मेस्सीको रेकर्ड गोलले जोगियो बार्सा



एजेन्सी । स्पेनिस ला लिगा लिडर बार्सिलोना जित निकाल्न नसके पनि चेल्सीसँगको खेलमा हारबाट जोगिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति बार्सिलोनाले चेल्सीसँग १–१ को बराबरी खेलेको हो ।

खेलको ६२ औं मिनेटमा चेल्सीले सुरुवाती अग्रता लियो । स्ट्राइकर इडेन हाजार्डको पासमा ब्राजिलियन फरवार्ड विलियन सिल्भाले दाइने कर्नर च्याप्दै आकर्षक गोल गरेपछि पाहुना टोली बार्सिलोना दबाबमा परेको थियो । तर चेल्सीको अग्रता खेलको ७५ औं मिनेटमा बार्साका मेस्सीले तोडिदिए । आफ्नै गल्तीका कारण घरेलु मैदानमा उसले गोल खानु परेको थियो ।

डिफेन्डरहरू बीच तालमेल हुन नसक्दा बल बार्साका इनिएष्टाले खोसेका थिए । उनले बल मेस्सीलाई पास दिए र मेस्सीले त्यसलाई देब्रे खुट्टाको प्रहारबाट सहज रुपमा जाली चुमाए । झण्डै हारको अवस्थामा पुगेको बार्सिलोना बराबरी खेलेसँगै केही संयम देखिएको थियो । एक÷एक गोल भए पनि अवे गोलका कारण बार्सिलोनालाई केही राहत  भएको छ । दुवैबीचको निर्णायक खेल मार्च १५ मा हुनेछ ।

आक्रमक खेलमा मेस्सीको रेकर्ड
अधिकांश समय बार्सिलोनाले खेल आफ्नो नियन्त्रणमा राखे पनि चेल्सीले खेलमा गोलका धेरै अवसर बनाएको थियो । उसले खेल अवधिभर ११ पटक गोलको प्रयास गर्दा २ बल पोष्टको दिशामा गयो । बार्सिलोनाले भने ७ पटकमात्र गोलका लागि प्रहार गरेको थियो । बराबरी गोल फर्काउन सफल भएका बार्साका मेस्सीले चेल्सीविरुद्ध कहिल्यै गोल नगरेको रेकर्डलाई तोडेका छन् ।

उनले चेल्सीविरुद्ध ८ खेल खेल्दा कहिल्यै गोल गर्न सकेका थिएनन् । ६ वर्षअघि चेल्सीसँगको खेलमा मेस्सी मैदानमै रोएका थिए । सन् २०१२ मा चेल्सीसँगको च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा उनले पेनाल्टी गुमाएका थिए । त्यसबेला बार्सिलोना चेल्सीसँग समग्रमा ३–२ ले हारेको थियो ।

बायनको शानदार जित
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा जर्मन बुण्डेस लिगा च्याम्पियन बायन म्युनिखले शानदार जित हासिल गरेको छ । बायनले टर्किस क्लब बेसिकटासलाई घरेलु मैदान अलायन्ज एरिनामा ५–० ले पराजित गरेको हो । जितसँगै बायन लगभग क्वाटर फाइनलमा पुग्ने निश्चित भएको छ । अब दोस्रो लेगमा बेसिकटासले बायनलाई पराजित गर्न ६–० गोल अन्तरको जित निकाल्न आवश्यक हुन्छ । तर खेलाडी र खेल प्रदर्शनलाई मध्यनजर गर्दा त्यो कठीन छ ।

मंगलबार राति बायनको जितमा सन् २०१० को विश्वकप गोल्डेन बुट विजेता थोमस मुलर र पोल्याण्डका स्टार रोवर्ट लिवानडोस्कीले समान २÷२ गोल गर्दा किंग्सले कोम्यानले एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्