दुई कोरियालाई मिलाउदै हिउँदे ओलम्पिक



लन्डन, (एजेन्सी)
उत्तर कोरियाको आणविक गतिविधिका कारण सारा विश्व नै चिन्तित अवस्थामा रहेको छ। विशेष गरी उक्त गतिविधिले छिमेकी राष्ट्र दक्षिण कोरियामा तनाव सिर्जना भइरहेको थियो। किनभने दक्षिण कोरिया हिउँदे ओलम्पिक आयोजना गर्न तयारीमा थियो। तर, दुवै कोरियाले हिउँदे ओलम्पिकमा संयुक्त मार्चपास गरेपछि भने विश्वभरि नै सकारात्मक र सुखद सन्देश प्रवाह भएको छ। दुई देशका जनता तथा विश्वका लागि यो सुखद संकेत पनि बनेको छ। आयोजक दक्षिण कोरियाका लागि त यो राहतको विषय नै भएको छ। दुई देशबीचको उच्चस्तरीय वार्ताबाट नै यो सम्भव भएको हो।

कोरियाको प्योङचाङ शहरमा अहिले हिउँदे ओलम्पिक खेलकुद जारी छ। हिउँदे ओलम्पिकको पछिल्लो परिदृश्यले दुई कोरियाको तनावलाई मत्थर बनाउन सक्ने अनुमानसमेत गरिएको छ। वर्ष २०१७ मा उत्तर कोरियाले ६ वटा परमाणु परीक्षण र केही मिसाइल परीक्षण गरेको जनाएको थियो। यसले दुवै कारियाबीच युद्धको त्रास बढेको थियो। केही दक्षिण कोरियालीले त आणविक युद्धबाट बच्नका लागि विशेष प्रकारको झोलासमेत किनिरहेको समाचार प्रवाह भएको थियो।

तर, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले नयाँ वर्षमा जुन घोषणा गरे। त्यसले सबैलाई आश्चर्यमा पारेको थियो। उनले बताए कि उत्तरले प्योङचाङ हिउँदे ओलम्पिकमा प्रतिनिधि पठाउनेछ। यसपछि दुवै कोरिया वार्ताका लागि तयार भए। जबकि दुई कोरियाबीच भएको उच्चस्तरीय बैठकबाट कुरा मिलाउन कठिन भएको थियो। स्थान, मिति र उपस्थितिको तय गर्न केही समस्या परेको थियो। तर, यसका लागि मात्रै एक साता समय लाग्यो र दुवै कोरियाबीचको वार्ता सकारात्मक बन्यो।

९ जनवरीमा भएको वार्ता मित्रताका साथ शुरू भएको बीबीसीले उल्लेख गरेको थियो। वार्तामा के भए त बीबीसीले जनाएअनुसार वार्तामा उत्तरको टोलीले उच्चस्तरीय प्रतिनिधि मण्डल, राष्ट्रिय ओलम्पिक कमिटी प्रतिनिधि मण्डल, खेलाडी, समर्थक, कला प्रदर्शक, निरीक्षक, तेक्वान्दो प्रदर्शन टिम र पत्रकारहरू खेलकुदमा पठाउने प्रस्ताव राखेको थियो।
दक्षिणको टोलीले भने दुवै कोरियाका खेलाडीले उद्घाटन समारोहमा २००६ हिउँदे ओलम्पिकमा जस्तै एकसाथ मार्च पास गर्ने प्रस्ताव राखेको थियो। त्यस्तै दक्षिणले कोरियाको युद्धमा छुटेका परिवारका सदस्यलाई लुनार नयाँ वर्षको छुट्टीमा पुनर्मिलन गराउने भावुक प्रस्ताव पनि समावेश गरेको थियो। लुनार नयाँ वर्ष खेलकुदको बीचमै हुनेछ।

