समृद्ध नेपाल निर्माण दशक घोषणा गर्न माग



काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघले अबको १ दशकलाई ‘समृद्ध नेपाल निर्माण दशक’ घोषणा गर्न माग गरेको छ। महासंघ प्रतिनिधि टोलीले शनिबार नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै उक्त माग राखेको हो।

महासंघ अध्यक्ष भवानी राणाले समृद्ध नेपाल दशक अवधिमा पूर्वाधार विकास, औद्योगिकीकरण, पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रमा राखेर ठोस योजना, लक्ष्य तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीसमक्ष माग राख्नुभयो।

मुलुक आर्थिक समृद्धितर्फ अगाडि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघ प्रतिनिधि टोलीले आग्रह गरेको हो। प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा अध्यक्ष राणाले मुलुक राजनीतिक रूपमा पूर्णत नयाँ संरचनामा रूपान्तरण भएकाले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अबको अभियान आर्थिक समृद्धि हुनुपर्नेमा जोड दिनुभएको हो। आर्थिक विकासको कार्यक्रममा निजी क्षेत्रले पूर्णतः सहयोग गर्ने राणाको भनाई छ।

उद्यमी व्यवसायीहरुले कर लगायत स्थानीय तहमा निकै समस्या व्यहोर्नुपरेको, उद्योग व्यवसाय क्षेत्रले मात्र गर्नुपर्ने कार्यक्रमहरु अन्य क्षेत्रबाट समेत हुन जाँदा त्यसको असर समग्र उद्योग व्यवसायमा पर्न गएको जस्ता समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने अध्यक्ष राणाको भनाइ छ। संघीय राज्य प्रणालीमा गएपछि करलगायतका विषयमा उद्यमी व्यवसायी स्पष्ट हुन नसकेको र अन्यौलता बढेकाले यस्ता विषयमा अहिलेदेखि नै निजी क्षेत्रलाई विश्वस्त पार्नुपर्ने उहाँले धारणा राख्नुभयो। राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्नेदेखि नयाँ योजनाहरु ल्याउनसमेत प्रधानमन्त्रीसमक्ष उहाँले आग्रह गर्नुभयो।

महासंघको प्रतिनिधि मण्डललाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको प्रमुख लक्ष्य र अभियान आर्थिक रूपमा मुलुकलाई समृद्ध बनाउने रहेको र निजी क्षेत्र आफ्नो कार्यक्रमलाई सफल पार्ने उर्जा हो रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘तपाईंहरु मुलुकभित्र उद्योग व्यवसाय बिस्तार गर्ने, रोजगारी सृजना गर्ने, आर्थिक वातावरण बनाउने काममा आजैबाट लाग्नुहोस्। मैले के गर्नुपर्छ ठोस सुझाव ल्याउनुहोस्, मुलुकको समृद्धिका लागि तपार्इंहरुले ल्याउने जुनसुकै सहयोग गर्न म तयार छु।’

प्रतिक्रिया दिनुहोस्