प्रमको कार्टुन बनाउने कारबाहीमा



क्वालालम्पुर, (एजेन्सी)
मलेसियाका १ जना कलाकारलाई प्रधानमन्त्रीको क्यारिकेचर गरेको अभियोगमा आर्थिक जरिवाना र कैद सजाय तोकिएको मंगलबार सरकारी सञ्चार माध्यमले जनाएको छ।

चर्चित कार्टुनिस्ट फाहमी रेजाले तयार पारेको जोकर अर्थात विदूषीको भेषमा आँखीभौ तन्काइएको प्रधानमन्त्री नाजिव राजाकको कार्टुन उनी विरुद्धको जनप्रदर्शनको क्रममा भाइरलै भएको थियो। आफैंले स्थापना गरेको एक लगानी कोषलगायतका आर्थिक घोटालामा भएको संलग्नताको कारण प्रधानमन्त्री विवादमा आएका थिए।४० वर्षीय फाहमीका वकिलले आफू अदालतको सो निर्णय सुनेर दुखी भएको र यस निर्णय विरुद्ध माथिल्लो अदालतमा अपिल गरिने जानकारी दिएका छन्। मलेसियाको उत्तरी शहर इपोहस्थित १ अदालतले ती कलाकारलाई १ महिना लामो काराबास र ७ हजार ७ सय अमेरिकी डलर जरिवाना तोकेको छ।

उनलाई अनलाइनमार्फत आक्रामक सामग्री प्रशारण गरी प्रचलित प्रतिबन्ध कानुन तोडेकोमा दोषी ठहर्याइएको हो। उनीमाथि सोही किसिमको अर्को अभियोगमा दोस्रो अदालतमा पनि मुद्दा चलिरहेको छ।
अन्य विपक्षी राजनीतिक नेताहरू र कार्यकर्ताहरूसँगै सन् २०१६ मा फाहमीलाई गिरफ्तार गरिएको थियो। नाजिवलाई अर्बौं अमेरिकी डलरबराबरको घोटाला गरेको आरोप लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्