यसै गरी दक्षिणले वार्तामा सैनिक विषय र उत्तरको परमाणु कार्यक्रममाथि छलफल पुनः आरम्भ गर्ने प्रस्तावसमेत राखेको थियो। तर, दक्षिणको यी प्रस्तावमाथि अहिलेसम्म उत्तरबाट भने कुनै प्रतिक्रिया आएको छैन।

बहिष्कार अनि सहभागी
विगतमा उत्तर कोरियाले दक्षिण कोरियाको राजधानी सिओलमा सन् १९८८ भएको ग्रिष्मकालीन ओलम्पिक बहिष्कार गरेको थियो। ओलम्पिक आयोजना हुने एक वर्ष अगाडि सन् १९८७ मा उत्तर कोरियाका एजेन्टले कोरियन हवाई उडान ८५८ बगदादबाट सिओलतिर उडिरहेको अवस्थामा बम पड्काएर हवाईजहाजमा रहेका सबै १ सय १५ यात्रुलाई एकै चिहान बनाएको थियो। अन्डमान समुद्रमाथि पुग्दा यो दर्दनाक घटना भएको थियो। त्यस बखत दक्षिण कोरियाले ओलम्पिक आयोजना गर्न तयारीमा लागिरहेको थियो। तर, उत्तर कोरिया भने यो भव्य खेलकुदलाई रोक्न योजना बनाइरहेको थियो। यसपछि दुवै कोरियाबीचको सम्बन्ध झनै चिसो भएको थियो।

यसपछि सन् २००२ मा दक्षिण कोरियाले जापानसँग सहआयोजक बनेर विश्वकपको सफल आयोजना गरेको थियो। त्यतिबेला दक्षिण कोरियाको फुटबलका लागि जापान एक प्रमुख टर्निङ प्वाइन्ट बनेको थियो। यसअघि दक्षिण कोरियाले विश्वकपमा एउटै खेल जितेको रेकर्ड थिएन। तर, यो विश्वकपमा उनीहरूले ठूल्ठूला बलिया टोलीलाई समेत माथ खुवाउँदै सेमिफाइनलसम्मको यात्रा तय गरे।

दक्षिण कोरियाले पोल्यान्ड, अमेरिका, पोर्चुगल, इटाली र स्पेनलाई हराएको थियो। दक्षिण कोरियाको फुटबल टोलीको सफलता पूरै विश्वमा हेडलाइन बनेको थियो। खुसी मनाइरहेको रातो जर्सीका कोरियन खेलाडीसँगै सिओलका सडक पनि रातै देखिएका थिए। तर, त्यसै समय जुन २९ मा कोरियाको सेमिफाइनल खेल टर्कीसँग थियो। त्यतिबेला नै उत्तर कोरियाले प्योङयाङको पेट्रोल बोटले दक्षिण कोरियाको नेभी जहाजमा फायर गरेको थियो।

यिनप्योङ आइल्यान्ड नजिक भएको यो दर्दनाक घटनामा ६ जना दक्षिण कोरियालीको मृत्यु हुँदा कम्तीमा ९ जना घाइते भएका थिए। तर, सीमानामा भएको यस घटनाको एक वर्षपछि उत्तर कोरियाले दक्षिण कोरियामा भएको बुसान एसियाली खेलकुदमा सहभागिता जनाएको थियो। जसमा ६ सय ६ सदस्यीयको प्रतिनिधि पठाएकोमा १ सय ८४ जना खेलाडी, २ सय ८८ जना चियरलिडर्स र १ सय ३४ जना अधिकारी रहेका थिए।

यस्तै दक्षिण कोरियाले सन् २०१४ मा इन्चोन शहरमा एसियाली खेलकुद आयोजना गरेको थियो। यो खेलकुद आयोजना हुन अगाडि दुई कोरियाका छुटेका परिवारको मिलन पनि गरेको थियो। तर, उत्तर कोरियाले खेलकुदको मिति नजिँकिदै जाँदा सहभागिता नजनाउने भने पनि पछि २ सय ७३ सदस्यीयको टोली पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्