अनुमति नलिइ वित्तीय कारोबार गर्ने पक्राउ



काठमाडौं, (नेस)
नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोबार गर्ने अनुमति नलिई सुनसरी र मोरङमा सञ्चालित थप ३ कम्पनीमा प्रहरीले छापा मारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगन्ज र १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान टोलीले बिहीबार संयुक्त कारबाहीमा थप १ जना सञ्चालकलाई पक्राउ गरेको हो।

छापा मारिएका कम्पनीमा इटहरी – १२ स्थित गृहलक्ष्मी इलेक्ट्रोनिक सप्लायर्स, विराटनगर–६ स्थित न्यू आभाष फेन्सी स्टोर तथा इटहरीस्थित पूर्णागरी बचत इन्भेस्टमेन्ट प्रालि रहेका छन्। कारबाहीबाट विराटनगर–६ स्थित न्यू आभाष फेन्सी स्टोरबाट ३८ वर्षीय सिताराम लुइटेल पक्राउ परेका छन्। उक्त स्टोरमा स्थानीयबाट अवैध रूपमा संकलन गरेको २ करोड ८६ लाख ८ सय २५ रुपियाँ बचत रकम रहेको खुल्न आएको छ। उक्त स्टोरबाट २ थान एकाउन्ट खाता, २ थान चेकबुक, ५ थान तमसुक, १० थान नगद फाराम, पासबुक तथा १० हजार रुपियाँ नगद बरामद भएको छ।

यस्तै कार्यमा संलग्न पूर्णागरी बचत इन्भेस्टमेन्ट प्रालि इटहरीका सञ्चालक नरबहादुर विष्ट हाल फरार रहेका छन्। उक्त संस्थामा स्थानीयबाट अवैधानिक रूपमा संकलन गरेको बचत रकम १ करोड २० लाख रुपियाँ रहेको खुल्न आएको छ। सो संस्थाबाट पासबुक ४ सय ४३ थान, नगद भौचर १ सय ७ थान, भुक्तानी भरपाई ५ थान, सापटी फाराम १४ थान, करारनामा पत्र १२ थान र कलेक्सन फाराम ४ सय ५९ थान बरामद भएको छ।

प्रहरीका अनुसार गृहलक्ष्मी इलेक्ट्रोनिक सप्लायर्सका सञ्चालक बाबुराम न्यौपाने हाल फरार रहेका छन्। उक्त सप्लायर्समा स्थानीय जनताबाट अवैध रूपमा संकलन गरेको ४ करोड २५ लाख रुपियाँ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्