प्रतिस्पर्धाबाट जीएसए नियुक्तिको बाटो खुला



काठमाडौं, (नेस)
नेपाल वायुसेवा नियमको जेनेरल सेल्स एजेन्ट नियुक्तिका लागि खुला प्रतिस्पर्धाको बाटो खुलेको छ। नेपाल वायुसेवा ऐन, २०१९को दफा २७ को (क) अनुसार जेनेरल सेल्स एजेन्ट (जीएसए) छनोटसम्बन्धी २०७४ विनियम जारी भएसँगै खुला टेन्डरको बाटोबाट जीएसए नियुक्ति गरिने भएको हो।

निगमको बोर्डको बैठकले जीएसए एजेन्ट नियुक्तिका लागि र कार्गाेसम्बन्धी विनियम बनाएर मापदण्ड पास गरी खुला प्रतिस्पर्धाको बाटोबाट टेन्डर आह्वान गर्न मापदण्ड स्वीकृत गरेको हो। बोर्डको बैठकबाट नै निगमले खुला टेन्डरबाट जीएसए नियुक्तिको प्रस्ताव पास गरेको वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताउनुभयो। योसँगै विगतका दिनमा हुने गरेको जीएसए नियुक्तिको विवाद भने आगामी दिनमा हल भएको निगमले जनाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार विगतमा जीएसए नियुक्ति गर्दा विवादित हुने गरेको भए पनि खुला टेन्डर प्रक्रियामा जाँदा जीएसए विवाद अन्त्य हुनेछ।
आगामी जुलाईसम्ममा २ वटा वाइडबडी विमान एयरबस–३३० आयात गर्ने निगमको योजना रहेको छ। यी विमान आएसँगै निगमले ३ वटा गन्तव्यमा उडान थप गर्दै छ। निगमले सीधा उडान साउदी अरेबियाको रियाद, जापानको ओसाका, दक्षिण कोरियाको सोलमा नयाँ गन्तव्य थप गर्नेछ।

हाल निगमको जापानमा आफ्नै कम्पनीको कार्यालय रहेकाले जीएसए नियुक्तिका लागि के गर्ने भन्ने बारेमा छलफल बाँकी रहेको छ। साउदीमा भने पुरानै कम्पनी रहेको छ भने कोरियाका लागि नयाँ जीएसए नियुक्ति गरिनेछ।

निगमले विभिन्न देशका शहरमा प्रथमपटक उडान सञ्चालन गर्ने प्रयोजनका लागि जीएसए नियुक्त गर्दै आएको थियो। जीएसए नियुक्त गरी सबै काम कारबाही अगाडि बढाउँदा नयाँ गन्तव्यमा विमान सञ्चालन सहज भई निगमले व्यावसायिकरूपमा यात्रु तथा सामानको व्यापारिक सहजीकरण गर्न सहज हुने निगमको भनाइ रहेको छ।

यसले गर्दा निगमको प्रचार प्रसार र बजार व्यवस्था प्रभावकारी हुने आकलन गरिएको छ। जीएसए नियुक्तिसँगै आफ्नो नेटवर्क विस्तार हुने निगमले जनाएको छ। यसले गर्दा निगमको कानुनी प्रक्रियामा समन्वय गर्न सजिलो हुने र व्यावसायिकरूपमा बजार प्रवद्र्धन गरी सेवा सञ्चालन गर्न सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्