ठूलो ब्रेन ट्युमर !



नयाँदिल्ली, (एजेन्सी)
भारतका डाक्टरहरूले एकजना ३१ वर्षीय पुरुषको १ किलो ८ सय ग्राम तौलको ब्रेन ट्युमर झिकेको र सम्भवतः यो अहिलेसम्मकै विश्वकै सबैभन्दा ठूलो ट्युमर हुनुपर्ने दाबी गरिएको बिहीबार स्थानीय सञ्चार माध्यमले जनाएको छ।

पश्चिमी भारतीय शहर मुम्बईको नायर अस्पतालमा १४ फेब्रुअरीमा सात घन्टा लामो शल्यक्रिया गरी सो ट्युमर निकालिएको बताइएको छ। तर शल्यक्रियाको विधिलाई अझैसम्म सार्वजनिक गरिएको छैन।
किनभने डढाक्टरहरू आफै सो शल्यक्रिया सफल भएकामा ढुक्क हुन सकेका छैनन्। न्युरोसर्जरीका प्रमुख डाक्टर त्रिमूर्ति नाडकर्णीले अब रोग निको हुने कुरा बाँकी रहेको तर अहिले उनी खतरामुक्त रहेको बीबीसीलाई बताएका छन्।

उत्तरी भारतीय राज्य उत्तर प्रदेशका एउटा साधारण पसल चलाउने सन्तलाल पाल नामक ती व्यक्त विगत तीन वर्षदेखि हेर्दै डरलाग्दो ट्युमर लिएर बाँचिरहेको थिए। डाक्टरहरूले सोही ट्युमरको कारण सन्तलालले दृश्य शक्ति गुमाएको तर निको हुने क्रममा उनको दृश्य शक्ति पुनः फर्किने आशा रहेको बताएका छन्।

सन्तलालकी पत्नीले उत्तर प्रदेशका तीनवटा छुट्टाछुट्टै अस्पतालका डाक्टरहरूले सो ट्युमरको उपचार सम्भव नभएको बताएको हिन्दू अखबारलाई जानकारी गराएकी छिन्। डाक्टर नाडकर्णीले सन्तलालको टाउकाको शल्यक्रियाका दौरान ११ युनिट रगतको जरुरत परेको र शल्यक्रियापछि उनलाई केही दिन भेन्टिलेटरमा राखिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्