ’ नै गाए । बद्रीका गीतमा मञ्चमा रहेका प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, शसस्त्र प्रहरीका उपरिक्षक बाबुराम अर्याल, जिल्ला समन्वय अधिकारी बिष्णुप्रसाद भुसाल लगायतका अतिथि पनि नाचि रहे ।

पछिल्लो समयमा मेला महोत्सबमा छाडा गीत प्रस्तुत हुने र कपडा खोलेर उत्तेजक नृत्य देखाउँदा बिकृती बढेकाले यस्ता कुरालाई निरुत्साहित गर्नुपर्ने बद्री बताउँछन । नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनीले यस्ता कलाकारलाई कोहलपुरमा जस्तै स्थानियस्तरमै बहिष्कार गर्न सके छाँडा सस्कृति हराउने मौलिक संस्कृति बच्न सक्ने बताउँछन । प्रतिष्ठानले गत बर्ष देखि नै यस बारेमा मेला आयोजक देखि स्थानिय प्रशासन सम्म गुहारेको र अब दर्शक गुहार्ने बताए ।

मगर दिवसको अवसरमा पुन क्लब पर्वतले बर्षेनी यस्तो मेला आयोजना गर्दै आएको छ । मेलामा मगर संस्कृति झल्कने सोरठी, यानिमाया, सगै ख्यातिप्राप्त कलाकारका प्रस्तुतीहरु देखाउँदै आएको छ । मेलामा कलाकार तथा सञ्चारकर्मी कृष्ण अखेली, दोहोरी गीत गायिका कृष्णा गुरुङ्ग लगायतले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिइरहेका छन । मेलामा पालिकास्तरीय भलिबल प्रतियोगिता समेत भैरहेको क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिए । मेला १५ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्